२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

फेरि फैलिँदै कोरोना संक्रमण

‘फैलावट तीव्र भए लकडाउन हुन सक्छ’

भारतमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि नेपालमा फैलिन नदिन वीरगन्ज नाकामा सतर्कता अपनाएर टाँगामा यात्रुको परीक्षण गरिँदै । तस्बिर : रासस

छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरूमा कोरोना संक्रमण तीव्र भएको छ। यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ। केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार आमजनतालाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयले संक्रमण दर उच्च हुँदै गए लकडाउनसम्म हुन सक्ने संकेत गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण दर उच्च भएमा लकडाउनसमेत हुन सक्ने भन्दै आमजनतालाई सतर्क हुन आग्रह गरेका छन्। ‘संक्रमण दर उच्च भए त्यसको चेन बे्रक गर्न लकडाउन पनि गर्नुपर्ने अवस्था आउन सक्छ। अन्य अवस्थामा जनस्वास्थ्य मापदण्ड अपनाएर नियमित काम जारी राख्नुपर्छ’, उनले भने। उनले होली पर्व पनि सामाजिक दूरी कायम गरी मनाउन आग्रह गरे।  

भारतमा संक्रमण बढेका कारण नेपालले सतर्कता अपनाएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए। ‘भारतबाट आउने केहीमा पोजेटिभ पनि देखिएको छ, सीमानाकामै जाँच गरेर हामीले नियन्त्रणको प्रयास गरिरहेका छौं’, उनले भने।

भारतमा संक्रमण बढ्दा नेपालमा पनि बढेको अनुभव छ। ‘भारतमा कोरोना संक्रमित बढ्दा नेपालमा पनि बढेको विगतको अनुभव छ। त्यसैले अहिले पनि थप सचेत हुनुपर्छ। भारतमा संक्रमण र मृत्युदर दुवै बढ्दै गएको छ,’ सरुवा रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले भनिन्। नेपालको सीमावर्ती भारतका पश्चिम बंगाल, उत्तर प्रदेश र बिहार राज्यमा कोरोना संक्रमण दर बढेकाले पनि नेपाल उच्च जोखिममा रहेको उनले बताइन्।  

यसअघि कोरोना महामारीले विश्वभरि वृद्ध तथा दीर्घरोगीलाई विशेष असर गरेकाले यो समूहलाई सजग रहन मन्त्रालयले आग्रह गरेको छ। सबैले पूर्ण खोप नलिएसम्म कोरोना संक्रमणको जोखिम रहन्छ। मन्त्रालयले सभा, सम्मेलन, जमघटजस्ता कार्यक्रम नगर्न र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न सबैलाई अनुरोध गरेको छ। तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेमा ४० प्रतिशत उच्च रक्तचाप, ३६ प्रतिशत श्वासप्रश्वास र बाँकी अन्य रोगका बिरामी छन्। नसर्ने दीर्घरोग भएकामा यसको असर बढी मात्रामा परेको मन्त्रालयले जनाएको छ।  

मधुमेह नभएका व्यक्तिको तुलनामा भएकामा कोरोनाको असर दुई गुणा बढी परेको तथ्यांक छ। यस्तै असर दम, मुटु, श्वास–प्रश्वास, उच्च रक्तचाप, क्यान्सर र अन्य रोगीमा समेत देखिन्छ। दोस्रो चरणको कोरोना महामारी फैलिने सम्भावना बढी भएकाले दीर्घरोगी र वृद्धवृद्धा बढी सतर्क हुनुपर्ने डा. श्रेष्ठले बताइन्।  

नेपालमा एकडेढ महिनायता संक्रमण नियन्त्रण उन्मुख थियो। तर एक सातायता संक्रमण दर दैनिक डेढ सयदेखि २ सयको हाराहारीमा पुगेको छ। बुधबार काठमाडौं उपत्यकामा ६३ जनासहित १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार यो संख्या १८० थियो। अहिले मुलुकमा एक हजार १८२ जना सक्रिय संक्रमित छन्। संक्रमित २१३ जना संस्थागत आइसोलेसनमा र ९६९ जना होम आइसोलेसनमा छन्। हालसम्म मुलुकमा २ लाख ७६ हजार २८९ जना संक्रमित भएकोमा तीन हजार २० जनाको मृत्यु भएको छ।

स्वास्थ्य मापदण्ड उल्लंघन गरे कारबाही

भक्तपुर संवाददाता कृष्ण किसीका अनुसार जिल्ला प्रशाशन कार्यालय भक्तपुरले कोरोना जोखिमबाट बच्न मेला, जात्रा, सांस्कृतिक कार्य नगर्ननगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ। तर चैत २८ देखि वैशाख ५ गतेसम्म चल्ने बिस्केट जात्रा भने नरोक्ने कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बुधबार आयोजित पत्रकार सम्मेलनमा यस्तो आग्रह गरेका हुन्। उनले कोभिड संक्रमणको जोखिमबाट बच्न नजिकिँदै गरेको होली पर्व पनि स्वास्थ्य मापदण्ड अपनाएर मात्र मनाउन अनुरोध गरे। उनले यो वर्षको बिस्केट जात्रा नरोकिने तर स्वास्थ्य मापदण्ड अपनाएर मात्र जात्रा चलाइने बताए। कोभिडका कारण गत वर्ष बिस्केट जात्रा रोकिएको थियो। गत वर्ष रोकिए पनि यो वर्ष नरोकिने प्रजिअ भट्टराईले बताए। उनले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई संक्रमण रोग, २०२० बमोजिम कारबाही हुने जानकारी पनि गराए।

प्रकाशित: १२ चैत्र २०७७ ००:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App