७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

रसुवामा आँखा केन्द्र र बिरामी बीचको दूरी घटाउन सेवा विस्तार

रसुवाको कालिकास्थानमा सञ्चालन गरिएको शल्यक्रियासहितको आँखा शिविर । तस्बिर: नागरिक

रसुवामा आँखा केन्द्र र बिरामी बीचको दूरी घटाउनका लागि सेवा विस्तार गर्दै लगिएको छ। रसुवा सामुदायिक आँखा केन्द्रले केन्द्र र आँखाको बिरामी बीचको दूरी घटाउन सेवा विस्तार थालेको हो।  

सुरुमा सदरमुकाम धुन्चेबाट सेवा प्रवाह गर्दै आएको केन्द्रले गत वर्षदेखि कालिकास्थानबाट समेत नियमित सेवा थालेको थियो। पछिल्लो समय केन्द्रले विभिन्न गाउँपालिकासँगको सहकार्यमा वडावडामा पुगेर शिविर सञ्चालन गर्ने कार्यलाई समेत तीव्र पारेको छ।  

जिल्लास्थित कालिका, गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाको विभिन्न वडामा पुगेर आँखा जाँच गर्ने, चस्मा वितरण गर्ने तथा मोतिविन्दुको शल्यक्रिया गर्ने काम गरिएको केन्द्रका प्रमुख सुपेन्द्र ताम्राकारले बताए। उनका अनुसार अब केही महिनामा जिल्लामै कम्प्युटर प्रणालीबाट आँखा जाँच कार्य सुरु गरिने छ। केन्द्रले सेवा विस्तार गर्दै गएपनि बिरामीको पहुँच भने अझै पुग्न नसकेको तथ्यांकले देखाउँछ।  

आँखा केन्द्रकैे तथ्यांक हेर्ने हो भने हाल जिल्लामा १२ हजार ९ सय ९० जना सामान्य तथा जटिल प्रकारका आँखाका बिरामी छन्। तथ्यांक अनुसार दृष्टिकम भएका ५ हजार १ सय ९६, ४० वर्ष कटेका नजिकको दृष्टिदोष भएका ४ हजार १ सय ५६ र मोतिविन्दु भएका ५ सय ९ बिरामी देखिएका छन्।  

जिल्लामा रहेका कुल बिरामीमध्ये ६ सय ६१ जनाको मात्र पहुँच पुगेको देखिन्छ। अर्थात् १२ हजार २ सय ९९ ले अझै सेवा पाएका छैनन्। दृष्टिकम भएका ३ सय ३०, ४० वर्ष कटेका नजिकको दृष्टिदोष भएका ६३ जना मात्र स्वास्थ्यको पहुँचमा पुगेको देखिन्छ। जिल्लामा आँखाको बिरामीको संख्या थपिँदै गएकोले सेवा दिन कठिन भएको हो। केन्द्रका अनुसार जिल्लामा प्रतिवर्ष २ सय २८ जना आँखाका बिरामी थपिने गरेका छन्। मोबाइल, कम्प्युटर लगायतका आधुनिक सामग्रीको प्रयोग, धुलोधुवा, चोटपटक लगायतका कारण आँखाका बिरामी थपिँदै गएका हुन्।

जिल्लामा सन् २००७ मा रसुवा सामुदायिक आँखा केन्द्र्रको स्थापना भएको हो। त्यसभन्दा अघि आँखा सम्बन्धी समस्या भएमा घरेलु उपचार गर्ने र जटिल भएको खण्डमा नुवाकोट वा काठमाडौं जानुपर्ने बाध्यता थियो। जिल्लामा नै केन्द्र स्थापना भएपछि आँखाका बिरामी आउने क्रम बिस्तारै बढ्न थाल्यो।  

भौगोलिक विकटता, सडक मार्गको पहुँच नभएको र आँखाको उपचार सम्बन्धी जानकारी नहुँदा सेवा दिन कठिनाइ भएपछि प्रत्येक शुक्रबार कालिकास्थानमा स्याटेलाइट शिविर सञ्चालन गर्न थालियो। गतवर्षदेखि कालिकास्थानबाट पनि नियमित सेवा सुरु भयो। केन्द्रले सन् २०२० मा ६ सय ९१ बिरामीलाई उपचार सेवा दिएको छ। केन्द्रले राखेको वार्षिक लक्ष्यको तुलनामा १० प्रतिशत बढी हो।  

सन् २०२० मा ६ सय २८ जना बिरामीलाई उपचार गर्ने लक्ष्य थियो। कोभिड–१९ का कारण मोतिविन्दुका बिरामी छान्ने कार्य भने लक्ष्यको तुलनामा १५ प्रतिशत मात्र काम भएको छ। सन् २०२० मा ३ सय ७ जनालाई चस्मा वितरण, नजिकबाट हेर्न समस्या भएका ४० वर्ष नाघेका ६३ बिरामीको उपचार, ५ सय ६७ लाई औषधि वितरण र ५ सय ४८ लाई चस्मा दिएको छ।

प्रकाशित: ७ चैत्र २०७७ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App