१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

प्राणघातक रोगका बिरामीलाई चौदण्डीगढी नगरको उपचार सहयोग

विरामीका आफन्तलाई सहयोग रकम हस्तान्तरण गर्दै मेयर राई । तस्बिरः महेश्वर

उदयपुरको चौदण्डीगढी नगरपालिकाले बिभिन्न ८ प्रकारका प्राणघातक रोग लागेर बिरामी नगरबासीलाई उपचार सहयोग गर्दै आएको छ। नेपाल सरकारको ‘बिपन्न नागरिकलाई उपचार राहत कोष निर्देशिका २०७५’ बमोजिम ८ खाले प्राणघातक रोग लागेर थलिएका विरामीलाई औषधि उपचार गर्न सहयोग गर्दै आएको जनाएको छ।  

क्यान्सर, मुटुरोग, मिर्गौला, अल्जाईमर, पार्किन्सन्स्, सिकललेस एनोमिया, हेड इन्जुरी र स्पाईनल इन्जुरीले थलिएका विरामीलाई औषधि उपचार खर्चवापत ५० हजारका दरले सहयोग दिँदै आएको नगरप्रमुख खगेन्द्र राईले बताए। उनका अनुसार सरकारको कार्यविधिलाई टेकेर नगरपालिकाले बनाएको ‘बिभिन्न ८ प्रकारका विरामीलाई औषधि उपचार सहयोग स्वास्थ्य राहत कोष वितरण कार्यविधि ०७५’ मार्फत सहयोग प्रदान गर्ने गरेको हो।

नगरपालिकाले सरकारबाट सूचिकृत ८ मध्ये कुनै रोग लागेका बिरामीलाई शल्यक्रिया (अपरेसन) र औषधि खर्चवापत प्रतिव्यक्ति ५० हजारका दरले सहयोग दिँदै आएको र त्यसबाहेक अन्य रोग लागेर उपचार गर्न नसक्ने गरिव तथा बिपन्न बर्गका नगरबासीलाई उनीहरुको आर्थिक अवस्था पहिचान गरी कम्तीमा ५ हजारदेखि ५० हजारसम्म उपचार खर्च दिँदै आएको नगरका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले बताए।  

अघिल्लो आर्थिक वर्षदेखि सुरु यो कार्यक्रम अनुसार अहिलेसम्म दर्जन बढीले सहयोग पाईसकेको लेखापाल अमर थापा मगरले बताए। उनका अनुसार सरकारले कार्यविधि बनाएकै वर्ष नगरपालिकाले कार्यविधि बनाएर लक्षित वर्गको पहिचान गरी सहयोग दिन थालेको हो। जस अनुसार आर्थिक वर्ष ०७६–७७ मा सो शीर्षकअन्तर्गत ३६ लाख ८५ हजार रुपैयाँ वितरण गरिएको लेखापाल मगरले बताए। त्यस्तै चालुवर्ष ०७७–७८ सुरु भएयता पनि १३ लाख ६२ हजार रुपैयाँ वितरण गरिसकेको उनले बताएका छन्।  

नगरपालिकाको यस्तो कार्य उदाहरणीय भएको भन्दै नगरबासीले खुसी व्यक्त गरेका छन्। अन्य स्थानीयतहमा यस्ता कैयौं विरामीले सहयोग माग्दै गाउँ तथा नगरपालिकाको ढोका ढक्ढकाए पनि सहयोग नपाईरहेको अवस्थामा चौदण्डीगढीले गरेको यो काम सराहनीय भएको भन्दै नगरबासीले प्रशंसा गरेका छन्।  

सरकारले प्राणघातक रोगको उपचार खर्च दिने कानुन बनाएर सहयोगको ढोका खोले पनि कतिपय स्थानीयतहले आन्तरिक कानुन बनाउन नसक्दा जनता कानुन बमोजिम स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनु परेको गुनासो गरिरहेका छन्। यस्तो बेला चौदण्डीगढीको यो कार्य उदाहरणीय भएको प्रतिक्रिया बिरामीका आफन्तले दिएका छन्।  

देश संघीयतामा जानुअघि पनि सरकारले यस्ता प्राणघातक रोगको उपचार गर्न स्वास्थ्य मन्त्रालयमार्फत सहयोग दिने व्यवस्था गरेको थियो। तर, अस्पताल र फार्मेसीको बील भर्पाइ तथा प्रमुख जिल्ला अधिकारी अध्यक्ष तथा जनस्वास्थ्य कार्यालय प्रमुख सदस्यसचिव रहेको ‘जिल्ला स्वास्थ्य सिफारिस समिति’को सिफारिस अनिवार्य गरेपछि मात्र रकम पाउने व्यवस्था थियो। जनचेतना अभाव र झन्झटिलो कानुनी प्रक्रियाका कारण धेरै बिरामीले स्वास्थ्य सेवा पाउन नसकिरहेकोमा उपचार खर्च वितरण गर्ने अधिकार स्थानीयतहलाई दिएपछि आफूले सहयोग गर्न थालेको मेयर राईले बताए। 

चौदण्डीगढीको यस्तो कार्यको अन्य स्थानीयतहले पनि सिको गरे सेवाग्राहीले स्वास्थ्य लाभ पाउन सक्ने जिल्ला जनस्वास्थ्य अधिकृत मोहन सुबेदी बताउँछन्।

प्रकाशित: ९ पुस २०७७ ०७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App