१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

वीरगन्जमा ह्वातै बढ्यो कोरोना, एकै दिन दुई जनाको मृत्यु

वीरगन्ज महानगरपालिका र आसपास क्षेत्रमा कोरोनाको संक्रमण फेरि बढ्न थालेको छ । २४ घण्टाभित्र यहाँ २ जना संक्रमतिको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । नारायणी अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ६२ वर्षीय पुरुष र बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।  

वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका ६२ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या भएपछि चैत्र २९ गते शनिबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । मंगलवार बिहान ८ बजेर २० मिनटमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताल भर्ना भएका उनमा कोरोनाजस्तो लक्षण देखिएपछि आइतबार पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । भारतको राजधानी नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिन अगाडिमात्रै फर्किएका थिए ।  

खोकी र ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । त्यसतै बाराका कोरोना संक्रमितको मंगलबार बिहान साढे ३ बजे मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए । डा. सिंहका अनुसार मृतकको फाक्सोमा कोभिडका कारण निमोनिया फैलिएको थियो भने खोकी, ज्वरो र मुखबाट रगत निस्किने समस्या पनि देखिएको थियो । शरीरमा अक्सिजनको स्तर खस्केपछि ‘हाई फ्लो अक्सिजन’ दिँदासमेत स्तर बढेन । उनी भारतको हैदरावादबाट होली पर्व मनाउन चैत १४ गते घर फर्किएका थिए । स्वास्थ्य बिग्रिएपछि चैत २६ गते उनलाई वीरगन्जको एक निजी अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टिपछि चैत ३० गते राति पौने १ बजे उनलाई नारायणी अस्पताल पुर्याइएको थियो । नारायणी अस्पतालमा अरु ७ जना कोरोना संक्रमितलाई ‘अक्सिजन सपोर्ट’मा राखेर आईसीयूमा राखेर उपचार चलिरहेको डा. दासले जानकारी दिए । यसमा २२ वर्षदेखि ७२ वर्ष उमेर समूहका ब्यक्तिहरु रहेका छन् ।  

पर्सामा ह्वातै बढ्यो कोरोना  

पर्सामा कोरोनाको संक्रमण पुनः ह्वातै बढ्न थालेको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा सोमबार ९५ जनाको थ्रोट स्वाबको नमुनालाई पिसिआर परिक्षण गर्दा ४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भयो । यसमध्ये ३७ जना पर्सा र अन्य ३ जना बारा जिल्लाको बासिन्दा हुन् । पर्सामा लगभग ६ महिनापछि यसरी एकै दिनमा यति संक्रमित थपिएका हुन् । यसअघि आइतबार ६२ जनाको पिसिआर परिक्षण गर्दा पर्साका २३ जनामा संक्रमण पुष्टि भएको थियो । एक सातामा नारायणी अस्पतालमा गरिएको परीक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । अस्पतालका अनुसार पर्सामा थपिएका मध्ये धेरैजसो संक्रमित वीरगन्जकै हुन् ।  

प्रकाशित: ३१ चैत्र २०७७ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App