७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा

सरकारले केही अत्यावश्यक सेवालाई छोडेर वैशाख १६ गतदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञाको निर्णय गरेको छ। उपत्यकाबाहिर पनि २ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा लागू हुने भएको छ। जनस्वास्थ्य मापदण्ड पालना गर्न नागरिकबाट अटेरी भएपछि बाध्य भएर निषेधाज्ञाको सहारा लिनुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘हामीले कोरोना संक्रमणको जोखिम सकिएको छैन, मापदण्ड पालना गर्नू भनेको भनै गर्‍यौं तर अटेरी गर्ने धेरै भए। बाध्य भएर निषेधाज्ञा रोज्नुपर्‍यो’, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने।

तीव्ररूपमा फैलिरहेको संक्रमणले हुन सक्ने क्षतिबाट बचाउन निषेधाज्ञाबाहेक अन्य उपाय नभएको डा. गौतमले स्पष्ट पारे। ‘हरेक व्यक्तिले जनस्वास्थ्य मापदण्ड पालना गरेको भए निषेधाज्ञा गर्नुपर्ने थिएन। सेल्फ लकडाउनमा बस्नू पनि भन्यौं, अटेरी नै भयो’, उनले भने। काठमाडौंमा जनघनत्व बढी भएको र संक्रमणको चक्र नरोकेमा भयावह रूप लिने स्थिति रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए।

‘निषेधाज्ञाले मानिसको जमघट नियन्त्रण गर्न खोजिएको हो। बिहे, भोज, सभासम्मेलनजस्ता जमघट हुने क्रम नरोकिएसम्म एक व्यक्तिबाट अर्कोमा कोरोना सर्ने क्रम तीव्र हुन्छ’, डा.पुनले भने। निषेधाज्ञाले संक्रमणको चक्र रोक्न सक्ने उनले बताए। जनघनत्व बढी भएकाले उपत्यकामा निषेधाज्ञा नगर्ने हो भने बढी संक्रमित हुने र मृत्युदर पनि बढी हुने स्थिति रहेको उनले बताए। ‘यसपालिको कोरोना संक्रमणले स्वरूप फेरेको छ। युवा र बालबालिकातिर संक्रमण पुगेको छ। कुन भेरियन्ट हो भन्ने विषयमा अध्ययन हुन सकेको छैन’, उनले भने।

चिकित्सकका अनुसार कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) कम्तीमा तीन साता निषेधाज्ञा चाहिन्छ। यो अवधि जनघनत्वमा पनि भर पर्छ। ‘थोरै जनसंख्या भएमा कम र बढी जनसंख्या भएमा बढी समय लाग्छ’, डा. पुनले भने। सशस्त्र प्रहरी बल अस्पतालका कोभिड १९ उपचार संयोजक डा. प्रवीन नेपालले पनि वर्तमान अवस्थामा निषेधाज्ञाबाहेक अन्य विकल्प नभएको बताए।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरामसिनीले सरकारले समयमै नियन्त्रणका उचित उपाय अपनाउन नसक्दा निषेधाज्ञाको सहारामा पुग्नुपरेको बताए। उच्च रक्तचाप भएका, मुटुरोगी, गर्भवतीको उचित व्यवस्थापन हुनेगरी निषेधाज्ञा कार्यान्वयन गर्न उनले सुझाव दिए। ‘यो समूहका कतिपयले गत वर्ष अस्पताल पुग्न समयमै सवारीसाधन नपाएर ज्यान गुमाउनुपरेको थियो। अहिले यस्तो नहोस्’, उनले भने।

निषेधाज्ञाले अहिलेको तीव्र संक्रमण नियन्त्रणमा ल्याउन सहज हुने उनको पनि विश्वास छ। यो अवधिमा लुकिछिपी अर्को जिल्ला प्रवेश गर्नेलाई कडा निगरानी गर्न उनको सुझाव छ। निषेधाज्ञा खुलेपछि पनि संक्रमण दोहोरिन नदिन एक जिल्लाबाट अर्को जिल्ला या ठाउँमा जाँदा पिसिआर रिपोर्ट अनिवार्य गर्ने र ठाउँठाउँमा परीक्षण बुथ राख्नाले रोग फैलिने क्रम रोक्न सकिने उनले बताए।

अक्सिजन चाहिने बिरामीले भर्ना पाएनन्

कोरोना संक्रमण तीव्र भएसँगै गम्भीर बिरामीको संख्या बढेको छ। गम्भीर लक्षण लिएर आइपुगेका बिरामीले समयमै भर्ना पाउन नसकेको अस्पतालले जनाएका छन्। यसरी पर्खाइमा हुने बिरामी सबैजसो अक्सिजन चाहिने अवस्थाका छन्। सशस्त्र प्रहरी बल अस्पताल बलम्बुका अनुसार प्रत्येक दिन ४० जना बिरामी भर्नाको पर्खाइमा छन्। तीमध्ये कोही अस्पतालको आकस्मिक कक्षमा पर्खाइमा छन् भने कोही होम आइसोलेसन र अन्य अस्पतालको आकस्मिक कक्षमा। आइतबार ज्वरो आएपछि पाटन अस्पताल पुगेकी भैंसेपाटीकी ३४ वर्षीया सीता बुढाथोकीले सोमबार साँझसम्म अस्पतालमा भर्ना पाउन सकिनन्। अस्पतालको आकस्मिक कक्षमै रहेकी उनको अक्सिजन घटेर ७८ पुगेको थियो। अन्यत्र अस्पतालमा बेड खोज्दै भौंतारिइन्। बेड पाउन नसकेपछि उनको आफन्तले बाहिरबाट अक्सिजन किनेर जोहो गरे।

पाटन अस्पतालमा अक्सिजन चाहिने अवस्थाका १३ जना बिरामी पर्खाइमा रहेको अस्पतालका कोभिड १९ उपचार संयोजक डा. विमल पाण्डेले बताए। सोमबार साँझसम्म तीनजना अक्सिजन चाहिने बिरामी पर्खाइमा रहेको वीर अस्पतालका डा. अच्युत कार्कीले बताए। अस्पतालका थप भएका बेड पनि भरिएपछि दैनिक दर्जनौं बिरामी पर्खाइमा रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार उपत्यकाका अस्पतालमा रहेका ७ सय ८१ वटा कोभिड बेड बिरामीले भरिएका छन्।

कोरोनाबाट थप १९ को मृत्यु

गत २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ७६ पुगेको छ। गत २४ घण्टामा १३ हजार २ सय ९३ वटा नमुना परीक्षण गरिएकोमा ३५ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ। यी सहित नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३५ हजार ६१ पुगेको छ। सोमबार संक्रमण दर २६.७ प्रतिशत रहेको मन्त्रालयको तथ्यांक छ।

कुल संक्रमितमध्ये २२ हजार ४ सय ३४ जना सक्रिय संक्रमित छन्। तीमध्ये १ हजार ८ सय ९९ जना संस्थागत आइसोलेसनमा, २ सय ६८ जना आइसियुमा र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। काठमाडौं उपत्यकामा ६ सय ४४ जनाको संस्थागत आइसोलेसनमा, ९४ जनाको आइसियुमा र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: १४ वैशाख २०७८ ०१:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App