२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट संक्रमित दुई दीर्घरोगीको सफलता अनुभव

अहिले कोरोनाबारे धेरै चर्चा गर्नु पनि असान्दर्भिक हुन सक्छ, किनभने यो महामारीले नेपालमा पनि एउटा भयानक रूप लिइसकेको छ। काठमाडौं उपत्यका त अहिले कोरोनाबाट देशकै सबैभन्दा आक्रान्त स्थानमा पर्छ। अब त कसलाई कुन बेला कहाँबाट यो भाइरस सर्छ, कुनै ठेगान छैन। देशभरका ४० हजार सक्रिय संक्रमितमध्ये ६० प्रतिशत काठमाडौंमै छन्। यसको अर्थ यो महामारीबाट  सकेसम्म बच्ने, संक्रमण भइहाले योसँग जुध्नुको विकल्प छैन। यो आलेखमा कोरोनासँग जुधेर जित हासिल गरेका व्यक्तिको अनुभव उल्लेख गर्दै छु। जो ५०–६० वर्ष कटेका र दीर्घ रोगीमा पर्छन्। उनीहरूको कुरा हाम्रा लागि प्रेरणा हुन सक्छ भन्ने लागेको छ।  

मेरो एक जना मित्र, जो अमेरिकामा बसेर छोटो समयमा आर्थिक प्रगति गर्दै त्यहाँका व्यवसाय आफ्ना छोरी–ज्वाइँलाई सुम्पेर बाँकी जीवन स्वदेशमै बिताउने इच्छाले फर्किएका छन्। उनका श्रीमान–श्रीमतिलाई नै कोरोना संक्रमण भयो। उनले भाइरस दुई आफन्तबाटै सरेको अनुमान गरेका छन्। एक जना उनकै दाइ, जो कलेजोको क्यान्सर उपचारका लागि अस्पताल धाइरहेका थिए, अर्का उनका नातेदार, जसले उनको घरमा केही समय बिताएका थिए। उनीहरूलाई कोरोना संक्रमण पुष्टि हुँदै गर्दा मेरा मित्रका दम्पति पनि अछूत रहन सकेन। सावधानी त अपनाएकै थिए, तर बच्न सकेनन्।

यो आलेखमा कोरोनासँग जुधेर जित हासिल गरेका व्यक्तिको अनुभव उल्लेख गर्दै छु। जो ५०–६० वर्ष कटेका र दीर्घ रोगीमा पर्छन्। उनीहरूको कुरा हाम्रा लागि प्रेरणा हुन सक्छ भन्ने लागेको छ।   

मेरा मित्र ५० वर्ष पुगिसकेका भए पनि कुनै दीर्घ रोग छैन। उनकी पत्नीलाई भने मध्यम खालको दम र उच्च रक्तचापको समस्या छ। कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू घरमै आइसोलेसनमा बसेका थिए, तर दुवै जनालाई सास फेर्न केही गाह्रो हुन थालेपछि काठमाडौंको कीर्तिपुरस्थित आर्युवेद अस्पताल पुगे, धन्न त्यहाँ भर्ना हुन पाए। अस्पतालले दिने सेवा सबै दियो, गुनासो गर्ने कुनै ठाउँ छैन। उनी सम्झिन्छन्, ‘संक्रमण मुक्त भइसकेपछि पनि त्यहाँकी डाक्टर जुनु गुरुङले बेलाबेला फोन गरेर औषधि तथा सावधानीबारे सुझाव दिइरहन्छिन्।’  

उनको अनुभवमा आयुर्वेद अस्पतालले रोगीको उपचार गर्ने भन्दा पनि सकारात्मक वातावरण र केही आयुर्वेदिक औषधिमार्फत रोगप्रतिरोधी क्षमता बढाई संक्रमितलाई चाँडै निको पार्नेरहेछ। त्यसकारण नेपाल सरकारको वर्गीकरणअनुसार त्यसलाई ‘लेभल वान’ अस्पताल मात्रै भन्न सकिन्छ। यस्तो अस्पतालमा स्थिति जटिल हुँदै गए थप उपचार गर्ने व्यवस्था नहुँदो रहेछ, त्यसका लागि लेभल टु वा लेभल थ्रीको अस्पतालमा पठाइनेरहेछ।  

मित्रकी श्रीमती मध्यम खालकी दीर्घरोगी भएकी हुँदा उनमा केही जटिलता देखिन  थालेछ, अनि उनीहरू पाटन अस्पताल आए। बल्लतल्ल क्याबिनमै भर्ना भए, तर सोचेजस्तो उपचार पाउन नसकेको उनी बताउँछन्। क्याबिन भनेपछि सरसफाइ र ओढ्ने/ओछ्याउने पर्याप्त होला भन्ने अनुमान जो कोहीले गर्छन्। तर त्यहाँ ठीक विपरीत न सरसफाइ थियो न त ओढ्ने/ओछ्याउनेकै राम्रो व्यवस्था!

संक्रमित भएर भित्र छिरेपछि बाहिर पनि जान नमिल्ने, अनि बाहिरका आफन्तलाई पनि बोलाउन नमिल्ने, अस्पतालले पनि उचित व्यवस्था नगरिदिने। यस्तो भएपछि त्यत्रो ठूलो अस्पतालमा बाँच्न आइयो कि मर्न भन्ने अवस्था उनले अनुभव गरे। त्यो भन्दा पनि नराम्रो कुरा डाक्टर र नर्सले वास्ता नगर्ने, कोठामा आउनु त कता हो कता, फोन पनि नउठाउने अवस्था उनीहरूले भोगे। यसले उनीहरूलाई अझ आत्तिने परिस्थिति सिर्जना गरिदियो।  

त्यसपछि एक जना चिनेको नर्सलाई फोन गरेर सहयोगका लागि याचना गरेपछि बल्ल ओढ्ने/ओछ्याउनेको व्यवस्था भएको ती मित्र सुनाउँछन्। बल्लतल्ल अक्सिजनलगायत अन्य उपचारको व्यवस्था गरेपछि मेरा मित्रका दम्पतिले शान्तिको सास फेरेछन्। मित्रको अवस्था राम्रै भए पनि उनकी पत्नीको स्थिति भने केही अप्ठेरो थियो। तर चिनेकी ती नर्सको भूमिकाले उनलाई पनि चाँडै निको बनाएको मित्र सुनाउँछन्। संक्रमण पुष्टि भएको १४ दिनपछि दुवै जनाको रिपोर्ट नेगेटिभ आयो र अहिले उनीहरू घरमा छन्। तर डाक्टरले अरू एक हप्ता सावधानी अपनाउन सल्लाह दिएकाले उनीहरूले घरमै स्वास्थ्य लाभ गरिरहेका छन्।  

आफूहरूलाई पाटन अस्पतालका स्वास्थ्यकर्मीले त्यस्तो बेवास्ताको व्यवहार गर्नुको पछाडि उनीहरूले अहिलेसम्म सरकारबाट पाउनुपर्ने प्रोत्साहन भत्तालगायत कुनै सेवा/सुविधा नपाउनु कारण रहेको मित्रको अनुमान छ।    

मेरै दाइको परिवारका ७ जना कोरोना संक्रमित भए। भतिजी बैंककी अधिकृत हुन्। सँगै बसेर काम गर्ने सहकर्मीका बुबा संक्रमित भएपछि सहकर्मी पनि संक्रमित भइछन्। दसैंको छुट्टी थियो। आफू संक्रमित भएको थाहा पाउनेबित्तिकै उनले मेरी भतिजीलाई खबर गरिछन्। त्यसपछि परिवारका सबै सदस्यको पीसीआर परीक्षण गर्दा सबैमा कोरोना पोजिटिभ देखियो। जसमा १ वर्षदेखि ६५ वर्षसम्म उमेरका छन्। 

मेरा दाइ उच्च रक्तचाप, मधुमेह, ढाड दुख्नेलगायत समस्याले पीडित दीर्घरोगी हुनुहुन्छ। त्यस्तै भाउजुलाई पनि उच्च रक्तचापको समस्या छ। बाँकी सदस्य ४० वर्षमुनिका छन्। दाइबाहेक बाँकी सबैलाई सामान्य लक्षण मात्रै देखिए। स्वाद र गन्ध थाहा नपाउने र हल्का ज्वरो आउने। दाइलाई भने सास फेर्न गाह्रो हुनाका साथै अक्सिजनको मात्रा पनि ९० भन्दा कम भएछ। मेरी अर्की भतिजी बाँसबारीस्थित न्युरो अस्पतालमा नाक, कान तथा घाँटी विशेषज्ञ हुन्। यसर्थ कोरोना संक्रमितको कसरी उपचार गर्नुपर्छ भन्ने अनुभव भइसकेकाले उनले आफ्ना बुबालाई तुरुन्तै न्युरो अस्पताल पुर्‍याइन्।  

तर उनी आफैं कोरोना संक्रमित भएकीले उनी अस्पताल जान सक्ने कुरा भएन, त्यसैले उनले अस्पतालका कार्डियोलजिस्टसँग सल्लाह गरी घरबाटै त्यहाँका नर्सलाई निर्देशन दिइन्। मेरा दाइ कोरोनाको पहिलो चरणको समस्यामा भएको हुँदा डाक्टरसमक्ष दुइटा विकल्प हुँदोरहेछ, पहिलो– संक्रमितलाई बिस्तारै उपचार गर्ने र दोस्रो– सुरुमै उच्चतम उपचार गर्ने। दुवै डाक्टरको सल्लाहबमोजिम दाइलाई रेम्डेसिभरको पहिलो डोज दिइयो। जसले अक्सिजनको मात्रा तुरुन्तै बढाइदिँदो रहेछ, दाइलाई दोस्रो दिनमै निकै आराम भयो।  

नियमअनुसार रेम्डेसिभरका ५ डोज दिइएपछि अस्पतालले उहाँलाई ५ दिनमै डिस्चार्ज गरिदियो। भाइरसबाट मुक्त हुन बाँकी रहे पनि अहिले मेरा दाइ घरमा स्वास्थ्य लाभ गरिरहेका छन्। न्युरो अस्पताल निजी अस्पताल भएकाले सेवा/सुविधा त राम्रै लागेको तर डाक्टर आफू (संक्रमित) हरू रहेको वार्डमै नछिरेको तीतो अनुभव मेरा दाइको छ। नर्स मात्र आउने र उनीहरूले आवश्यक परीक्षण गरेर त्यसको रिपोर्ट उहाँकी डाक्टर छोरीलाई बताउने र छोरीले कार्डियोलजिस्टको सल्लाहबमोजिम नर्सलाई निर्देशन दिएर बुबाको उपचार गराइन्।  

नियमअनुसार रेम्डेसिभरका ५ डोज दिइएपछि अस्पतालले उहाँलाई ५ दिनमै डिस्चार्ज गरिदियो। 

उल्लिखित दुवै अनुभव विचार गर्दा दीर्घरोगी भए तापनि समयमै उचित उपचार तथा स्याहारसुसार भएमा कोरोनाले ज्यानैचाहिँ नलिनेरहेछ भन्ने देखिएको छ। मेरा मित्रको अनुभव सुन्दा कीर्तिपुरको आयुर्वेदिक अस्पतालले एकदमै राम्रो सेवा दिइरहेको र त्यहाँ आवश्यक उपकरण व्यवस्था गर्न सके ‘लेभल–टु’कै उपचार पनि दिन सकिने देखियो। त्यस्तै सरकारी अस्पतालका स्वास्थ्यकर्मी, जो आफंै उच्च जोखिममा छन्, लाई सरकारले घोषणा गरेबमोजिम भत्तालगायत अतिरिक्त सेवा÷सुविधा दिएमा त्यहाँको उपचार सेवामा पनि सुधार हुन सक्ने देखिन्छ। यसका लागि यो आलेखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु।  

प्रकाशित: २६ कार्तिक २०७७ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App