१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

द्वन्द्वपीडितलाई निःशुल्क स्वास्थ्य बिमा

पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिकाले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वको समयमा पीडित बनेकालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ। मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमको स्वीकृत कार्यक्रमअन्तर्गत लक्षित वर्गलाई स्वास्थ्य बिमा सुरु गरिएको हो। यो सेवा राज्य पक्ष र विद्रोही दुवै पक्षका पीडितले लिन पाउनेछन्।

गाउँपालिकाका अनुसार मृतक परिवार, बेपत्ता परिवार, यौन हिंसा पीडित र द्वन्द्वमा परी अपांगता भएकालाई लक्षित गर्दै कार्यक्रम ल्याइएको छ। हाललाई सय परिवारलाई निःशुल्क स्वास्थ्य बिमाको योजना ल्याइएको भए पनि त्यो संख्या थप गर्न सकिने गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले बताए। ‘निःशुल्क स्वास्थ्य बिमाले पछि मुलुकको परिवर्तनका लागि योगदान दिएकाका परिवारलाई समेत स्वास्थ्योपचारमा सहयोग पुग्ने विश्वास छ,’ उनले भने।

महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाजको सहकार्यमा सञ्चालित ‘महिला शान्ति र सुरक्षा’ परियोजनाको संवाद कार्यक्रममा सहभागी द्वन्द्वपीडितले जनप्रतिनिधिसमक्ष निःशुल्क स्वास्थ्य बिमाका लागि अनुरोध गरेपछि रोल्पाका केही स्थानीय तहका प्रमुखहरूले निःशुल्क स्वास्थ्य बिमाको प्रतिबद्धता गरेका थिए। द्वन्द्वमा परी रोल्पामा ९ सय ६९ जनाको मृत्यु र ३३ जना बेपत्ता भएको आधिकारिक तथ्यांक छ।

प्रकाशित: १२ चैत्र २०७७ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App