५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बाँकेको राप्तीसोनारी बन्यो ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’

बाँकेको राप्तीसोनारीलाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरेपछि घोषणा गरिएको हो । पूर्ण खोप घोषणाका लागि १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप अनिवार्य दिनुपर्छ ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक औपचारिक समारोहका बीच पूर्ण खोप गाउँपालिका भएको घोषणा गरेका हुन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले घोषणा गर्ने मात्र नभएर आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिन सक्नुपर्ने बताए । उनले पूर्ण खोप घोषणा गर्दै गर्दा महिला स्वास्थ्य स्वयं सेविकाको योगदानलाई गाउँपालिकाले भुल्न नहुने सुझाव दिए ।  

राप्तीसोनारी गाउँपालिका अध्यक्ष थारुले सबैको सहयोग र सहकार्यले गाउँपालिकालाई पूर्ण खोप घोषणा गर्न सम्भव भएको बताए । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि बार्षिक रुपमा करोडौं बजेट खर्च गर्दै आएको जानकारी गराउँदै उनले महिला स्वास्थ्य स्वयं सेविकाको योगदानलाई कदर गर्दै सेवा, सुबिधा दिइरहेको बताए । गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको अध्यक्ष थारुले जोड दिए ।  

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले सबै गाउँपालिका र नगरपालिकाले पूर्ण खोप पालिका घोषणा गरिसकेपछि फागुन मसान्त सम्म जिल्लालाई घोषणा गरिने बताए । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले गाउँ समाजमा अहिले पनि खोपबारे सर्बसाधारण अनविज्ञ रहेको धारणा राखिन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकले पूर्ण खोप घोषणा गरेपनि समय–समयमा अनुगमन गरिने बताए । उनले भने, ‘अहिले घोषणा गरेपनि पछि कुनै समस्या आउन सक्छन्, यस अभियानमा हामी सक्रिय रुपले लाग्ने छौं, यो घोषणा पूर्ण रुपले कार्यान्वयन होस् ।’  

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीले १६ देखि २३ महिनाका कुल ९ सय ३७ जना बालबालिका मध्ये ८ सय ५६ जनाले पूर्ण खोप लगाएको र बाँकी ८१ जना बालबालिकाले लगाउन छाडेकोमा उनीहरुलाई पनि खोप लगाइएको जानकारी दिए । आगामी दिनमा खोप लगाउन योग्य बालबालिकालाई पूर्ण खोप दिनका लागि वडा स्तरमा खोपको दिगोपना कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । आगामी फागुन मसान्तभित्र बाँकेलाई पूर्ण खोप जिल्ला घोषणा गर्ने तयारी छ ।

प्रकाशित: २७ माघ २०७७ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App