९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

मानसिक स्वास्थ्य समस्याको निदान

कोभिड–१९ ले मानसिक स्वास्थ्य समस्यामा अतिरिक्त विचलन ल्याउँदा व्यक्तिगत, पारिवारिक र सामाजिक मनोविज्ञान त्रस्त छ। कोरोना संक्रमणबाट ठीक भएकामा समेत मानसिक समस्या देखिँदा उपचारबाट वञ्चित समस्याग्रस्तको अवस्था झन् भयावह छ। मनोवैज्ञानिक र मनोसामाजिक उल्झन निम्त्याउन प्रमुख भूमिका खेल्ने विकराल विकृतिको मनोशास्त्रीय निदान अत्यावश्यक छ।

विश्व स्वास्थ्य संगठनअनुसार करिब ४५ करोड मानिसमा नसर्ने दीर्घरोग भएकाले प्रत्येक वर्ष दशमध्ये सात जनाको अकाल मृत्यु हुन्छ। उक्त तथ्यांकभित्र करिब ८३ प्रतिशतको शारीरिक बनावट वा सौन्दर्य, लैंगिक वा यौनिक विभेद, वर्गीय वा जातीय द्वन्द्व, सामाजिक–धार्मिक कुरीति र भौतिक–आर्थिक असन्तुलनले प्रत्येक दश मिनेटमा एकको हिंसाले मृत्यु हुन्छ। परिणामतः सन् २०३० भित्र मृत्युदरलाई एकतिहाइले कम गर्ने संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यमा अवरोध छ।

नेपालमा करिब २० प्रतिशत मानिसमा मानसिक स्वास्थ्य समस्या देखिँदा समेत पाँचमध्ये चारको उपचार हुँदैन। फलस्वरूप प्रत्येक वर्ष घटीमा पाँच हजार र एक लाखले आत्महत्या र आत्महत्या प्रयास गर्छन्, जसमा करिब ८० प्रतिशत मानसिक रोगी हुन्छन्। सर्वोच्च अदालतसहित संघीय संसद्को महिला तथा सामाजिक समितिले मनोपरामर्श सेवामा नागरिकको सहज पहँुचका लागि सरकारलाई निर्देशन दिएको छ, त्यसअनुरूप सम्भवतः इतिहासमै पहिलोपटक प्रधानमन्त्रीबाटै मानसिक स्वास्थ्य समस्याको सम्बोधनार्थ मनोसामाजिक विज्ञ र मनोचिकित्सकसँग छलफल गरी तत्काल ठोस कदम चाल्न आग्रह भएको छ।

भौतिक रूपले केन्द्रीय स्नायु प्रणालीमा खराबी र मस्तिष्कमा रसायनको असन्तुलनले मानसिक समस्या हुन्छ, जुन करिब १४ वर्षको उमेरमा सुरु भई २४ वर्षसम्म २५ प्रतिशतले बढ्छ। समस्याग्रस्तको व्यवहार, स्वभाव र भावनाले प्रतिकूल असर पु¥याउँदा प्रचलित परम्परा, धर्म–संस्कृति, रीति–रिवाज र मूल्य–मान्यता विपरीत देखिन जान्छ, जसको जोखिममा बेवारिसे, बालबालिका, एकल गर्भवती, घरेलु हिंसाग्रस्त र लागूऔषध दुव्र्यसनी छन्। अनिद्रा, डर, चिन्ता, तनाव, स्नायुजन्य समस्या, अवसाद, छारेरोग, बिर्सने रोग र पागलपन मानसिक रोग भए पनि सबै मानसिक रोगहरू मानसिक असन्तुलन हुँदैनन्। यद्यपि पद प्राप्तिको न्यूनतमा मापदण्ड ‘मानसिक सन्तुलन नगुमेको’ असंगत वाक्यांश र पूर्वाग्रही कानुनको मापनले मानसिक रोगहरूबीच नै विरोधाभास जनाउँछ।

मानसिक समस्याको यथासम्भव उपचार हुने भए पनि संकोच, कलंक र लाञ्छनाको डरले धेरैले समस्या लुकाउँछन्। तसर्थ समयमै उपचार नहुँदा दुःख, नैराश्य र कुण्ठामा वृद्धि भई आपराधिक र असामाजिक गतिविधि बढ्छ। आशा, धोका, माया–प्रेम, झैझगडा, यौन चाहना र असफलताले जघन्य दुर्घटना निम्त्याउँछ। गरिबी, अशिक्षा, औषधोपचारको अपर्याप्तता, मनोविद् र मनोचिकित्सकको कमी तथा सरकारी र निजी अस्पतालमा मानसिक रोगीका लागि शड्ढयाको न्यूनतम अनुपलब्धता उपचारमा बाधक छन्।

केहीलाई कुकुर, भीडभाड, नग्नता, आगो, पानी र अप्रिय घटनाले डराउने, तर्सिने र आत्तिने समस्या हुन्छ। केहीमा चरम नैराश्यताले अवसाद जन्मिन्छ। केहीमा एउटै गतिविधि दोहो-याइरहने बानी हुन्छ। केहीमा पूर्णतया वा आंशिक भुल्ने रोग हुन्छ, जुन अन्तिम अवस्थामा पुग्दा भोजन निल्न समेत बिर्सिन्छ। दीर्घरोगको प्रताडना, मस्तिष्कमा गहिरो चोट, नकारात्मक असर र उमेरका साथै आफन्तको मृत्यु र अतृप्त यौन आकांक्षाबाट समेत समस्या उब्जिन्छ। केहीमा मस्तिष्कको विकासमा समस्याले मन्द बुद्धि हुन्छ। केहीलाई गर्भावस्था वा जन्मपछिको खराबीले सुस्त मनस्थिति देखिन्छ।

मानसिक समस्याको यथासम्भव उपचार हुने भए पनि संकोच, कलंक र लाञ्छनाको डरले धेरैले समस्या लुकाउँछन्। तसर्थ समयमै उपचार नहुँदा दुःख, नैराश्य र कुण्ठामा वृद्धि भई आपराधिक र असामाजिक गतिविधि बढ्छ। आशा, धोका, माया–प्रेम, झैझगडा, यौन चाहना र असफलताले जघन्य दुर्घटना निम्त्याउँछ।

भिटामिन डी, सेरोटोनिन र मेलाटोनिन हर्मोनको कमी, चिसो र कम घाम लाग्ने स्थानका बासिन्दामा निराशा, थकान र तौल बढ्ने समस्या देखिन्छ, जुन औषधि सेवनसँगै मौसम परिवर्तनले ठीक हुन्छ। कमजोर मनस्थिति, अत्यधिक निर्भरता र प्रशंसा खोज्ने अपरिपक्व मनोरोगी यदाकदा बेहोसझैँ भई हातखुट्टा दोबार्ने, दाँत किट्ने र सम्हाल्न खोज्दा अवरोध गरे पनि समयको अन्तरालमा उपचारले ठीक हुन्छ। तर जिब्रो–ओठ टोक्ने, आँखाका नानी चल्ने, फिँज निस्कने, चोटपटक लाग्ने र बेहोस भई दिसापिसाब चुहिनेलाई कालान्तरमा बौलाहापन देखिँदा कराउने, सामान फाल्ने, कुटपिट गर्ने र फोहोरी शब्द बोल्ने हुन्छ। केहीको अक्षर उच्चारण गर्नुपूर्व जिब्रो बटारिन्छ। केहीको शरीरभरि घाउ भई मुत्युको खतरा देखिन्छ।

मानसिक स्वास्थ्य समस्याको उत्पत्तिका कारण नकारात्मक विचार, खराब संगत, धैर्यमा कमी, ल्याकत बाहिरको चाहना, विकल्प खोज्न वा भविष्य छनोटमा असमर्थता आदि पर्छन्। केहीलाई ताल्चा नलगाएको र ग्यास वा पानी बन्द नगरेको आभास हुँदैन। केहीमा आँखा नचाइरहने, चस्मा मिलाइरहने र हात–टाउको हल्लाइरहने, धोइरहने वा पुछिरहने बानी हुन्छ। विछोड, बेमेल, असफल वैवाहिक सम्बन्ध र नयाँ वातावरण पारिवारिक कारण हुन् भने दैवी प्रकोप र भूतप्रेत परम्परागत धारणा हुन्। बेरोजगारी, नोक्सानी, वैदेशिक रोजगारी, अनियन्त्रित खर्च र ऋणभार आर्थिक कारण हुन्, जुन करिब ७८ प्रतिशत मानसिक समस्याको एकलौटी कारक तत्व मानिन्छ।

मानसिक स्वास्थ्य समस्याका भावनात्मक र व्यावहारिक लक्षणहरूमा बर्बराउने, रिसाउने, झोँक्राउने, छटपटिने, रुने, शंका गर्ने र पढाइ बिग्रने आदि पर्छन्। शारीरिक लक्षणमा कमजोरी, दुब्लाउने, रिंगटा लाग्ने, खानामा अरुचि, स्मरण शक्तिमा ह्रास र शरीरका अंगमा पीडा देखिन्छन्। एकाग्र हुन नसक्ने, निर्णय लिन गाह्रो, कसैले बोलेझैँ सुन्ने र मर्ने सोचाइजन्य लक्षण हुन्।

मानसिक रोगीको विकृतिजन्य मनोविज्ञानलाई नियाल्न अत्यन्तै संवेदनशील भई कुरा सुन्दै र भावना बुझ्दै आड, भरोसा र सहयोग प्रदान गरी समस्याको समाधान निकाल्नुपर्छ। बालमनोविज्ञानका लागि कुटने, हकार्ने वा गालीद्वारा भय, त्रास वा डर देखाउनुको बदलामा प्रेमपूर्वक माया गरी राम्रोसँग सम्झाइबुझाई उपयोगी कार्यमा लगाएमा मानसिक क्रम भंगताको खतरा सुरुमै नियन्त्रण हुन्छ। मनोरोगी दुव्र्यसनीलाई प्रेम, दया र सद्भावद्वारा निरन्तर कुलत छुटाउन प्रेरित गर्नुपर्छ।

आयुर्वेदअनुसार अश्वगन्धा, कुरिलो, झुसे करेला, चट्टेल र च्याउको सेवनसहित पर्याप्त पानी पिउने र घाम ताप्नाले शरीरमा भिटामिन डी र बिटाइन्डोर्पिmनको मात्रा बढेर रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ। हरियाली वातावरण, संगीत, घुमघाम, मनोरञ्जन र घरपालुवा जनावरले सुख, आनन्द र हर्षको अनुभूति दिन्छन्। आध्यात्मिक चिन्तन, ध्यान, योग र प्राणायामसहित नियमित व्यायाम, सन्तुलित भोजन र पर्याप्त निद्राले रोग निदान गर्न मद्दत गर्छ। त्यस्तै, सकारात्मक सोच, अदम्य अठोट र अटूट आत्मविश्वासले समस्यासँग जुध्ने आत्मबल बढाउँछ।

मनोविश्लेषक कार्ल युङका अनुसार मानिसको अटल गहिराइभित्र रहने पुरानो स्वभावलाई ‘सेल्फ स्याडोे’ र स्पष्ट कारण रहितको उदासपनलाई अंग्रेजीमा ‘मेलानकली’ भनिएकाले केहीको मनभित्र गडेर रहेको पश्चाताप, आत्मग्लानि वा आत्मरति समेत समाधान गर्नुपर्ने हुन्छ। करिब ६० प्रतिशत अवसादका बिरामी औषधि सेवनबाटै ठीक हुन्छन्। बाँकीको हकमा चिकित्सकीय विधि उपयोगी ठर्हछ। वंशाणुगत मानसिक रोगी र पागलपनमा अस्पतालको उपचार पद्धतिको विकल्प हुँदैन। छारेरोग र स्नायुजन्य समस्या उचित उपचारबाट ठीक हुन्छ। त्यस्तै, चिकित्सक चहार्ने वा औषधिले काम नगरेको भान हुने बिरामी उत्प्रेरणाले उत्साहित हुन्छ। चिकित्सकीय पद्धतिद्वारा मस्तिष्कको सन्तुलन परीक्षणमा सैद्धान्तिकभन्दा प्रयोगवादी दृष्टिकोण सफल ठहरिएकाले दिमागमा भार नपर्ने कार्यद्वारा अन्तःकरणलाई स्वच्छ, शान्त र सफा राख्दा मानसिक संरचना स्थिर भई तन, मन र मष्तिस्क शुद्ध हुन्छ। मनोविज्ञसँगको निरन्तर परामर्श र मनोचिकित्सकको सल्लाहबमोजिम औषधि सेवनले मानसिक रोग निर्मूल हुने वास्तविकता मनन गरी रोगप्रतिको अनुचित मानसिकता हटाउन घर–परिवार र समाजकै सहयोग महŒवपूर्ण हुन्छ।

संघीय संसद्को महिला तथा सामाजिक समितिले मानसिक स्वास्थ्यलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न निर्देशन दिएबमोजिम शिक्षण संस्थाले विद्यार्थीको चारित्रिक निर्माण, नैतिक र मानसिक शिक्षामा जोड दिन आवश्यक छ, जसको शिक्षा र स्वास्थ्य मन्त्रालयद्वारा समयोचित अलग–अलग अनुगमन हुनुपर्छ। स्थानीय तहले सरोकारवाला समूहसँग समन्वय गरी छलफल र तालिमद्वारा उपयोगी कार्यक्रम सञ्चालन गर्नुपर्छ। मनोसामाजिक परामर्शदाताको आवश्यकता केही हदसम्म पूर्तिका लागि स्थानीय तहका विद्यालयका स्वास्थ्य र सामाजिक शिक्षकलाई प्रशिक्षण दिई परिचालन गर्नुपर्र्छ। मानसिक रोगको उपचार सर्वत्र सुगम, सुलभ र सुपथ भएको सन्देश सम्प्रेषणका खातिर मनोशिक्षा, मनोविमर्श, औषधिको पर्याप्तता, नियमित स्वास्थ्य परीक्षण, स्वयं हेरचाह विधि र आवश्यक चिकित्सकीय सहयोगको तत्काल उपलब्धता हुनुपर्छ।

मानसिक रोगको निदानमा सामाजिक चिन्तन, चेतना र संवेदनशीलता बाधक देखिएकाले अशिक्षा, गरिबी, बेरोजगारी, असमानता, विभेद, उचनीच र दण्डहीनताको अन्त्य जरुरी छ। असाध्य दीर्घरोगहरूको उपचार खर्चमा सरकारी छुट प्राप्त भएझैँ मानसिक रोगका लागि समेत उक्त व्यवस्था अविलम्ब लागू गर्ने जनस्वास्थ्य नीति अत्यावश्यक छ। कोरोना महामारी नियन्त्रणमा देखिएको शासकीय संयन्त्रको अभाव र व्यवस्थापकीय कमजोरीको मूल्य मानसिक रोगीले अत्यधिक मात्रामा चुकाउनुपरेको यथार्थतालाई हृदयंगम गरी संघीय, प्रदेश र स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा यथेष्ट बजेट विनियोजन गरी मानसिक रोगप्रति जवाफदेही हुनुपर्छ। त्रासदिको कारक मानसिक रोगको निदानले राष्ट्रको स्वास्थ्य समेत सुध्रिने भएकाले मानसिक स्वास्थ्य समस्याप्रति राष्ट्रियस्तरमै बहस र सामाजिक व्यवहारमै शुद्धता अपरिहार्य छ।
(अधिकारी सामाजिक अभियन्ता हुन्।)

प्रकाशित: २४ आश्विन २०७७ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App