५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

संक्रमितको शव लैजानै समस्या

फाइल तस्बिर

कोरोना संक्रमित डडेल्धुराकी एक महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भयो। उनका आफन्तले दाहसंस्कारका लागि शव गाउँ लैजान खोजे। आफन्तले जतिसुकै प्रयास गरेपनि शव गाउँ लैजान सकेनन्।  

कोरोना संक्रमितको शव बोक्न कोही गाडीवाला तयार भएनन्। उनीहरुले एम्बुलेन्स र शवबाहन पनि पाएनन्। जतिसुकै प्रयास गर्दा पनि सम्भव नभएपछि आफन्त शव जिल्ला प्रशासन कार्यालय कैलालीको जिम्मा लगाएर फर्किए।  

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्ला संकट व्यवस्थापन केन्द्रमार्फत ती महिलाको गोदावरी नदीमा दाहसंस्कार गरिदियो। महिलाका आफन्तले अन्तिम संस्कार समेत हेर्न पाएनन्। टीकापुर अस्पतालमा जानकी गाउँपालिकाकी एक कोरोना संक्रमित महिलाको निधन भयो। उनका आफन्तले शव अन्तिम संस्कारका लागि लैजान खोजे। शव बोक्न कोही तयार भएनन्। उनीहरुले स्थानीय सरकारका रुपमा रहेको गाउँपालिकामा गुहार मागे। गाउँपालिका अध्यक्ष प्रदिप चौधरीले शवबाहन प्रयोग गर्न जवाफ फर्काए।  

टीकापुर अस्पतालले शवबाहन कोरोना संक्रमितको शव बोक्न प्रयोग नगर्ने निर्णय भएको आफन्तलाई जवाफ दियो। उनीहरुले टीकापुर नगरपालिकालाई गुहारे। धेरै कर गरेपछि नगरपालिकाले टिप्पर उपलब्ध गरायो । यति हारगुहार गर्दासम्म १२ घण्टा बितिसकेको थियो। त्यतिञ्जेल ती महिलाको शव अस्पतालको शवगृहमा राखियो।  

टीकापुर अस्पतालमै लम्कीचुहा नगरपालिका भुरुवाका एक युवकको निधन भयो। उनी समेत कोरोना संक्रमित थिए। उपचारका क्रममा युवकको मृत्यु भएपछि आफन्त आत्तिए। उनीहरुले अन्तिम संस्कारका लागि शव लैजान खोजे । उनका आफन्तले समेत त्यही समस्या भोगे । शव बोक्न कोही तयार भएनन्। अन्त्यमा कुनै उपाय नभएपछि आफन्तले गाउँबाटै ट्याक्टर मगाए। त्यही ट्याक्टरमा राखेर युवकका आफन्तले दाहसंस्कार गरे।  

पछिल्लो समय कोरोना सक्रमणबाट ज्यान गुमाए पछि शव व्यवस्थापनमा आफन्तले भोग्दै आएका यी प्रतिनिधि घटना मात्रै हुन्। कोरोना संक्रमणबाट निधन भएका मध्ये सबैका आफन्तले शव व्यवस्थापनमा निकै धेरै समस्या भोग्नु परिरहेको छ।  

‘निकै धेरै समस्या छ। यो समस्या अझ धेरै बढ्ने देखिन्छ’ जिल्ला प्रशासन कार्यालय कैलालीका कोरोना फोकल पर्सन शिवराज जोशीले भने –‘सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमको रिफरल अस्पताल हो। यहाँ मृत्यु हुने क्रम बढेको छ।’उनले कैलालीमा मात्रै शव व्यवस्थापनका लागि कम्तिमा ४ वटा गाडी हुनुपर्ने बताए। उनका अनुसार हाल शव व्यवस्थापनका लागि एउटा मात्रै गाडी छ। उनले चाँडै शव बोक्ने गाडीको मात्रै नभई दाउरा र दाहसंस्कार स्थलको समेत अभाव देखिने बताए ।

प्रकाशित: २४ वैशाख २०७८ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App