coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

लापरबाहीले कोभिड–१९ को मृत्युदर बढ्दो

सुदूरपश्चिममा अहिलेसम्म १३ हजार ११५ जना संक्रमित

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को संक्रमणले जटिल प्रकृतिका लक्षण भएका बिरामीको संख्या र मृत्युदर बढ्दै गएको छ । सुरुमा कोरोनाको संक्रमण केही व्यक्तिमा मात्र देखिँदा जसरी सरकारी पक्षले कोरानाको संक्रमण नियन्त्रण र रोकथाम गर्न गम्भीरता देखायो तर अहिले सामान्य सावधानीका उपाय अवलम्बन गराउनमा समेत बेवास्ता गरेको छ भने सर्वसाधारणले पनि सावधानीका उपाय अपनाउन छोडेका छन् ।

‘पहिले २/४ जनामा कोरोना संक्रमण हुँदा मानिसहरू मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, घरबाट कम निस्कने, निस्कनै परे अरुलाई नछुनेलगायत सावधानी अपनाउने गर्थे,’ स्थानीय भरत खड्का भन्छन्, ‘अहिले त समान्य अवस्था जस्तै सबैजना बिनामास्क भिडभाडमा जान थालेका छन् ।’ यहाँका मालपोत, यातायात, आन्तरिक राजस्वजस्ता सरकारी कार्यालयमा ठेलमठेल हुने घुइँचो देखिन्छ । यस्तै विभिन्न व्यावसायिक पसल, सार्वजनिक स्थल, सडकमा भौतिक दूरी कायम नगरी भिडभाड हुने गरेको छ । कुनै सावधानी नअपनाई भिडभाडमा जानेमध्ये प्रायः मानिसले मास्कसमेत प्रयोग गरेको देखिँदैन ।  

स्वास्थ्यविज्ञ तथा वरिष्ठ फिजिसियन शुभेशराज कायस्थ सरकार र सर्वसाधारण दुवै पक्षको लापरबाहीले कोभिड–१९ को संक्रमण र मृत्युदर बढ्दो अवस्थामा रहेको बताउँछन् । ‘सरकार र सर्वसाधारण दुवै रिल्याक्समा देखिन्छन्, सावधानीका उपाय अवलम्बन गर्न/गराउनतिर कसैको ध्यान छैन,’ उनले भने, ‘टेस्टको दायरा पनि घटाउँदै लगिएको छ ।’ उनका अनुसार अस्पताल भर्ना हुने, जटिल प्रकृतिका लक्षण भएका संक्रमितको संख्याका साथै मृत्यु हुने संख्या बढ्दै गएको छ । कोरोनाको संक्रमण नियन्त्रणबाहिर रहेको उनको भनाइ छ । कोरोनाको संक्रमण नियन्त्रणमा छैन, यो लापरबाहीले अवस्था अझै जटिल र भयाभह हुने देखिन्छ ।

कन्ट्याक्ट ट्रेसिङ जाँच नहुँदा जोखिम  

संक्रमण र मृत्युदर बढ्दै गएको छ । तर कोरोनाको परीक्षणको दायरा कम गरिँदै लगिएको छ । सुरुमा पिसिआर मेसिन कम प्रयोग भएर परीक्षण कम हुने गरेको थियो । अहिले पिसिआर मेसिन पर्याप्त हुँदा पनि थ्रोट स्वाब संकलन र परीक्षण कम हुने गरेको छ । संक्रमित भएका व्यक्तिको सम्पर्कमा रहेकालाई कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गरिने गरेको छैन । संक्रमितको सम्पर्कमा रहेकाहरूको परीक्षण नहुँदा संक्रमण भएका व्यक्तिसमेत भिडभाड र समुदायमा घुलमिल हुँदा संक्रमण फैलिरहेको कायस्थ बताउँछन् । ‘कन्ट्याक्ट ट्रेसिङ गरेर जाँच गर्न छोडिएको छ, संक्रमित पनि जाँच गराउन नगएर भिडभाडमा जाने गरेका छन्,’ उनी भन्छन्, ‘ज्येष्ठ नागरिक र दीर्घ रोगीमा यो संक्रमण पुगेमा स्थिति अझ भयाभह हुन्छ ।’

ज्येष्ठ नागरिक, मधुमेह, मिर्गौलाका बिरामी, श्वासप्रश्वाससम्बन्धी बिरामी, क्यान्सर, एचआइभीलगायत दीर्घरोगीहरूको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरूलाई यस्तो लापरबाहीले धेरै जोखिम बढाएको उनी बताउँछन् ।  

मंसिरमा मात्र २३ को मृत्यु  

गत चैतको १४ गते पहिलो संक्रमित देखा परेको सुदूरपश्चिममा २ महिनापछि बाजुराकी २ वर्षीया बालिकाको पहिलो मृत्यु भएको थियो । साउन मसान्तसम्म यस प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १२ थियो । कोरोनाको संक्रमण बढेसँगै पछिल्लो तीन महिनाको अवधिमा मात्र यस प्रदेशबाट मृत्यु हुनेको संख्या बढेर ७० पुगेको छ । प्रदेशमा उपचारका क्रममा प्रदेशबाहिरका अस्पतालमा समेत मृत्यु भएकाको संख्या जोडेर यो संख्या पुगेको हो । यस प्रदेशका अस्पतालमा मात्र मृत्यु भएकाको संख्या ४७ रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताए । मंसिरमै मात्र २३ जनाको मृत्यु भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा मात्र मंसिरमा १४ जनाको मृत्यु भएको छ भने पुसको पहिलो सातामा ४ जनाको ज्यान गएको छ ।

लक्षण भएका मात्र संक्रमित आउने भएकाले मृत्युदर पनि बढेको प्रवक्ता कार्की बताउँछन् । ‘लक्षण भएका संक्रमित मात्र अहिले जाँच गर्न आइरहेका छन्,’ उनले भने, ‘यसले पनि मृत्युदर बढ्दै गएको हो, अर्को कुरा होम आइसोलेसनमा बसिरहेका संक्रमितले पालना गर्ने नियम पालना नगर्दा पनि संक्रमण र मृत्युदर बढिरहेको छ ।’ सुदूरपश्चिममा अहिले सक्रिय रहेका २ हजार ४ सय ९५ मध्ये करिब २ हजार संक्रमित होम आइसोलेसनमा रहेको उनले जानकारी दिए । ‘ठूलो संख्यामा होम आइसोलेसनमा भएकाले उनीहरूले पालना गर्ने नियम पालना गरेका छन् कि छैनन् यसले पनि असर गरेको छ,’ उनले भने । 

दीर्घरोगीलाई बढी समस्या हुने गरेको उनी बताउँछन् । उनका अनुसार सावधानी नअपनाउँदा र लक्षण नभएका संक्रमितको जाँच नहुँदा दीर्घरोगी, ज्येष्ठ नागरिक संक्रमणको जोखिममा परेका छन् । सुदूरपश्चिममा अहिलेसम्म १३ हजार १ सय १५ जना संक्रमित देखिएका छन् ।

प्रकाशित: १० पुस २०७७ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App