बाँकेमा एकैरात ५ जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल नोपलगन्जमा उपचाररत खजुरा गाउँपालिका वडा नम्बर ३ निवासी ४७ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। कोरोना पोजेटिभ भएपछि यही बैशाख १ गते उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियाे। स्वास्थ्यमा सुधार नआएपछि शनिबार राती साढे १० बजेतिर उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै सोही अस्पतालमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ निवासी ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। कोरोना पोजेटिभ भएपछि यही बैशाख १ गते उनलाई भेरी अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार नआएपछि शनिबार राती साढे १० बजे उनको मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकी ३६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर १० निवासी उनलाई शुक्रबार कोरोना पोजेटिभ देखिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि उनको शनिबार राती साढे २ बजेतिर मृत्यु भएको हो।
भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ निवासी ६५ वर्षीया महिलाको मृत्यु भएको छ। कोरोना पोजेटिभ आएपछि उनी गत चैत २८ गतेदेखी अस्पतालमा भर्ना भएकी थिईन् । करिव दुई हप्तासम्म पनि स्वास्थ्यमा सुधार नआएपछि शनिबार बेलुकी साढे ७ बजेतिर उनको मृत्यु भएको हो ।
होम आईसोलेशनमा आत्महत्या
कोरोनाबाट संक्रमित भएर होम आईसोलेशनमा बसिरहेका ६० बर्षीय पुरुषको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ९ का ति पुरुषलाई बैशाख ३ गते कोरोना पोजेटिभ देखिएको थियो। उनको स्वास्थ्य अवस्था सामान्य भएको हुँदा उनी होम आईसोलेशनमा बसिरहेका थिए। घरमा बसिरहेका उनले शनिबार पौने ७ बजेतिर आत्महत्या गरेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ। मृतक सबैको शव नेपाली सेना र परिवारको समन्वयमा व्यवस्थापन गरिएको फोकल पर्सन ओलीले बताए। यो सँगै बाँके जिल्लाका मृत्यु हुने कोरोना संक्रमितको संख्या ८३ पुगेको छ ।
२४ घण्टाभित्र नयाँ ४ सय २९ संक्रमित
बाँकेमा शनिबार बेलुकी ४ सय २९ जना नयाँ संक्रमित फेला परेका छन्। कुल ६ सय ५५ वटा स्वाब परिक्षण गर्दा ४ सय २९ जनालाई संक्रमण पुष्टि भएको हो। यसमध्ये बाँकेका मात्र १ सय ८६ पुरुष र १ सय ६१ महिला गरी ३ सय ४७ जना रहेका छन्।
भेरी अस्पतालमा २ सय ८८ जनाको परिक्षण गर्दा २ सय ४ जनालाई कोरोना पोजेटिभ देखिएको छ। नेपालगन्ज मेडिकल कलेजमा १ सय ५८ स्वाब परिक्षण गर्दा १ सय १८ जना पोजेटिभ भएका छन्। बागेश्वरी ल्याबमा १ सय ४० को परिक्षण गर्दा ९३ जनालाई संक्रमण भएको छ। जमुनाहास्थित हेल्थ डेस्कमा ६९ जनाको परिक्षण गर्दा १४ जनालाई संक्रमण देखिएको केन्द्रले जनाएको छ।
बाँकेमा अहिलेसम्मको कुल पोजेटिभ संख्या ७ हजार १ सय ९७ पुगेको छ। यसमध्ये ४ हजार ४ सय पुरुष र २ हजार ७ सय ९७ महिला रहेका छन्। अहिलेसम्म ४ हजार ९ सय ९१ जना डिस्चार्ज भएका छन्।
भेरी अस्पतालमा शनिबार बेलुकीसम्म ९८ जना पुरुष र ८३ महिला गरी १ सय ८१ जना संक्रमित भर्ना भएका छन्। यसमध्ये ५७ जना सिकिस्त छन्। मेडिकल कलेजको शिक्षण अस्पतालमा ३१ पुरुष र २४ जना महिला गरी ५५ जनाले उपचार गराइरहेका छन्। त्यसमध्ये २६ जना संक्रमित सिकिस्त रहेका छन्। होटल ह्वाईट हाउसमा ३३ पुरुष र ६ महिला गरी ३९ जना छन्। कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा ९ जना पुरुष रहेका छन्। यसमध्ये ३ जना सिकिस्त रहेको बताइएको छ। यस्तै होम आइसोलेशनमा १ हजार ६८ पुरुष तथा ९ सय १२ महिला गरी १ हजार ९ सय ८० जना बसिरहेका छन्। बाहिरी जिल्लाबाट बाँकेमा १ सय ३६ जनाले उपचार गराइरहेका छन्।
प्रकाशित: १२ वैशाख २०७८ ०५:३० आइतबार