५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य भवन निर्माणमा चरम ढिलासुस्ती

स्वास्थ्य चौकी भवन निर्माणमा चरम ढिलासुस्ती भएपछि खोटाङको साकेला गाउँपालिकाले ठेकेदारमाथि कारबाही गर्न माग गरेको छ। साकेला–५ मात्तिम बिर्तामा तीन वर्षमा निर्माण गरिसक्नुपर्ने स्वास्थ्य चौकीको भवन पाँच वर्षमा पनि पूरा नभएपछि गाउँपालिकाले ठेकेदार कम्पनी युएस–नाना जेभी नीलकण्ठ–३ धादिङलाई कारबाही गर्न माग गरेको हो।

स्वास्थ्य चौकीको भवन निर्माणको काम पूरा गर्न निर्माण कम्पनीलाई बारम्बार आग्रह र ताकेता गर्दा पनि बेवास्ता गरेको भन्दै गाउँपालिकाले कानुनी कारबाहीका लागि सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई फागुन २० गते पत्राचार गरेको छ। स्वास्थ्य चौकीको अधुरो काम शीघ्र पूरा गर्न लिखित र मौखिक आग्रह गर्दा र सचेत गराउँदा पनि ठेकेदार कम्पनीले बेवास्ता गरेकाले कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाउन सघन शहरी तथा भवन निर्माण आयोजनालाई पत्राचार गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए।

भवन निर्माणको काम पूरा गर्न निर्माण व्यवसायीलाई चारपटक पत्र पठाइसकिएको गाउँपालिकाले जनाएको छ। तोकिएको समयमा भवन निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको गाउँपालिका अध्यक्ष खड्काले बताए। तीन वर्षमा पूरा गर्नेगरी २०७२ कात्तिक २० गते सम्झौता गरिएको स्वास्थ्यचौकीको भवनको फिनिसिङ गर्न मात्र बाँकी छ। एक÷डेढ महिना समय दिए भवन तयार हुने अनुमान गरिएको छ।

२०७७ असार ३१ सम्म थप भएको म्याद सकिएपछि पुनः थप भएको ६ महिने म्याद पनि गत पुस २९ गते गुज्रिसकेको संघीय सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर विनोद सिंहले बताए। युएस–नाना जेभीले २ करोड १६ लाखमा स्वास्थ्य चौकीको भवन ठेक्का लिएको हो।

बैंक ग्यारेन्टी तान्न पत्राचार

स्वास्थ्यचौकीको भवन निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि साकेला गाउँपालिकाले पत्राचार गरेपछि सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले बैंक ग्यारेन्टी तान्ने प्रक्रिया थालेको छ।

ठेकेदार कम्पनीले सम्झौताअनुसारको काम नगरेको तथा हालसम्म पेस्की रकमको १८ लाख फस्र्यौट नगरेको भन्दै सघन शहरी तथा भवन निर्माण आयोजनाले प्राईम कमर्सियल बैंक लिमिटेड, कमलपोखरीलाई जमानत रकमबाट रकम भुक्तानीका लागि पत्राचार गरेको हो। आयोजना प्रमुख प्रकीर्ण तुलाधरले पठाएको पत्रमा ‘पेस्की रकममध्ये हालसम्म १८ लाख फस्र्योट हुन नसकेको उल्लेख गर्दै प्राइम कमर्सियल बैंकबाट जारी भएको बैंक जमानतबाट आयोजनाको नाममा रकम भुक्तानी गरिदिन’ भनिएको छ।

स्वास्थ्य चौकीको भवन निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा निर्वाचित भएलगत्तै आवाज उठाउन सुरु गरेको गाउँपालिका अध्यक्ष खड्काले बताए। ठेकेदारले स्वास्थ्य चौकीको भवन निर्माणको पेटी ठेक्का लिएका पेटी ठेकेदारलाई समेत पूरा भुक्तानी नदिएको बताइएको छ।

प्रकाशित: ५ चैत्र २०७७ ०१:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App