२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

अब इलाममै डाइलाइसिस सेवा

इलाम अस्पतालमा जडान गरिएको डाइलाइसिस मेसिन। तस्बिर : भीम चापागाईं/नागरिक

एकपछि अर्काे महत्वपूर्ण स्वास्थ्य उपकरण थपिरहेको इलाम अस्पतालमा बिरामीले अब डाइलाइसिस सेवासमेत पाउने भएका छन्। कतिपयलाई सातामै २ पटकसम्म आवश्यक पर्ने मृगौलाको डाइलाइसिस सेवा लिन यहाँका बिरामी झापा, विराटनगर, धरानलगायत सहरमा धाउनुपर्ने बाध्यता थियो।  

अब सदरमुकाममै डाइलाइसिस सेवा दिन इलाम अस्पतालनजिकै रहेको जिल्ला समन्वय समितिको नयाँ भवनमा ३ मेसिन एकैसाथ जडान गरिएको छ। डाइलाइसिस मेसिन आइतबार इलाम अस्पताललाई हस्तान्तरण गरिएको छ। १ बिरामीको डाइलाइसिस गर्न ४ घन्टा लाग्ने अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए। ‘अहिले ३ मेसिन जडान गरिएपनि २ वटामात्रै निरन्तर सञ्चालनमा रहन्छन्,’ खतिवडाले भने, ‘एउटालाई चाहिँ स्टेन्डबाई राखेर अकास्मात् अर्काेले काम नगरेका बेला चलाउने हो।’ २ मेसिनले दिनमा ४ जनालाई सेवा दिनसक्ने उनले जनाए।

मेसिन चलाउन १/१ जना हेल्थ असिस्टेन्ट र स्टाफ नर्सलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिन तालिम दिएपछि सेवा सुरु हुने उनले जनाए। धरानकै रोटरी इन्टरनेसनल र इलाम नगरपालिकालगायतको सहकार्यमा करिब ४३ लाख रुपैयाँ खर्चेर डाइलाइसिस मेसिन ल्याइएको हो। ‘डाइलाइसिस सेवा ज्यादै महŒवपूर्ण र आवश्यक भएपनि वर्षाैंदेखि अभाव थियो,’ गृहजिल्ला इलाम नै भएका रोटरी धरानका कृष्ण साहले भने, ‘अब इलाममात्र होइन, पाँचथर, ताप्लेजुङ, तेह«थुमलगायत जिल्लाका बिरामीले पनि यहाँबाट सेवा पाउनेछन्।’ व्यवस्थापनक खतिवडाले बिरामीलाई डाइलाइसिस सेवा निःशुल्क दिने लक्ष्य रहेको बताए।

इलाम अस्पतालमा केही समययता आधुनिक सुविधासहितका स्वास्थ्य उपकरण थपिँदैछन्। अस्पतालमा केही महिनाअघि भेन्टिलेटर मेसिन ल्याइएको छ भने २ थान बाइप्याप पनि सञ्चालनमा छन्। अस्पतालका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराललले बिरामीको सुविधालाई मध्यनगर गरी अस्पताललाई आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन भइरहेको बताए। ‘अहिले तत्काललाई जिससको नयाँ भवनसमेत अस्पतालले नै प्रयोग गर्नेगरी व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘इलाममै धेरैखाले रोग–बिरामको उपचार हुनेगरी व्यवस्था गर्न क्रियाशील छौं।’

डाइलाइसिस मेसिन खरिदका लागि इलाम नगरपालिकाले पनि १५ लाख रुपैयाँ लगानी गरेको छ। नगर प्रमुख महेश बस्नेतले जिल्लामा डाइलाइसिस मेसिन नहुँदा पहाडी जिल्लाका हजारौं बिरामीले ज्यादै दुःख पाइरहेको बताए। ‘नागरिकलाई स्वास्थ्य सुविधा पुर्‍याउन नगरले गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा पनि सञ्चालन गरेको छ,’ उनले भने, ‘स्वास्थ्योपचारमा सर्वसाधारणको पहुँच पुर्‍याउन नगरले स्वास्थ्य क्षेत्रको पूर्वाधारमा ध्यान दिएको छ।’   

प्रकाशित: ९ फाल्गुन २०७७ १२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App