८ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सुर्खेतको सबै स्थानीय तहमा अक्सिजनसहितका आइसोलेसन निर्माण गरिने

सुर्खेतका सबै स्थानीय तहमा अक्सिजनसहितका आइसोलेसन बेड निर्माण गरिने भएको छ। कर्णाली प्रदेश अस्पतालमा कोभिड–१९ (कोरोना भाइरस) का बिरामीको चाप दिनहुँ बढ्दै गएपछि जिल्लास्थित नौवटै पालिकाहरूले कोरोना संक्रमित बिरामीका लागि अक्सिजनसहितको आइसोलेसन बेड निर्णग गर्न लागिएको हो।

आइतबार संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी श्रीशमशेर राना मगरले जानकारी दिए। ‘वीरेन्द्रनगर बजार क्षेत्रमा संक्रमणको दर तीव्र गतिमा बढ्दै गएकाले संक्रमण न्यूनीकरणका लागि उद्योग वाणिज्य संघ, सुर्खेतको अगुवाइमा बजार क्षेत्रका सबै पसलहरूमा अनुगमन गरी जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न लगाउने निर्णय भएको छ,’ उनले भने, ‘वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र संक्रमित बढेकाले नगरपालिकाभित्रका सबै संयन्त्रलाई परिचालन गरी स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न लगाउने निर्णय भएको छ।’

त्यस्तै, नेपाल राष्ट्र बैंक, प्रदेश कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकास्थित सबै बैंकहरूसँग बैठक आयोजना गरी स्वास्थ्य मापदण्ड पालना गर्न लगाउने र बैंकहरूले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाह नियमित गराउने विषयमा छलफल भएको सूचना अधिकारी राना मगरले जानकारी दिए।

प्रकाशित: १२ वैशाख २०७८ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App