१४ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

लायन्स क्लबले गर्‍यो आइसोलेसन केन्द्र हस्तान्तरण

लायन्स क्लब अफ डिष्ट्रिक ३२५ ‘ए’वानले विराटनगर–१२ स्थित पञ्चमुखी चोकमा निर्माण गरेको आइसोलेसन केन्द्र प्रदेश १ सरकारलाई शुक्रबार हस्तान्तरण गरेको छ।  

कोरोना भाइरसका संक्रमित थपिँदै जाँदा भएका आइसोलेसन केन्द्रमा बेड अभाव भएपछि क्लबले आइसोलेसन बनाएको जनाएको छ। क्लबले सामुदायिक भवनमा निर्माण गरेको ३० शैयाको आइसोलेसन केन्द्र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको हो।  

दुई महिनाअघि प्रदेश सरकारले प्रदेशमा एक हजार शैयाको कोभिड-१९ आइसोलेसन बनाउने घोषणा गरे पनि अहिलेसम्म बनाउन सकेको छैन। सरकारले समयमै पर्याप्त आइसोलेन केन्द्र बनाउन ध्यान दिँदा कोरोना संक्रमित घरमै ज्यान गुमाउन बाध्य भएका छन्।  

आइसोलेसन केन्द्र हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले आइसियूसहितको प्रबन्ध प्रदेश सरकारले गर्ने बताए। ‘अहिले आइसोलेसनले मात्र पर्याप्त नहुने हुँदा आइसियू सुविधासहित सरकारले प्रबन्ध गर्ने छ,’ मुख्यमन्त्री राईले भने, ‘संक्रमितको संख्या दिनानुदिन तीव्र गतिमा बढ्दै गएकाले कोभिड अस्पताल र आइसोलेसन केन्द्रले मात्र थेग्ने अवस्था छैन। शैया नपाएर घरमै संक्रमित बसिरहेको अवस्थामा आइसोलेसन केन्द्रहरू थप गर्दै लैजाने छौं।’

सो अवसरमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले लायन्सले तयार गरेको आइसोलेसन केन्द्रलाई चिकित्सकीय सेवासहित सञ्चालनमा ल्याउने बताए। यस केन्द्रको सम्पूर्ण व्यवस्थापन प्रदेश सरकारले गर्ने छ। चाडपर्वमा आवतजावत व्यापक हुने भएकाले संक्रमण सबै क्षेत्रमा फैलने खतरा बढ्दै गएको हुँदा सुरक्षित तवरले घरमै बसेर चाडपर्व मनाउन मन्त्री घिमिरे आग्रह गरे।  

लायन्सले तयार गरेको आइसोलेसन केन्द्रको माथिल्ला तलामा पुरुष र तल्लो तलामा महिला संक्रमित रहने छन्। क्लबका फस्ट भाइस डिष्ट्रिक गभर्नर एवं केन्द्र निर्माणका संयोजक रेवतबहादुर कार्कीले पहिलो चरणमा लायन्सले १ सय दिनसम्म बिरामीलाई खानाको व्यवस्थासमेत गरेको बताए। ‘हामीले आइसोलेसन केन्द्र तयार पारेका छौं, अब अन्य जिम्म प्रदेश सरकारले लिने छ,’ कार्कीले भने।

प्रकाशित: २३ आश्विन २०७७ १४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App