५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बालबालिकामा कोरोना संक्रमण बढ्यो

नेपालमा दोस्रो लहरको कोरोना संक्रमण फैलिसकेको र विद्यालयमा मापदण्ड पालना नहुँदा १० देखि १८ वर्षभित्रका बालबालिकामा संक्रमण तीव्र रूपमा फैलिइरहेको कान्ति बाल अस्पतालका निर्देशक डा.आरपी बिच्छाले बताए। उनका अनुसार हालसम्म कान्ति बाल अस्पतालमा मात्र कोरोना संक्रमणको कारण २२ जना भर्ना भइसकेका छन् भने। भर्ना भएका दुईजना बालबालिकाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको डा.बिच्छाले जानकारी गराए। गत चौविस घन्टामा ४८ जना १० देखि १८ वर्षभित्रका बालबालिका छन्। हालसम्म यो उमेर समुहका २२ जनाको मृत्यु भइसकेको छ।  

हाल कोरोना संक्रमित ३ बालबालिकाको कान्ति बाल अस्पतालमै मृत्यु भइरहेको छ। बालबालिकामा फैलिएको संक्रमण समुदायमा संक्रमणको बाहक हुने भएकोले थप जोखिम बढेको डा.बिच्छाले बताए। यसको साथै नयाँ युके भ्यारियन्टको संक्रमण बालबालिका र युवामा समेत देखिएको उनले बताए। ‘यस्तो अवस्था बिद्यालयमा सुरक्षाका मापदण्ड पालना नहुँदा भएको हो, विद्यालय धेरैजना एकै ठाउँमा बस्ने स्थल हो,’ उनले भने। सोही क्रममा उनले बालबालिकामा रोगसित लड्ने प्रतिरक्षा क्षमता पनि कमजोर हुने भएकोले कोरोनाको असर थप पर्न सक्ने बताए।

बालबालिकामा धेरै संक्रमण हुँदा सिकिस्त हुने संख्या बढ्ने र समुदायमा छिटो फैलिने भएकोले यही अवस्थामै नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको शुक्रराज सरुवा रोग अस्पतालका प्रवक्ता तथा छाला रोग विशेषज्ञ डा. अनुप बास्तोलाले बताए। ‘सिकिस्त हुने संख्या बढ्न सक्छ, अर्कोतिर उनीहरूबाट समुदायमा छिटो फैलिन्छ,’ उनले भने। अहिलेको अवस्थामै सुरक्षाका मापदण्ड अपनाएमा नियन्त्रण गर्न सकिने उनको सुझाव छ। यसको लागि सरकारले दिएको निर्देशनअनुसार विद्यालयहरूले केही समयका लागि दूरशिक्षा प्रणालीबाट पठनपाठन गराउनुपर्ने डा. बास्तोलाले बताए।  

संक्रमणदर १२.७ प्रतिशत

दैनिक वृद्धि हुँदै गएको कोरोना संक्रमण दर गत चौबिस घन्टामा अघिल्लो दिनको तुलनामा २ प्रतिशतले वृद्धि भई १२.७ प्रतिशत पुगेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चौबिस घन्टामा परिक्षण भएका मध्येमा ४७ सय ४० जना मध्येमा ६ सय ३ जना संक्रमित भएका हुन्। तीमध्येमा दुई जनाको संक्रमणको कारण मृत्यु भएको छ भने चौबिस घन्टामा थप तीनजनाको मृत्यु कोरानाको कारण पुष्टि भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६१ पुगेको छ।

संक्रमितहरूमा हालसम्म ५ सय ५७ जना सीमा नाकाबाट प्रवेश गरेका मात्र छन्। संक्रमितमध्येमा १ सय ७ जना संस्थागत आइसोलेसनमा, ३३ जना आइसियुमा र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। थप संक्रमितसहित नेपालमा हालसम्म २ लाख ८१ हजार ५ सय ६४ जनामा संक्रमण पुष्टि भइसकेको छ। दैनिक बृद्धि हुँदै गएको संक्रमणदरको कारण जनजीवनमा थप असर पर्ने चेतावनी स्वास्थ्य विज्ञहरूले दिएका छन्।  

बुधवार नियमति प्रेस ब्रिफिङमा बोल्दै फागुनको अन्तिम सातादेखि बढ्दै गएको संक्रमणदर वैसाखमा आइपुग्दा निरन्तर रूपमा बढिरहेको जनाउँदै यो प्रति हप्ता १ हजार भन्दा बढीको दरले बृद्धि हुँदै गएको बताए। छिमेकी राष्ट्र भारतमा संक्रमण दर उच्च रूपमा वृद्धि भइरहेकोले अब नेपालमा पनि सोही स्थितिमा जाने उनले बताए। भारतमा उच्च रूपमा वृद्धि भएको एक महिनापछि मात्र नेपालमा उच्च रूपमा संक्रमण फैलिने भएको र त्योअनुसार अहिलेको संक्रमण दरमा वृद्धि भएको इपिडिमियोलोजिष्ट डा. विराज कर्मचार्यले बताए।

प्रकाशित: २ वैशाख २०७८ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App