coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालमा एकैरातमा थप ४ संक्रमितको मृत्यु

नेपालगन्जको भेरी अस्पतालमा भर्ना भएका संक्रमित मध्ये एकैरातमा ४ जनाको मृत्यु भएको छ । मृतक सबै बाँकेवासी हुन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० निवासी ६१ वर्षीया महिलाको मृत्यु भएको हो । कोरोना पोजेटिभ आएपछि यही बैशाख ८ गते भर्ना भएकी उनको शुक्रबार राती सवा १ बजेतिर मृत्यु भएको हो ।

यस्तै सोही अस्पतालमा नेपालगन्ज त्रिभुवन चोक निवासी ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना पोजेटिभ भएपछि बैशाख ९ गते अस्पतालमा भर्ना भएका उनको शुक्रबार राती सवा ९ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । यसैगरी भेरी अस्पतालमै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ निवासी ८४ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना पोजेटिभ भएपछि बैशाख ७ गते अस्पतालमा भर्ना भएका उनको शुक्रबार साँझ ७ बजे मृत्यु भएको हो ।

- पछिल्लो २४ घण्टाभित्र ४ सय ८८ जना नयाँ संक्रमित फेला ।

- बाँके जिल्लाका मृतक संख्या ७६ पुग्यो ।

- बाँकेमा अहिलेसम्मको कुल पोजेटिभ संख्या ६ हजार ८ सय ५० पुग्यो ।  

त्यस्तै सोही अस्पतालमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ निवासी ७५ वर्षीया महिलाको पनि मृत्यु भएको छ । परिवारका अनुसार कोरोना पोजेटिभ भएपछि उनलाई श्वासप्रश्वासमा समस्या आएको थियो । त्यसपछि उनलाई बैशाख २ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार हुन नसकेपछि शुक्रबार बेलुकी सवा ६ बजेतिर मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।  

मृतकको शवलाई नेपाली सेना, परिवारका सदस्य तथा जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले ब्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए । यो सँगै कोरोना संक्रमणबाट बाँके जिल्लाका मृतकको संख्या ७६ पुगेको छ । कोरोेना संक्रमणका कारण बाँकेमा जिल्ला बाहिरका ब्यक्तिको मृत्यु हुनेको संख्या १ सय रहेको केन्द्रले जनाएको छ ।

बाँकेमा पछिल्लो २४ घण्टाभित्र ४ सय ८८ जना नयाँ संक्रमित फेला परेका छन् । कुल ७ सय १९ वटा स्वाब परीक्षण गर्दा ६८ प्रतिशतलाई संक्रमण पुष्टी भएको हो । पुष्टी भएका संक्रमित मध्ये ३ सय ८८ जना बाँके निवासी हुन् । ‘यसमध्ये २ सय १२ जना पुरुष र १ सय ७६ जना महिला छन्,’ फोकल पर्सन ओलीले भने ।  

भेरी अस्पतालमा २ सय ६९ जनाको परीक्षण गर्दा २ सय ५० जनालाई कोरोना पोजेटिभ देखिएको छ । नेपालगन्ज मेडिकल कलेजमा २ सय ८६ स्वाब परीक्षण गर्दा १ सय ५५ जना पोजेटिभ भएका छन् । बागेश्वरी ल्याबमा १ सय १० वटा स्वाब परीक्षण गर्दा ७३ जनालाई पोजेटिभ देखिएको छ । जमुनाहास्थित हेल्थडेस्कमा ५४ वटा परीक्षण गर्दा १० जनालाई पोजेटिभ आएको केन्द्रले जनाएको छ ।  

बाँकेमा अहिलेसम्मको कुल पोजेटिभ संख्या ६ हजार ८ सय ५० पुगेको छ । यसमध्ये ४ हजार २ सय १४ पुरुष र २ हजार ६ सय ३६ महिला रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ । अहिलेसम्म ३ हजार १ सय ६० पुरुष र १ हजार ७ सय ९४ महिला गरी कुल ४ हजार ९ सय ५४ जना डिस्चार्ज भएका छन् । ‘पछिल्लो समयमा पुष्टी भएका संक्रमितहरु भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, होटल ह्वाईट हाउस मनिकापुर, कोहलपुर नगरपालिकाको कोभिड अस्पताल र होम आइसोलेसनमा बसिरहेका छन्,’ फोकल पर्सन ओलीले भने ।

भेरी अस्पतालमा ८७ जना पुरुष र ७६ महिला गरी १ सय ६३ जना भर्ना भएका छन् । यसमध्ये ३७ जना सिकिस्त छन् । मेडिकल कलेजको शिक्षण अस्पतालमा ३४ पुरुष र २५ जना महिला गरी ५९ जनाले उपचार गराइरहेका छन् । त्यसमध्ये २६ जना संक्रमित सिकिस्त रहेका छन् । होटल ह्वाईट हाउसमा २७ पुरुष र ४ महिला गरी ३१ जना छन् । कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा ५ जना पुरुष र होम आइसोलेसनमा ९ सय ७० पुरुष तथा ७ सय ६९ महिला गरी १ हजार ७ सय ३९ जना बसिरहेका छन् ।  

यस्तै बाहिरी जिल्लाबाट बाँकेमा १ सय ७३ जनाले उपचार गराइरहेका छन् । भेरी अस्पतालसँग १ सय ४२ क्षमताको कोभिड वार्डमध्ये ९५ बेड जनरल(कोभिड), ४० आईसियु र ७ वटा भेन्टिलेटरसहित बेड उपलब्ध रहेको छ । संक्रमित बिरामीको चाप बढेपछि शुक्रबारबाट कोभिड वार्ड बाहेक अन्य वार्डमा पनि भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ  ।

अस्पतालका एनेस्थेसिओलोजिष्ट डा. पारश पाण्डेले १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएपछि संक्रमित बिरामीलाई अन्य वार्डमा पनि भर्ना गरेर उपचार गरिएको जानकारी दिए । उनका अनुसार शनिबारसम्म उक्त अस्पतालमा १ सय ६३ जना बिरामी भर्ना छन् । ‘कोभिड वार्ड पूरै भरियो, बिरामी जबर्जस्ती आएर ढोकामा सुतिदिन्छन्, त्यसकारण ननकोभिड वार्डमा पनि उनीहरुलाई भर्ना गरेका छौं,’ पाण्डेले नागरिकसँग भने ।

प्रकाशित: ११ वैशाख २०७८ ०६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App