१० आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

संक्रमित बोक्न नगरप्रमुखले दिए दुई निजी गाडी

नगरपालिकालाई सवारीसाधन हस्तान्तरण गर्दै प्रमुख हरिकुमार श्रेष्ठ। तस्बिर: हरिकृष्ण/नागरिक

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउने प्रयोजनका लागि आफ्ना दुई निजी गाडी उपलब्ध गराएका छन्। नगरपालिकाभित्र कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि प्रमुख श्रेष्ठले आफ्ना निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन्। बिहीबार उनले एक चालकको खर्चसमेत आफ्नो व्यक्तिगत गर्ने गरी प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई गाडीको चाबी हस्तान्तरण गराएका छन्।

प्रमुख श्रेष्ठले उपलब्ध गराएका ग१ज ७०६२ र ग१ज ६७६३ नम्बरको ९ सिटे जिप संक्रमितलाई स्वास्थ्य संस्था र घरसम्म पुर्‍याउन प्रयोग गरिने नगरपालिकाले जनाएको छ। सवारीसाधनमा लाग्ने इन्धन नगरपालिका र एक सवारीचालकको खर्च भने नगरप्रमुख श्रेष्ठले व्यहोर्ने बताइएको छ। ‘कोरोनाको लक्षण देखिएका बिरामीको उपचारमा कुनै पनि कमी हुँदैन, ‘२४ घण्टा सवारीसाधन तयारी अवस्थामा हुन्छ,’ नगरप्रमुख श्रेष्ठले भने। उनले नगरवासीको सहजताका लागि उपलब्ध गराएको जानकारी दिँदै नगरपालिकाभित्र कोरोना संक्रमण अन्त्य नहुँदासम्म सवारीसाधन नगरपालिकाले प्रयोग गर्ने बताए। उनले संक्रमितलाई प्रयोजनका लागि थप सवारीसाधन आवश्यकता परे पनि नगरपालिकाले व्यवस्थापन गर्ने बताए।  

दुवै सवारीमा बिरामीका लागि आवश्यक अक्सिजनको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए। उनले संक्रमतिसँगै सवार भएकालाई संक्रमण फैलिन नदिने गरी संरचनासमेत थप गर्न सकिने बताए। नगरपालिकाले वडास्तरमै पुगेर स्वाब संकलनसहित सचेतनामूलक कार्यक्रमसमेत गरिरहेको छ। हाल नगरपालिकामा रहेको सरकारी स्वामित्वका सवारीसाधनबाहेक एक भाडामा लिइएको छ भने थप दुई सवारीसाधन उपलब्ध भएपछि सहज हुने नगर कार्यपालिका सदस्य एवं सवारीसाधन व्यवस्थापन उपसमितिका संयोजक कृष्णकुमार विश्वकर्माले बताए। जिल्लामा रहेका २ सय ८ संक्रमतिमध्ये बेनी नगरभित्र करिब १ सय ३० जना रहेका छन्।  

प्रकाशित: ३१ वैशाख २०७८ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App