१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

अस्पतालले बिरामी भर्ना लिन छाडे

फाइल तस्बिर

देशभर कोरोना संक्रमणका बिरामीको संख्या बढिरहेको छ तर अक्सिजन अभावमा अस्पतालले आफ्नो क्षमताअनुसार उपचार सेवा दिन पाएका छैनन्। सरकारले अक्सिजन आपूर्तिमा कोटा प्रणाली लगाएपछि बरु उल्टै अस्पतालले भर्ना लिने बिरामीको संख्या घटाउँदै लगेका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिडका तीन सय बिरामीको उपचार गर्ने प्रतिबद्धता जनाएको थियो। अक्सिजन अभाव भएपछि १ सय ७० जनालाई मात्र भर्ना लिएर सेवा दिइरहेको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार भर्ना भएका ८० प्रतिशत बिरामी अक्सिजन चाहिने छन्।  

उनीहरूलाई अक्सिजन पुर्‍याउन नसकेपछि तीमध्ये केही हाइफ्लो अक्सिजन चाहिने अवस्थाका छन्। अस्पतालले बिरामीको संख्या घटाएर १ सय ७० मा सीमित पारेको उनले बताए। अक्सिजन अभाव भएपछि चिकित्सकले कतिपय बिरामीलाई हातैले श्वास–प्रश्वास व्यवस्थापन गरेको शाक्यले बताए।

यस्तै त्रिवि शिक्षण अस्पतालसँग चार सय बिरामी भर्ना लिएर उपचार गर्न सक्ने क्षमता छ। तर अक्सिजन अभाव भएपछि अस्पतालले बेड संख्या बढाउन सकेको छैन। बिरामी भने बरन्डामा पालो कुरेर बसिरहेका छन्। यसरी पालो कुरेर बस्ने बिरामी ५० जना भएको अस्पतालले जनाएको छ। अक्सिजन नपाएपछि पालो कुर्दाकुर्दै बिरामीको मृत्यु हुने गरेको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताए।  

राजधानीकै हिमाल अस्पतालले आवश्यकताअनुसार अक्सिजन आपूर्ति भए एकै पटकमा चार सय बिरामीलाई बेड व्यवस्थापन गरेर उपचार दिने सकिने जनाएको छ। हाल अस्पतालमा ३२९ संक्रमित उपचाररत छन्। तीमध्ये ५० जना आइसियुमा छन्। अहिलेकै अवस्थामा दैनिक ३ सय सिलिन्डर अक्सिजन चाहिने भए पनि सरकारले जम्मा ४० सिलिन्डरको कोटा तोकेपछि समस्या जटिल बनेको अस्पतालले जनाएको छ। अक्सिजन अभाव भएपछि पछिल्ला दिनमा नयाँ बिरामी भर्ना नलिएको अस्पताल स्रोतले बतायो।  

देशकै सबैभन्दा ठूलो सरकारी अस्पताल वीरले पनि अक्सिजन अभावकै कारण नयाँ सर्जिकल भवनलाई कोभिड वार्डमा विस्तार गर्न नसकेको जनाएको छ। वीरले बिहीबारदेखि भर्ना लिने बिरामीको संख्या पनि घटाएको छ। यस्तै राष्ट्रिय ट्रमा सेन्टरले अक्सिजन अभावका कारण नयाँ बिरामी भर्ना लिन सक्ने स्थिति नरहेको जनाएको छ।

‘अक्सिजन अभावले गर्दा अस्पतालहरू तनावग्रस्त भएका छन्’, वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. धु्रव गैरेले भने। अक्सिजन नपाएका कारण विभिन्न अस्पताल हुँदै वीरमा आइपुगेका बिरामीको तत्कालै मृत्यु हुने गरेको डा. गैरेले बताए। ‘अक्सिजन नभएपछि साना अस्पतालले ठूलो अस्पतालमा लैजाऊ भन्दै पठाउँछन्। एम्बुलेन्समै अक्सिजन लेभल घटिसकेको हुन्छ। यस्ता बिरामी हामीकहाँ आइपुग्ने बित्तिकै ज्यान गुमाउन बाध्य भएका छन्’, उनले भने। ‘अक्सिजन चाहिने बिरामीलाई त्यत्तिकै भर्ना गरेर मार्नु भन्दा अस्पतालहरूले आमाकै काखमा मरुन् भनेर भर्ना लिन छोडे’, उनले थपे। राजधानीका धेरै सरकारी कोभिड अस्पतालले अक्सिजन अभावले कोरोनाका बिरामीको छिटो मृत्यु हुने गरेको संकेत गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उपत्यकाबाहिरका मुख्य सहरबाट अक्सिजन ल्याएर राजधानीमा व्यवस्थापन गरिरहेको जनाएको छ। बिहीबार विराटनगर र पोखराबाट हेलिकोप्टरमा अक्सिजन ल्याएको मन्त्रालयका विशेषज्ञ महेन्द्र श्रेष्ठले बताए। बिजुली, मर्मत सम्भार तथा मजदुरको अभावमा उपत्यकाका अस्पतालले आफूसँग भएका प्लान्टबाट पर्याप्त मात्रामा अक्सिजन उत्पादन गर्न नसक्दा पनि मागअनुसार आपूर्ति हुन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ‘एकैचोटि धेरै संख्यामा बिरामी परेपछि अमेरिका, युरोपका सम्पन्न देशले पनि अक्सिजनको माग पूरा गर्न सकेका थिएनन्, नेपालले सक्ने कुरै भएन’, स्वास्थ्य प्रवक्ता जागेश्वर गौतमले भने। अक्सिजन अभाव व्यवस्थापन गर्न सरकारले निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ।  

प्रकाशित: ३१ वैशाख २०७८ ०१:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App