१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

होम आइसोलेसनमा बसेकालाई घरमै स्वास्थ्य सेवा

होम आइसोलेसनमा बसेका नेपालगन्ज–१ स्थित कोरोना संक्रमितलाई घरमै सेवा दिन खटिएका स्वास्थ्यकर्मी। तस्बिर: नागरिक

होम आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले शनिबारदेखि उक्त सेवा सुरु गरेका हुन्। नेपालगन्ज उपमहानगरपालिका–१ मा होम आइसोलेसनमा बसेका संक्रमितलाई चिकित्सकसहितको स्वास्थ्य सेवा सुरु गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए।

उनका अनुसार भेरी अस्पतालका फिजिसियन डा. पारश श्रेष्ठसहितका स्वास्थ्यकर्मीको टोलीले संक्रमितको घरमै पुगेर स्वास्थ्य सेवा दिन थालिएको हो। डा. श्रेष्ठसहितको टोलीले कोरोना संक्रमितलाई आवश्यक परामर्श तथा औषधी समेत सिफारिस गरेको छ। उक्त टोलीले स्वास्थ्य तथा हाईजिन किट समेत उपलब्ध गराइरहेको वडाध्यक्ष रिजालले बताए।

यस्तै कोहलपुर नगरपालिकाले पनि होम आइसोलेसनमा बसिरहेका संक्रमितलाई घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन थालेको छ। उक्त सेवा लिने व्यक्तिलाई आइसोलेसन अवधिभर निःशुल्क रूपमा आवश्यक चिकित्सकीय परामर्श र स्वास्थ्य सामग्री उपलब्ध गराउने नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी चौधरीले बताइन्।

‘होम आइसोलेसनमा बसेका नगरवासीले हेल्थ असिस्टेन्ट सुधन बुढाथोकी, असिफ खान, स्टाफ नर्स सुनिता थारुलाई मोबाइलमै सम्पर्क गर्न सक्नेछन्,’ उनले भनिन् ‘आफ्नो वडा र टोलको विवरण खुल्ने गरी नाम ठेगाना एसएमएस गर्ने वा सिधैं फोन सम्पर्क गर्न सक्नुहुनेछ।’ संक्रमितको विवरण उपलब्ध भइसकेपछि डा. श्याम विक, शिशिर रेग्मी, प्रवेश पन्त, देवेन्द्र आचार्य, गोविन्द थारुलगायत डाक्टरको प्रत्यक्ष उपस्थितीमा सेवा उपलब्ध गराइने उपप्रमुख चौधरीले जानकारी दिइन्।

उप–प्रमुखले दिइन् गाडी

महामारीको समयमा कोहलहपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले महंगो सवारी साधन किनेको भन्दै आलोचना भइरहेका बेला उपप्रमुख चौधरीले प्रयोग गर्दै आएको भे.२ झ २३१ नम्बरको सवारी साधन कोरोना संक्रमित बिरामी बोक्न उपलब्ध गराएकी छिन्।  

‘यो विपदको समयमा नगरवासी र स्वास्थकर्मी साथीहरूको सहजताका लागि मैले प्रयोग गर्दै आएको गाडी नगर स्वास्थ्य शाखालाई जिम्मा लगाएको छु,’ उपप्रमुख चौधरीले भनिन्। चिकित्सकीय परामर्श सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स सेवा, स्वास्थ्य सामग्री ओसार–पसारलगायत महामारी विरुद्धको लडाइमा उपयोग गर्न स्वास्थ्य शाखाका कर्मचारीलाई अनुरोध गरेको उनले बताइन्।

प्रकाशित: २६ वैशाख २०७८ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App