९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बिरामीलाई बेड अभाव, अक्सिजन पुर्‍याउनै हम्मे

कोरोना संक्रमित अत्यधिक रूपले बढेपछि नेपालगन्जका अस्पतालले बिरामीको चाप थेग्नै गाह्रो भएको छ। संक्रमितको संख्या दैनिक रूपमा बढिरहँदा पनि अस्पतालमा कोभिड बेड संख्या थपिएका छैनन्। जसले गर्दा अवस्था झन् भयावह बनेको छ। सरकारसँग यहाँका चिकित्सक, स्वास्थ्यकर्मी, नागरिक अगुवाले कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा विशेष प्राथमिकता दिन आग्रह गरिरहेका छन्।

कोरोना नियन्त्रण र व्यवस्थापनको नेतृत्व कस्ले गर्ने भन्नेमै अन्योल देखिएको छ। दस दिनअघि मात्र सरुवा भएर जिल्ला आएका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल आफैं अलमलमा छन्। बाँके जिल्लाबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद्को कुनै प्रतिक्रिया छैन। अघिल्लो वर्ष कोरोना नियन्त्रण र ब्यवस्थापन कार्यमा निकै तात्तेका स्थानीय तहका जनप्रतिनिधी यसपटक सेलाएको जस्तो देखिन्छ।  

जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई पनि चिन्ता र चासो देखिँदैन। बरु यहाँका चिकित्सक, स्वास्थ्यकर्मी, नागरिक समाजले कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पहल गरिदिन चित्कार गरिरहेका छन्। तर, उनीहरूको चित्कार सरकारले सुनेको छैन। संक्रमण नियन्त्रण तथा व्यवस्थापनको काम सुस्ताएको भन्दै आम नागरिकले आक्रोश पोखिरहेका छन्।  

उपचारका लागि अस्पतालमा पुग्ने गरेका कोरोना संक्रमित बेड नपाएर छट्पटाउनु परेको छ। कोभिड बेड अभावका कारण अस्पतालले संक्रमित बिरामीलाई भर्ना गर्न सकेका छैनन्। भेरी अस्पतालमा रहेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएको छ। संक्रमितको चाप अत्यधिक बढेपछि भेरी अस्पतालले शुक्रबार अस्पतालको अन्य वार्डमा पनि बिरामी भर्ना गरेको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ६५ बेड क्षमताको कोभिड वार्ड पूरै भरिभराउ भइसकेको छ। कोरोना संक्रमितको उपचार गरिरहेका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको अवस्था निकै दयनीय र दर्दनाक बनेको छ। सर्बसाधारणले संघ, प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्दै बाँकेका सबै स्थानीय तहमा कम्तिमा ५० बेड क्षमताको अक्सिजनसहितको कोभिड वार्ड स्थापना गर्नुपर्ने, भेरी र मेडिकल कलेजसहितका अस्पतालमा पनि कोभिड बेड बिस्तार गर्नुपर्ने माग गरेका छन्।  

२४ घण्टाभित्र ८ जनाको मृत्यु

दैनिक रूपमा संक्रमितको संख्या बढ्नु र मृत्यदुर थपिनु अहिले यहाँ सामान्य जस्तै भइसकेको छ। कोरोना संक्रमितको संख्या अत्यधिक रूपले बढिरहेको बाँकेमा मृत्युदर दैनिक रूपमा बढिरहेको हो। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाभित्र थप ७ जनाको मृत्यु भएको छ। नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकलमा उपचारका क्रममा मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ।  

यहाँका प्रयोगशालाबाट दैनिक ठूलो संख्यामा संक्रमित फेला पर्ने गरेका छन्। शुक्रबार मात्रै २४ घन्टाभित्र ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको थियो। कुल ७ सय ५१ वटा स्वाब परीक्षण गर्दा ६ सय ३८ जनामा संक्रमण देखिएको हो। भेरी अस्पतालको प्रयोगशालामा ५ सय ४५ वटा स्वाब परिक्षण गर्दा ४ सय ९८ जनालाई कोरोना पुष्टि भएको छ। नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा १ सय ७ वटा स्वाब परीक्षण गर्दा ७३ जनालाई संक्रमण देखिएको छ। बागेश्वरी ल्याबमा ७४ वटा परीक्षण गर्दा ५९ जनालाई संक्रमण पुष्टि भएको छ। जमुनाहास्थित हेल्थडेस्कमा २५ को परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

जिल्लाका अस्पतालमा कोभिड बेड बढाउन संघ, प्रदेश र स्थानीय सरकार मौन बस्दा बिरामीलाई थेग्न गाह्रो भइरहेको स्वास्थ्यकर्मीको गुनासो छ। नेपालगन्ज मेडिकल कलेजका उप–निर्देशक डा. दिनेश श्रेष्ठका अनुसार कलेजसँग बिहीबारसम्म ३० बेडको आइसियु र ३५ बेड क्षमताको कोभिड जनरल वार्ड रहेकोमा संक्रमितले पूरै भरिएको छ। ‘बिरामीको चाप बढेपछि ३० बेडको आइसियु र ७० बेड क्षमताको कोभिड जनरल वार्ड आज बनाउँदैछौं, सबै बेडमा अक्सिजनको पाइप लाईन जडान कार्य भइरहेको छ,’ उनले भने ‘बेड खाली नहुँदा संक्रमितको उपचार गर्न निकै समस्या भएको छ।’ बेड खाली नहुँदा कतिपय बिरामीलाई भर्ना गर्न समेत अप्ठ्यारो भइरहेको श्रेष्ठले बताए।  

संक्रमितको चाप नरोकिएपछि भेरी अस्पतालले शुक्रबारबाट बिरामीलाई अन्य वार्डमा भर्ना गरेको छ। अस्पतालका एनेस्थेसिओलोजिष्ट डा. पारश पाण्डेले १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएपछि संक्रमित बिरामीलाई अन्य वार्डमा पनि भर्ना गरिएको बताए। उनका अनुसार शुक्रबार उक्त अस्पतालमा १ सय ६३ जना बिरामी भर्ना छन्। ‘कोभिड वार्ड पूरै भरियो, बिरामी जबरजस्ती आएर ढोकामा सुतिदिन्छन्, त्यसकारण ननकोभिड वार्डमा उनीहरूलाई भर्ना गरेका छौं,’ उनले भने। संक्रमितमध्ये करिब १२ जना जति अस्पतालकै स्वास्थ्यकर्मी रहेको पाण्डेले बताए। उनका अनुसार भर्ना भएकामध्ये ६५ जना जति संक्रमितलाई नियमित रूपमा अक्सिजन चढाइएको छ। ‘त्यसमध्ये ३० जना जति बिरामी सिरियस छन्, १० जना त बाँच्ने स्थितीमै छैनन्,’ पाण्डेले भने।  

अस्पतालमा संक्रमित बिरामीलाई एकातिर बेड अभाव भइरहेको छ, भने अर्कोतिर अस्पतालमा भर्ना भएका बिरामीलाई अक्सिजन नियमित रूपमा पु¥याउन हम्मे परिरहेको छ। मेडिकल सुपरिटेन्डेण्ट डा. प्रकाश थापाले बिरामीको चाप अत्यधिक रूपले बढेका कारण अक्सिजनको मात्रा पनि धेरै खपत भइरहेको बताएका छन्। ‘बिरामीको चाप अझ बढ्दै जाने हो अक्सिजन पुर्याउन पनि हामीलाई कठिनाई हुन सक्छ, दिनहुँ संख्या बढ्दा अक्सिजनको मात्रा पनि बढिरहेको छ, अरू अस्पतालमा पनि खपत बढ्न थाल्यो भने त अक्सिजन उद्योगले पनि थेग्न गाह्रो होला,’ उनले भने। नयाँ भेरियन्टका रूपमा देखा परेको कोरोना भाइरस संक्रमितलाई अक्सिजन अत्यधिक मात्रामा आवश्यक परिरहेको चिकित्सक बताउँछन्।

विद्युत् आ नहुँदा उद्योगले अक्सिजन दिन नसकेपछि भेरी अस्पतालमा बिहीबार दिउँसो केहीबेर अक्सिजन अभाव भएको थियो। अस्पतालमा भर्ना भएका संक्रमितका लागि अचेल दैनिक रूपमा २ सय ५० देखी ३ सय वटा सिलिण्डर खपत भइरहेको मेसु थापाले जानकारी दिए। अस्पतालका कोभिड वार्डका सबै १ सय ४२ बेड पूर्ण रूपमा भरिभराउ भइसकेको र अस्पतालले थेग्नै गाह्रो भइरहेको उनले बताए। ठाउँ अभावका कारण कोभिड बेड थप गर्न सक्ने स्थिति नरहेको अस्पतालले जनाएको छ।  

नागरिक अगुवाको गम्भीर ध्यानाकर्षण

नेपालगन्जमा कोरोना संक्रमणका कारण देखिएका समस्या र यसले निम्त्याएको संकट समाधान गर्न नेपालगन्जस्थित स्वास्थ्यकर्मी, पत्रकार, कानून व्यवसायी, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवाले गम्भीर ध्यानाकर्षण गराएका छन्। नेपाल पत्रकार महसंघ बाँकेको संयोजनमा शुक्रबार बसेको बैठकले यस्तो ध्यानाकर्षण गराएको हो। कोरोना संक्रमणका कारण देशले भोग्दै आइरहेको संकट र यसको समाधानका लागि सबै क्षेत्रको दायित्व र भूमिका महत्वपूर्ण हुने भन्दै बैठकले १३ बुँदे सार्वजनिक अपिलसमेत जारी गरेको छ। बैठकले उक्त अपिलमार्फत केन्द्रबाट तत्काल दक्ष जनशक्ति खटाउने व्यवस्था मिलाउनुपर्ने, गम्भीर र सामान्य बिरामी राख्न छुट्टाछुट्टै आइसोलेसन केन्द्रको व्यवस्था मिलाउनुपर्ने, अक्सिजनको अभाव हुन नदिने, एकद्वार प्रणालीबाट बिरामीको भर्ना र उपचारको व्यवस्था मिलाउने, कोभिड हटलाइन नम्बर राखी सूचना प्रणालीलाई प्रभावकारी बनाउने, कोभिड फोकल पर्सनको भूमिका प्रभावकारी हुनुपर्ने, व्यवस्थापन पक्ष प्रभावकारी हुनुपर्ने सुझाव दिएको छ।

यस्तै सेन्ट्रल कोभिड कमान्ड प्रणालीको विकास गरिनुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने, कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसिआर परीक्षणको ब्यवस्था मिलाउने, महामारीको बेलामा स्थानीय सरकारको भूमिका अझ प्रभावकारी हुनुपर्ने, सीमा नाका हुँदै नेपाल भित्रिएका नागरिकको कोभिड–१९ को संक्रमण भए र नभएको सुनिश्चितताका लागि आवश्यक परीक्षण गर्नुपर्ने, स्थानीय तहमा आवश्यक संख्यामा स्वास्थ्य मापदण्डसहितका क्वारेन्टिन र आइसोलेसन केन्द्रहरू निमार्ण गर्न आग्रह गरिएको छ। यसैगरी सार्वजनिक तथा भिडभाड हुने स्थानमा अनिवार्य रूपमा स्वास्थ्य मापदण्डको पालना गराउनुपर्ने तथा वृद्धवृद्धा, गर्भवती महिला, एकल महिला, बालबालिका, फरक क्षमता भएका ब्यक्ति, दीर्घरोगी, जेष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यकहरू तथा अति विपन्न वर्गलाई क्वारेन्टिन तथा आइसोलेसन केन्द्रमा प्राथमिकतामा राखेर उपचार गर्नको लागि पहल गर्न बैठकले अपील गरेको छ।

अपिल गर्नेमा नेपाल बार एशोसिएसनका वरिष्ठ उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशका प्रमुख भोला महत, उच्च अदालत बार नेपालगन्जका अध्यक्ष शिवकुमार श्रेष्ठ, एड्भोकेसी फोरमका प्रमुख बसन्त गौतम, नेपालगन्ज मेडिकल कलेजका सहायक प्राध्यापक डा. आसिम किदवाई, नेपालगन्ज मेडिकल कलेजका उप–निर्देशक डा. नितेशकुमार कनोडिया, वेस्टर्न अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापा, उच्च अदालत बार नेपालगन्जका निवर्तमान अध्यक्ष विकाश आचार्य र भेरी अस्पताल व्यवस्थापन समितिका सदस्यप्रसाद कृष्ण श्रेष्ठ रहेका छन्।

प्रकाशित: १२ वैशाख २०७८ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App