८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

बाँकेमा एकै रात ६ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका अनुसार एकैरातमा उनीहरुको मृत्यु भएको हो।  

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो। यही बैशाख १० गते पिसिआर परीक्षण गराएकोमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। भेरी अस्पतालमा बुधबार भर्ना भएका उनको भोलीपल्ट बिहिवार(आज) बिहान साढे ५ बजेतिर मृत्यु भएको हो।

भेरी अस्पतालमा उपचार गराइरहेका बर्दिया, बढैयाताल गाउँपालिका ८ बर्दियका ३२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ। यहि वैशाख ९ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो। अस्पतालमा बुधबार भर्ना भएका उनको राती साढे १ बजेतिर मृत्यु भएको हो।  

यस्तै नेपालगन्ज उपमहानगरपालिका ९ का ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। यहि वैशाख १० गते बागेश्वरी ल्याबमा कोरोना पोजेटिभ देखिएपछि उनी बैशाख ११ गते भेरी अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार नआएपछि बुधबार राती १० बजे अस्पतालमा मृत्यु भएको हो।  

यसैगरी कोहलपुर नगरपालिका वडा नम्बर ११ निवासी ४३ वर्र्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा बुधबार मात्र कोरोना पोजेटिभ देखिएकोमा सोही दिन अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार नआएपछि राती ९ बजे मेडिकल कलेजमा मृत्यु भएको हो।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । यही बैशाख ६ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। भेरी अस्पतालमा बुधबार भर्ना भएका उनको राती ९ बजेतिर मृत्यु भएको हो।

त्यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ५८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ निवासी उनको बुधबार राती ८ बजेर ५५ मिनेट जादाँ मृत्यु भएको हो। कोरोना संक्रमण भएपछि उनी बुधबार अस्पतालमा भर्ना भएका थिए। केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका मात्रै १ सय ६ र बाहिरी जिल्लाका १ सय ९ जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित: १६ वैशाख २०७८ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App