२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमितलाई उपचार खर्च धान्नै गाह्रो

भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका संक्रमित । तस्बिर : नागरिक

कोरोना संक्रमितको उपचार गरिरहेका अस्पताललाई सरकारले बिरामीको संख्या र अवस्था अनुसार निश्चित खर्च तोकेर बजेट दिइरहेको छ। अस्पताल स्रोतका अनुसार भेन्टिलेटरमा भर्ना हुने बिरामीका लागि प्रतिदिन १५ हजार, आईसियुमा रहेकालाई ७ हजार र जनरल वार्डका संक्रमितका लागि ३ हजार ५ सय रुपैयाँ उपचार खर्च तोकेको छ। तर, अस्पतालमा उपचाररत संक्रमितको खर्च सरकारले तोकेको भन्दा झण्डै दोब्बर हुने गरेको छ। जसका कारण उनीहरुलाई उपचार खर्च धान्न गाह्रो भइरहेको छ।

सरकारले ब्यहोर्ने बाहेकको औषधि उपचार खर्च संक्रमित आफैले ब्यहोर्नु परेको छ। ‘कोरोना संक्रमितको सबै उपचार खर्च सरकारले बेहोर्ने कुरा सुनेका हौं, तर अस्पतालमा भर्ना भईसकेपछि आफ्नै पैसा खर्च भइरहेको छ, उपचार गर्न गाह्रो भइरहेको छ,’ भेरी अस्पतालको कोभिड वार्डका एक संक्रमितले भने, ‘उपचार खर्च जुटाउन तनाव भइरहेको छ।’ एक हप्ताभित्र करिव २० हजार रुपैयाँ औषधि किन्दा खर्च भइसकेको उनले सुनाए।

चिकित्सकका अनुसार एक जना बिरामीलाई १ देखि ६ डोजसम्म उक्त औषधि चढाउनुपर्छ। उक्त औषधिको बजार मूल्य प्रतिडोज ५ हजार ५ सय रुपैयाँसम्म पर्छ।  

यि त प्रतिनिधि पात्र मात्र हुन्। कोरोना संक्रमित भएर यहाँका अस्पताल भर्ना हुन पुगेका अधिकांस संक्रमितको समस्या यस्तै छ। विशेषगरी अस्पतालको भेन्टिलेटर र आईसियुमा भर्ना भएका बिरामीको उपचार गर्न परिवार तथा आफन्तलाई आर्थिक भार परिरहेको छ। सरकारले बाँकेमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजलाई मात्र कोरोना संक्रमितको उपचार गर्न स्वीकृती दिएको छ। कोरोना संक्रमितको उपचारका लागि सरकारले दुबै अस्पताललाई बिरामीको अवस्था र संख्याका आधारमा तोकिएको बजेट दिने गरेको छ। दुबै अस्पतालमा भर्ना भएका संक्रमितका परिवार र आफन्तले उपचार खर्च धान्नै गाह्रो भएको गुनासो गर्छन्। कोरोनाका जटिल बिरामीलाई ‘रेम्डिसेभियर’ औषधि चढाउनुपर्ने हुन्छ। चिकित्सकका अनुसार एक जना बिरामीलाई १ देखि ६ डोजसम्म उक्त औषधि चढाउनुपर्छ। उक्त औषधिको बजार मूल्य प्रतिडोज ५ हजार ५ सय रुपैयाँसम्म पर्छ।  

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल पनि सरकारले उपलब्ध गराउने उपचार खर्च अहिले कोरोना संक्रमितलाई अपुग भइरहेको स्वीकार गर्छन््। ‘प्रति बिरामी बराबरको खर्च मन्त्रालयले सोधभर्ना गर्छ, जनरल वार्डका बिरामीलाई दैनिक ३ हजार ५ सय, आईसियुका बिरामीलाई ७ हजार र भेन्टिलेटरलाई १५ हजार रुपैयाँ दिन्छ,’ उनले नागरिकसँग भने, ‘यो रकमले उपचार गर्न अपुग भइरहेको छ, हामीले बिरामीको सोध भर्नामा अलिकति रकम बढाईदिए हुन्थ्यो भनिरहेका छौं।’ उनका अनुसार अस्पतालको भेन्टिलेटरमा भर्ना भएका बिरामीको दैनिक खर्च २० देखि २५ हजार जति हुन्छ। यस्तै आईसियुमा रहने बिरामीको दैनिक खर्च १० हजार जति आउँछ। जनरल वार्डमा भर्ना भएका बिरामीको खर्च भने लगभग बराबर हुन्छ।  

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा सरकारले तोकेका उपचार खर्च अपुग भइरहेको बताउँछन्। ‘बिरामीको औषधि र उपचारमा चाहिने स्वास्थ्य सामाग्री, उपचारकर्मीको जोखिम भत्ता र खाने बस्नेसहित सम्पुर्ण खर्च यही रकमबाट हो,’ उनले भने, ‘यो रकमले पुगिरहेको छैन।’ सरकारले तोकेको उपचार खर्च अपुग हुँदा संक्रमितले औषधि लगायतका स्वास्थ्य सामाग्री आफै किन्नु परिरहेको अध्यक्ष धितालले सुनाए। भेन्टिलेटरका बिरामीलाई दैनिक २५ हजार र आईसियुका बिरामीलाई दैनिक १० हजार उपचार खर्च दिन अस्पतालले मन्त्रालयसँग आग्रह गरिसकेको छ।

प्रकाशित: १५ वैशाख २०७८ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App