१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

रसुवामा २ हजार भन्दा बढी जेष्ठ नागरिकलाई खोप लगाइने

रसुवामा जेष्ठ नागरिकलाई खोप लगाउँदै स्वास्थ्यकर्मी । तस्बिर/नागरिक

रसुवामा २ हजार भन्दा बढी जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । दोस्रो चरण अन्तर्गत आइतबारदेखि ६५ वर्ष माथिका २ हजार १ सय ७० जेष्ठ नागरिकलाई खोप लगाइने भएको हो ।  

खोपको उपलब्धता र जोखिमको आधारमा जिल्लाको तीनवटा गाउँपालिकामा आइतबारदेखि नै खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए । आइतबार ७ वटा खोप केन्द्रबाट खोप लगाइने लगाउन सुरु गरिएको छ । सोमबारदेखि बाँकी दुईवटा गाउँपालिकामा पनि सुरु हुने छ । जिल्लामा भएका जेष्ठ नागरिकलाई पुग्ने गरी खोप आएको र केही छुट भएमा पुनः खोप आउने उनको भनाइ छ ।  

यसअघि अस्पतालमा खोप अभियान सञ्चालन गरिएको थियो । अहिले भने खोप केन्द्र स्थापना गरेर खोप अभियान सुरु गरिएको छ । जिल्लाको पाँचवटा गाउँपालिकामा ६१ वटा खोप केन्द्र तोकिएको छ । जसमा ३६ जना स्वास्थ्यकर्मी खटिने छन् । आवश्यकता अनुसार स्वास्थ्यकर्मीको संख्या बढाइने उनको भनाइ छ । पहिलो चरणमा सञ्चालन गरिएको खोप अभियानमा १ हजार ७ जनालाई कोरोना विरुद्धको खोप लगाइएको थियो ।  

रसुवा अहिले कोरोनामुक्त जिल्ला बनिसकेको छ । पछिल्लो समय कोरोनाको नयाँ संक्रमित फेला परेका छैनन् भने पहिले संक्रमित भएका सबै जना निको भइसकेका छन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा हालसम्म १ सय ८२ जनामा कोरोना पुष्टि भएकोमा सबै जना निको भएका हुन् ।  

हालसम्म गोसाइँकुण्ड गाउँपालिकामा ३५, आमाछोदिङ्मोमा १३, कालिकामा ५४, उत्तरगयामा ३७, नौकुण्डका २२ र बाहिरी जिल्लाका २१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जिल्लामा हालसम्म १ हजार ८ सय २६ वटा स्वाव संकलन गरिएकोमा १ हजार ६ सय ४ नेगेटिभ र १ सय ८२ पोजेटिभ आएको थियो  ।  

प्रकाशित: २३ फाल्गुन २०७७ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App