अक्सिजनको अभाव भइरहेको ताप्लेजुङमा अभाव टार्न पहलकदमी सुरु भएको छ । ताप्लेजुङ उद्योग बाणिज्य संघले यहाँबाट प्रतिनिधित्व गर्ने प्रदेश सरकारका मन्त्री, प्रतिनिधिसभाका सांसद र आफ्ना उद्योगी व्यवसायी तथा मनकारी संस्थाहरुसंगको समन्वयमा अक्सिजनको केहि मात्रा व्यवस्थापनको पहल सुरु गरेको जनाएको छ । ताप्लेजुङ अस्पताल आफैंले पनि अक्सिजनको केही मात्रा खरिद गर्ने योजना बनाएको छ ।
ताप्लेजुङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीका प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ र प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईलाइ समेत अक्सिजन व्यवस्थापनको कार्यमा सघाउन अनुरोध गरेको छ ।‘उहाँहरुले अनुरोधलाइ स्वीकारेर यो महान कार्यमा साथ दिने बचन दिनु भएको छ’, ताप्लेजुङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अधिकारीले भने । उनले ताप्लेजुङ उद्योग बाणिज्य संघमा आवद्ध मनकारी व्यत्तित्व र संस्थाहरुले समेत अक्सिजन खरिद गर्ने कार्यमा सघाउने प्रतिबद्धता जनाए अनुसार खरिद प्रकृया सुरु भएको जानकारी दिए । ताप्लेजुङ अस्पताल आफैंले पनि २० थान अक्सिजन सिलिण्डर खरिद गर्ने योजना बनाएको छ । ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले अस्पतालले २० थान अक्सिजन सिलिण्डर खरिद गर्ने अस्पतालको योजना रहेको जानकारी दिए । यसका लागि प्रकृया अघि बढीसकेको लामाले बताए ।
ताप्लेजुङ अस्पतालका लागि पहिलो चरणमा कम्तिमा ४० थान अक्सिजन सिलिण्डर खरिद÷व्यवस्थापन गर्ने प्रयास भइरहेको समेत डाक्टर लामाले जानकारी दिए । ताप्लेजुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अधिकारीले आफुले प्रदेश सरकारका मन्त्री आङ्बुहाङ, प्रतिनिधिसभाका सांसद भट्टराई,ताप्लेजुङ उद्योग बाणिज्य संघमा आवद्ध सहकर्मी व्यवसायी र मनकारी संस्थाहरुलाइ अक्सिजन खरिद कार्यमा सबैले जुटेर सहयोग संकलन गर्न प्रस्ताव गरे अनुसार ताप्लेजुङ उद्योग बाणिज्य संघको समन्वयमा सहयोग संकलन अघि बढेको जानकारी दिए ।
यो अभियानको अगुवाइ ताप्लेजुङ उद्योग बाणिज्य संघले गरेकोले अक्सिजनको व्यवस्थापन भइसकेर बिल भरपाइ प्राप्त भएकै दिन खर्च बिबरण सार्वजनिक गरिने समेत अधिकारीले जानकारी दिए । यो समयमा अक्सिजनको उपलब्धता नै समस्या भएकोले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे,इटहरी उद्योग बाणिज्य संघ,मोरङ उद्योग संगठन,सुनसरी उद्योग बाणिज्य संघ लगायतका निकायहरुसंग समेत समन्वय र सहकार्य भएको अधिकारीले बताए । उद्योगी व्यवसायीका भगिनी संस्थामार्फत सुरु भएको यो प्रयासले सार्थकता पाए एक पुण्यकारी काम हुने देखेर ताप्लेजुङ उद्योग बाणिज्य संघले यसको पहलकमदी लिएको अधिकारीले जानकारी दिए ।
ताप्लेजुङ अस्पतालले केहिदिन अघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको तथ्याङ्क अनुसार ताप्लेजुङ अस्पतालमा रहेका ४० थान अक्सिजन सिलिण्डरमध्ये ७५ प्रतिशत प्रयोग भइसकेका छन् । अस्पतालमा रहेका मध्ये पनि ५ थान भने मध्यतमोर जलबिद्युत आयोजनाले तत्कालका लागि सहयोग गरेको परिमाण हो । अक्सिजनको आवश्यकता भएकै बेला आफूहरुसँग अक्सिजनको मात्रा कम भएको भन्दै ताप्लेजुङ अस्पतालले सामाजिक सञ्जालमार्फत नै सहयोगका लागि आवहन गरेको थियो । सोही सहयोग अपिलका आधारमा ताप्लेजुङ उद्योग वाणिज्य संघमार्फत यो कार्य अघि बढाउन आफुहरुले पदहलकदमी लिएको वाणिज्य संघले जनाएको छ ।
प्रकाशित: २९ वैशाख २०७८ १०:३९ बुधबार