७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

भारतले दिने खोप आज आइपुग्ने

भारतले अनुदानका रुपमा दिन लागेको कोरोनाविरुद्धको १० लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । यो जानकारी बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले दिएका हुन् । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार खोप इन्डियन एयरलाइन्सको विमानमार्फत ल्याइँदैछ ।

स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले खोप ल्याउन प्रशासनिक, कानुनी, प्राविधिक तथा आर्थिक कुनै पनि अवरोध बाँकी नरहेको बताए । स्वास्थ्य मन्त्रालयका अनुसार अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्नेलगायतको जनशक्तिलाई अर्को सातादेखि खोप दिन सुरु गरिनेछ ।

नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य लिएको छ । आवश्यक थप खोप खरिदका लागि भारतको सहयोग महत्वपूर्ण रहने अपेक्षा लिएको मन्त्री त्रिपाठीले बताए ।  

सो अवसरमा भारतीय राजदूत क्वात्राले कोभिड १९ महामारीको प्रभाव विश्व अर्थतन्त्रदेखि सामाजिक जीवनमा समेत परेको बताए । उनले कोभिड १९ को महामारीबाट कुनै एक राष्ट्रमात्र नभएर विश्व नै जुधिरहेका बेला नेपाल देशबाहिरबाट खोप पाउने पहिलो राष्ट्र रहेको बताए । भारतले अनुदानस्वरुप उपलब्ध गराएको खोपले दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाएको उनको भनाइ थियो ।

प्रतिव्यक्ति दुई डोज दिने हुनाले पहिलो चरणमा पाँच लाखजतिले मात्र खोप पाउने स्थिति रहेको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए । ‘कतिपय डोज खेर जान्छन्, त्यो हिसाबले पाँच लाखभन्दा कमले मात्र खोप पाउने स्थिति देखिन्छ’, उनले भने ।

प्रकाशित: ८ माघ २०७७ ००:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App