७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कोरोना अस्पताल र आइसोलेसन सेन्टर नाम मात्रका, संक्रमित जोखिममा

कैलालीको जोशीपुर गाउँपालिकाले कोरोना संक्रमितको उपचार गर्ने उद्देश्यले स्थानीय रघुनाथ आदर्श बहुमुखी क्याम्पसको भवनमा कोभिड अस्पताल निर्माण गरेको छ। तर त्यो अस्पतालमा न स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री छ न त उपचारका लागि कोरोना संक्रमित नै भर्ना भएका छन्। अस्पताल केवल देखाउनका लागि मात्रै निर्माण गरिएको छ।  

गाउँपालिकाले जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट चिकित्सक जाने व्यवस्था त गरेको छ। तर स्वास्थ्य सामग्रीको अभावमा कोरोना संक्रमित उपचारका लागि भर्ना नभएपछि चिकित्सक आजसम्म कोभिड अस्पताल जान परेको छैन।  

बर्दगोरीया गाउँपालिकाले खानेपानी कार्यालयको भवनमा २० शैयाको आइसोलेसन सेन्टर स्थापना गरेको छ। गाउँपालिकाले अन्य दुई ठाउँमा समेत आइसोलेसन सेन्टर स्थापनाका लागि प्रस्ताव गरेको छ।  

हाल स्थापना भएको आइसोलेसन सेन्टरमा २ जना कोरोना संक्रमित मात्रै छन्। त्यहाँ स्वास्थ्य सामाग्रीको भरपर्दो व्यवस्थामात्र हैन, चिकित्सक पनि छैनन्। तर, प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिँह कार्कीले अक्सिजन सेवा सहितको आइसोलेसन सेन्टर भएको बताए। उनका अनुसार आइसोलेसन सेन्टरमा एचए र अनमीले बिरामीको उपचार गरिरहेका छन्। उनले कोरोना संक्रमित उपचारका लागि आउने जाने क्रम चलिरहेको जानकारी दिए।

यता जानकी गाउँपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरको अवस्था पनि दयनीय छ। कोरोना संक्रमितलाई एचए र अनमीले उपचार गरिरहेका छन्। न त्यहाँ स्वास्थ्य सामाग्री छ न त स्वास्थ्य समस्या जटिल भए नजिकको अस्पताल पुर्याउने एम्बुलेन्स नै। ‘हाम्रोमा सामान्य उपचार मात्रै हो’ स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले भने।, ‘स्वास्थ्य समस्या बढ्यो भने टीकापुर अस्पताल पठाउने गरेका छौं।’

उनले थुप्रै कोरोना संक्रमित होम आइसोलेसनमै बसेको बताए। उनका अनुसार प्रत्येक दिन टेलिफोनमार्फत् होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको स्वास्थ्य अवस्थाको जानकारी लिने गरिएको छ।

भजनी नगरपालिकाले निर्माण गरेको कोभिड अस्पतालमा पनि बिरामी छैनन्। नगरपालिकाले स्थानीय बहुमुखी क्याम्पसको भवनमा १५ शैयाको अस्पताल निर्माण गरेको छ। त्यहाँ अहिलेसम्म बिरामीको उपचार सुरु भएको छैन। अस्पतालमा बिरामीको उपचार सुरु नहुनुको कारण स्वास्थ्य सामग्रीको अभाव नै हो।  

तर, नगरपालिकाले चालू आवको सुरुमै प्राथमिक स्वास्थ्य केन्द्रसँगै निर्माण गरेको ५ शैयाको कोभिड वार्डमा भने कोरोना संक्रमितको उपचार भैरहेको छ। त्यहाँ अहिले पनि ५ जना कोरोना संक्रमितको उपचार भैरहेको स्वास्थ्य शाखा प्रमुख कृतिसिँह विकले बताए ।  

ती कोरोना संक्रमितलाई प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकहरुले उपचार गरिरहेका छन्। विकका अनुसार कतिपय कोरोना संक्रमित निको भएर घर फर्किएका पनि छन्।  

उनले अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई पर्याप्त मात्रामा सेवा दिन नसकिएको बताए। ‘१५÷१६ सिलिण्डर छ त्यो हाल उपचाररत बिरामीलाई ठिक्क हुन्छ’ उनले भने, ‘अक्सिजनको पर्याप्तता भयो भने उपचार सेवा बिस्तार हुन्छ।’  

टीकापुर नगरपालिकाले स्थानीय सिटी हलमा निर्माण गरेको कोभिड अस्थायी अस्पतालको हालत पनि भरपर्दो छैन। त्यहाँ एकजना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार हाल ३ जनाको उपचार भैरहेको छ ।

टीकापुर अस्पतालका चिकित्सक बेलाबेलामा कोरोना संक्रमितको स्वास्थ्य अवस्था बुझ्न आउँछन्। अस्पतालमै कोरोना संक्रमितको अत्याधिक चाप बढेको छ। चिकित्सकलाई अस्पतालमा आएका कोरोना संक्रमितको उपचारमै समय अपुग छ। उनीहरु यस्तो अवस्थामा कोभिड अस्थायी अस्पतालका कोरोना संक्रमितको उपचारमा समयमा पुग्न नसक्ने समस्या पनि छ।  

रावलका अनुसार चिकित्सकको अनुपस्थितिमा अस्थायी अस्पतालका कोरोना संक्रमितको उपचार स्टाफ नर्स र एचएले गर्दै आइरहेका छन्। ‘चिकित्सक दैनिक ३ पटक राउण्डमा आउनु हुन्छ’ उनले भने, ‘अघिपछि अन्य स्वास्थ्यकर्मीले उपचार गर्नुहुन्छ।

लम्कीचुहा नगरपालिकाको आइसोलेसन सेन्टरमा सबैभन्दा धेरै कोरोना संक्रमितको उपचार भैरहेको छ। स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीका अनुसार त्यहाँ २१ जनाको उपचार भैरहेको छ। योभन्दा धेरै व्यक्ति कोरोना जितेर घर फर्किसकेका छन्।  

उनले आइसोलेसन सेन्टरमा उपचाररत बिरामीको लम्की अस्पतालका चिकित्सकबाट उपचार भैरहेको बताइन्। उनले कोरोना संक्रमितका लागि अक्सिजन सहितको स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिइन्।  

पालिकाहरुले निर्माण गरेका अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत कोरोना संक्रमितको अवस्थान निकै दयनीय छ। उनीहरु भरपर्दो स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीको अभावमा कोरोनासँग लडिरहेका छन्।  

प्रकाशित: २८ वैशाख २०७८ १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App