५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोनाले मृत्यु हुनेमा निरोगी युवा पनि

फाइल तस्बिर

नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो। बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो। तर अहिलेको लहरमा भने निरोगी युवालाई समेत धेरै असर पारेको छ। युवाको समेत मृत्युदर बढिरहेको उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन्।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनयता मृत्यु भएका दुई युवा ३३ र ३८ वर्षका छन्। त्यस्तै ४९ वर्षका एक व्यक्तिको पनि मृत्यु भयो । उनीहरू तीनै जना निमोनिया भइसकेपछि मात्र अस्पताल पुगेका थिए। उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरूमा कुनै पनि दीर्घकालीन रोग नभएको उपचारमा संलग्न डा. अनुप बास्तोलाले बताए।  

ह्याम्स अस्पतालमा केही दिनयता मृत्यु भएका दुईजनामध्ये एक कुनै रोग नभएका युवा छन्। उनीहरूको कोरोना निमोनियाले मृत्यु भएको अस्पतालका कोभिड उपचार चिकित्सक डा. राजु पंगेनीले नागरिकलाई जानकारी दिए। अहिले वार्डमा सिकिस्त भएर भर्ना भएका मध्ये ३५ देखि ५० वर्षभित्रका धेरै रहेको डा. पंगेनीले बताए।

त्रिवि शिक्षण अस्पतालका कोभिड उपचार चिकित्सक डा. सविन थपलियाका अनुसार भर्ना भएका १ सय ३० जना कोरोना संक्रमित बिरामीमध्ये ९० प्रतिशतको अवस्था गम्भीर छ। तीमध्ये पनि धेरै आइसियु चाहिने अवस्थामा छन्। सिकिस्त भएर उपचारमा पुग्नेमा निमोनिया भइसकेका युवा पनि छन्।  

यो वर्षको भाइरसको स्वरुप कडा भएकाले निरोगी युवालाई समेत सिकिस्त बनाएको डा. बास्तोला बताउँछन्। कोरोनालाई सामान्य रुघाखोकीका रुपमा हेरेर चरम बेवास्ता गर्नाले पनि युवाहरू सिकिस्त बनेको उनको तर्क छ। ‘सुरुमा सामान्य रुघाखोकी, ज्वरो ठानेर घरैमा बस्छन् । धेरै दिनसम्म निको नभएपछि मात्र अस्पताल आइपुग्छन्। त्यति बेला कोरोनाले फोक्सोमा निमोनिया बनिसकेको हुन्छ’, उनले भने । निमोनिया र फोक्सोको संक्रमण बढी भइसकेपछि अस्पताल आइपुग्दा निको हुन नसकी युवाहरूको मृत्यु हुने गरेको उनको भनाइ छ ।  

ह्याम्स अस्पतालका डा. पंगेनीका अनुसार दोस्रो लहरको संक्रमणमा बढी बालबालिका र युवा परेका छन्। त्यसमा पनि युवा हेलचक्र्याइँ गरेर सभासम्मेलन, जमघटमा जाने गरेकाले उनीहरू बढी संक्रमित भएको र वृद्धले खोप लगाएकाले कम संक्रमित भएको हुन सक्ने उनको अनुमान छ।

चिकित्सकका अनुसार ज्वरो आउने, खोकी लाग्नेजस्ता लक्षण देखिएमा समयमै अस्पताल पुगेमा युवालाई बचाउन सकिन्छ । ‘अक्सिजन घट्दै गएको निगरानी स्थानीय निकायले गर्नुपर्छ । ९४ भन्दा कम भएमा संक्रमितलाई अस्पताल पठाइहाल्ने व्यवस्था स्थानीय सरकारले गर्नुपर्छ’, उनको सुझाव छ । घरमै सम्भव भएमा ज्वरो र अक्सिजन नाप्ने र कम हुँदै गएमा अस्पताल गइहाल्नुपर्ने उनले बताए।  

बुधबार अहिलेसम्मकै उच्च संक्रमण दर

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमण दर ३३ प्रतिशत पुगेको छ । यो संक्रमणदर अहिलेसम्मकै उच्च हो। यसअघि मंगलवार २८.५ प्रतिशत र सोमबार ३० प्रतिशत थियो । संक्रमणदर दुई सातादेखि बढ्दै गएको हो।  

गत २४ घण्टामा १४ हजार ८ सय ३४ वटा नमुना परीक्षण भएकोमा ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी काठमाडौं उपत्यकामा २ हजार ४७ जना संक्रमित भेटिएका छन् । थप संक्रमित सहित नेपालमा संंक्रमितको संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको छ।

गत २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ भने १७ जना मृतकमा कोरोना पुष्टि भएको छ । यी सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ। हाल नेपालमा मृत्युदर १.०१ प्रतिशत पुगेको छ। देशभरिमा ३० हजार २ सय ९ जना सक्रिय संक्रमित छन्। तीमध्ये २३ सय ६४ जनाको संस्थागत आइसोलेसन, ३ सय १७ जनाको आइसियु र ९८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

अन्य देश र जनसंख्याको तुलनामा नेपालमा संक्रमणदर उच्च गतिमा बढिरहेको विज्ञहरूले जनाएका छन् । नेपालको जनसंख्याअनुसार ३३ प्रतिशत संक्रमण दर हुनु भनेको भयावह अवस्था भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले बताए । ‘भारतकै तुलनामा हेर्ने हो भने पनि नेपालमा अहिले भइरहेको संक्रमण दर उच्च हो’, उनले भने।  

सरकारले संक्रमण रोकथामका लागि बेलैमा विशेष कदम नचाल्नुको परिणाम तीव्र गतिमा संक्रमण फैलिएको डा. मरासिनीले बताए । समयमै सीमानाकामा निगरानी, समुदायमा निःशुल्क परीक्षण, प्रभावित क्षेत्रमा कन्ट्याक्ट टे«सिङमा ध्यान नदिनु, नेताहरूले जमघट हुने कार्यक्रमलाई बढावा दिनु र सार्वजनिक स्थानमा निगरानी नराख्नुले नेपालले अहिलेको नियति झेल्नुपरेको उनको तर्क छ। ‘होटेल, सार्वजनिक बस, पसल, कतै पनि मापदण्ड बनेनन् र पालना पनि भएनन्’, उनले भने । पूर्वदेखि पश्चिमसम्म खुलेआम आवत–जावतको कारण गत वर्षको तुलानामा यो वर्ष कोरोना संक्रमण गाउँगाउँमा पुग्ने खतरा बढेको उनले बताए।  

निषेधाज्ञाले केही नियन्त्रण गरे पनि निषेधाज्ञा समाधान नभएको डा. मरासिनीले बताए। निश्चित अवधिको लागि निषेधाज्ञा गरे पनि महामारी नियन्त्रणमा दीर्घकालीन नीति र कार्यान्वयन नपुगेको उनको भनाइ छ। मरासिनीका अनुसार गत वर्ष विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपत्काल घोषणा गरे पनि नेपाल सरकारले पूरै बेवास्ता गर्दा अहिलेको स्थिति भोग्नुपरेको हो । ‘खुलेआम लाबरबाही गर्ने काम नेताबाटै सुरु भयो, यसमा मुख्य दोष सरकारको देखिन्छ’, उनले भने। 

प्रकाशित: १६ वैशाख २०७८ ००:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App