२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

संक्रमितले खचाखच भरिएको कोभिड वार्ड (भिडियाेसहित)

भेरी अस्पतालको स्थलगत रिपोर्ट

भेरी अस्पतालको कोभिड वार्डमा एक जना महिला छट्पटाईरहेकी छन् । उनको मुखमा अक्सिजन लगाइएको छ । तरपनि उनलाई अप्ठ्यारो भइरहेको अवस्था देखेर सहजै अनुमान लगाउन सकिन्छ । महिलाको रेखदेख गर्न बसेका(कुरुवा) पुरुषले बेला–बेलामा ढाँडस दिइरहेका छन् । ‘मनोबल उच्च बनाउँ...तिमीलाई केही हुँदैन....हरेस नखाउ’ ति पुरुषले यस्तै–यस्तै शब्द निकालेर बाँच्ने मनोबल दिइरहेका छन् । हेर्दा सामान्य अवस्थाको जस्तो लागेपनि महिलालाई कोरोना भाईरसले उनलाई बेस्सरी च्यापेको जस्तो देखिन्छ ।  

सोही वार्डमा भर्ना भएका अन्दाजी ५५ वर्ष जतिका पुरुषको अवस्था त झन् गम्भिर देखिन्छ । उनको रेखदेख गर्न परिवारका तीन जना खटिएका छन् । उनीहरु तीनै जनाले संक्रमितलाई बचाउन हरसम्भव प्रयास गरिरहेका छन् । यिनीहरु संक्रमितको शरीर मालिस गर्ने र भगवानलाई पुकार्ने काम गरिरहेका छन् । ‘बाबालाई बचाउ भगवान...बचाउ,’ नजिकै उभिएकी छोरीको सानो आवाज सुनिन्छ ।

कोभिड वार्डकै एक जना युवकको अवस्था त झन् दर्दनाक छ । कोरोना भाईरसँग उनी अन्तिम लडाई लडिरहेका छन् । कोरोना संक्रमण भएपछि यही बैशाख ९ गतेबाट छोरालाई अस्पतालमा भर्ना गरेका बाबुले कहिले छोराको मुखमा हेरेर रुन्छन्, कहिले भगवानलाई पुकार्छन् । ‘छोरालाई निको गराएर घर फर्काउने मन छ, तर कोरोनाले झन् झन् च्याप्दै लगेको छ,’ उनले नागरिकसँग भने ।  

कोभिड वार्डको १२ नम्बर बेडमा छिन्, अन्दाजी ७६ वर्षीया वृद्धाआमा । बुधबार साढे ५ बजेतिर नागरिककर्मी स्थलगत रिपोर्टिङमा पुग्दा उनका आफन्त त्यहाँ थिएनन् । कहिले बेडमा सुत्थिन्, भने कहिले उठेर सुस्केरा हाल्थिन् र छट्पटाईरहन्थिन् उनी । कोही नजिक आउँदा उनी भन्थिन्, ‘छाती पोल्यो, औडाहा भयो ।’  

भेरी अस्पतालको कोभिड वार्ड यस्ता तमाम दृश्यले भरिएको छ । जहाँ कोरोना संक्रमितहरु बेडमा खचाखच भरिएका छन् । धेरैजसो संक्रमित अक्सिजनको सहायतामा मृत्युसँग लडिरहेका छन् । संक्रमितको संख्याभन्दा निकै न्युन मात्रामा यहाँ स्वास्थ्यकर्मी खटिएका छन् । सीमित संख्याका स्वास्थ्यकर्मीले पनि संक्रमितको सेवा गरिरहेकै छन् । संक्रमितका आफन्तहरु स्वास्थ्यकर्मीको योगदानलाई खुलेरै प्रशंसा गर्छन् । ‘संक्रमितलाई बचाउने भनेको नै अहिले अक्सिजन हो, अक्सिजन पाएका बिरामीमा केही बाँच्ने आशा हुँदो रहेछ,’ संक्रमितका आफन्त टंकप्रसाद धमलाले भने । लामो समयसम्म अक्सिजन दिँदा पनि उनले आफन्तलाई बचाउन सकेनन् । कोरोना पोजेटिभ भएपछि भेरी अस्पतालमा मंगलबार बिहान मात्र भर्ना भएका उनका आफन्त(काका)को २४ घण्टा नपुग्दै मृत्यु भयो ।  

कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले नेपालगन्जलाई लकडाउन गरेको छ । अस्पताल बाहिर रहेका सबै होटल बन्द भएका छन् । होटल बन्द हुँदा टाढाबाट उपचार गर्न आइपुगेका संक्रमित र उनका आफन्तले नियमित रुपमा खाना खान समेत नपाएको गुनासो गरेका छन् । तीन दिनदेखि आफन्तको उपचारका लागि दिनरात अस्पतालमै बिताएका हेमन्तराज काफ्ले भन्छन्, ‘अवस्था भयानक छ, दर्दनाक छ, डरलाग्दो छ ।’ अहिले सम्म यस्तो अवस्था कही पनि नदेखेको बताउने उनी अगाडी थप्छन्, ‘मान्छेको मृत्यु छिनभरमै भइरहेको छ, प्रत्येक दिन ६/७ वटा लाश निस्केका छन्, धेरै बिरामी अक्सिजनको सहायताले बाँचेका छन्, स्वास्थ्यकर्मीको कमी छ, तर अस्पताल विकास समितिले धेरै राम्रो प्रयास गरेको छ ।’

कोभिड वार्डमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार संक्रमितको अवस्था भयावह छ । ‘यहाँ भर्ना भएका बिरामीलाई अक्सिजन अत्यावश्यक नै हुन्छ, बिरामीले लगाएको अक्सिजनमा एकैछिन ध्यान पुगेन भनेपनि मृत्यु हुने सम्भावना बढी हुन्छ,’ उनले भनिन् । बिरामीलाई बचाउने आफ्नो प्रयास अन्तिमसम्म हुने ति स्वास्थ्यकर्मीले बताईन् ।

भेरी अस्पतालमा बिहीबारसम्म १ सय २६ पुरुष र १ सय १६ महिला गरी कुल २ सय ४२ जना संक्रमित भर्ना भएका छन् । यसमध्ये ८५ जना सिकिस्त छन् । तर, अस्पतालमा संक्रमितको चाप दिनहुँ बढिरहेको छ । अस्पतालमा मृत्युदर डरलाग्दो रुपले बढिरहेको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेको तथ्यांक अनुसार बिहीबार दिउँसोसम्म संक्रमणबाट बाँकेका १ सय ८ र बाहिरी जिल्लाका १ सय ११ जनाको मृत्यु भएको छ, भने जिल्लामा कुल ८ हजार ५ सय ९७ जना संक्रमित भइसकेका छन् ।  

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा संक्रमित बिरामीको चापले बेडहरु अहिले पनि भरिभराउ भएको बताउँछन् । उनले भने, ‘दिनहुँ संक्रमित आइरहेका छन्, जो सन्चो भएर जानुहुन्छ, ति बेड क्रमशः हिसाबले खाली भइरहेको छ, ति बेडमा नयाँ बिरामीलाई भर्ना लिने गरेका छौं, जसलाई बेडको खाँचो छ, उनीहरुलाई भर्ना गर्ने प्रयास गरिरहेका छौं ।’ अस्पतालसँग उपलब्ध भएको बेडलाई अधिकतम प्रयोग गरिरहेको र जनशक्ति अभावको समस्यालाई क्रमिक रुपले समाधान गर्दै लगेको मेसु थापाले बताए ।  

बाँकेका अस्पतालमा अहिले भर्ना भएका संक्रमित जटिल खालका हुन् । सामान्य खालका संक्रमित अहिलेपनि होमआईसोलेसनमै छन् । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओली कोरोना संक्रमितलाई राम्रोसँग बेडको ब्यवस्थापन हुन नसकेको बताउँछन् । ‘जटिल प्रकारका बिरामीलाई मात्र अस्पतालमा राखेका छौं, अन्यलाई पालिका स्तरको आइसोलेसनमा राखेर अक्सिजन दिएर राख्ने ब्यवस्था मिलाएका छौं,’ उनले भने ।  

भेरी अस्पतालले चाप बढ्न थालेपछि पछिल्लो समयमा गम्भीर खालका संक्रमितको उपचारलाई प्राथमिकता दिइरहेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल भन्छन्, ‘यहाँ अनगिन्ती रुपमा कोभिडका बिरामी आउने क्रम एकदमै बढेको छ, यो अस्पतालमा भएका बिरामीको बेडको कुनै समस्या परेर एकछिन रोक्नुस् भनेका छौ, तर अस्पतालमा आएका बिरामीलाई फर्काउने काम भएको छैन, गम्भीर प्रकृतिका बिरामीलाई भर्ना गरेका छौं, सामान्य अवस्थाका बिरामीलाई होमआईसोलेसनमै बस्न प्रेरित गरेका छौं ।’

अस्पतालका कोभिड वार्डमा अहिले पनि स्वास्थ्यकर्मीको अभाव कायमै छ । अस्पतालका सीमित संख्याका स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । अस्पतालले गर्ने भनेको नयाँ कर्मचारी अझै भर्ना गरेको छैन । ‘हामीलाई जनशक्ति अभाव भएपछि अहिले नयाँ स्वास्थ्यकर्मी भर्ना गर्दैछौ, स्वास्थ्यकर्मीको अभावले ठूलो क्षति बेहोर्नु पर्‍यो,’ अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले भने, ‘अहिले सिनियर डाक्टरले पनि नियमित रुपमा बिरामी हेर्नु भएको छ, तर डिस्चार्ज भएर जानेको संख्या ५ जना छ, भने आउनेको संख्या २० जना हुन्छ ।’  

अस्पतालमा जसरी दिनहुँ संक्रमित भइरहेका छन्, त्यो भन्दा बढी अहिले होम आईसोलेसनमा बसिरहेका छन् । समुदायमै फैलिएको कोरोना संक्रमणको स्रोतको खोजी अझै हुन सकेको छैन । जसले गर्दा संक्रमितको संख्या थपिँदै जाने र अस्पताल भरिभराउ हुने क्रम चलिरहेको छ । स्वास्थ्य क्षेत्रमा लामो अनुभव लिइसकेका अस्पताल विकास समितिका सदस्य धनीराम ओली भन्छन्, ‘जबसम्म संक्रमणको मुल स्रोत पत्ता लाग्दैन, तबसम्म संक्रमण नियन्त्रण गर्न असम्भव छ, अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङ भएको छैन, यसरी अस्पतालले मात्र धान्न सक्दैन ।’

प्रकाशित: १६ वैशाख २०७८ १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App