११ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

हात वा छालामा कोरोना कति समयसम्म बाँच्छ? यसो भन्छ नयाँ अध्ययन

एक नयाँ अध्ययनबाट मानिसको छालामा कोरोना भाइरस ९ घण्टासम्म बाँच्न सक्ने देखिएको छ।  

जापानका वैज्ञानिकले गरेको अध्ययनले हातलगायत मानिसको छालामा फ्लु भाइरसभन्दा निकै लामो समय बाँचिरहन सक्ने देखाएको हो।

फ्लु गराउने इन्फ्लुएन्जा भाइरस छालामा २ घण्टाजति मात्रै जीविति रहन सक्छ भने कोरोना ९ घण्टासम्म बाँच्न सक्ने पाइएको जापनका अनुसन्धानकर्ताले बताएका छन्।  

तर दुवै भाइरस साबुनपानी र सेनिटाइजरबाट निष्क्रिय हुने तथ्य पनि पत्ता लागेको क्लिनिकल इन्फेक्सियस डिजिजेज जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ।  

यो अध्ययनले साबुनपानीले हात सफा गर्नु तथा सेनिटाइजर प्रयोग गर्नुको महत्वलाई पुनःपुष्टि गरेको लाइभसाइन्सले जनाएको छ।  

कोरोनाले महामारीको रूप लिनुअघि नै अमेरिकामा गरिएको अध्ययनले यो भाइरस तामामा ४ घण्टा, कागजको बोर्डमा २४ घण्टा तथा प्लास्टिक र स्टेनलेस स्टिलमा ७२ घण्टासम्म बाँच्न सक्ने पत्ता लगाएको थियो।  

यस आधारमा सही ढंगले हात धुने तथा सेनिटाइजर लगाउने हो भने कोरोना चाँडै निष्क्रिय हुने र संक्रमणको जोखिम न्यून पार्न सकिने अनुसन्धानकर्ताले बताएका छन्।  

तर मानिसको छालाको विषयमा अध्ययन गरिएको थिएन। जीवित मानिसको छालामा अध्ययन गर्नु नैतिक तथा व्यावहारिक रूपमा समस्या हुने भएकाले जापानको क्योटो प्रिफेक्चुरल युनिभर्सिटी अफ मेडिसिनका अनुसन्धानकर्ताले मानिसको शवबाट छालाको नमुना लिएर अध्ययन गरेका हुन्।  

मृत्युको एक दिनपछि छालाको नुमना संकलन गरी अध्ययन गरिएको वैज्ञानिकले बताएका छन्। मानिस मरेको २४ घण्टासम्म छाला प्रत्यारोपणका लागि प्रयोग गर्न सकिने भएकाले मानिस मरेको केही समयपछिसम्म छाला क्रियाशील नै हुने वैज्ञानिक बताउँछन्। तसर्थ त्यसरी संकलन गरिएको छालाको नमुना सही हुने अनुसन्धानकर्ताले  दाबी गरेका छन्।  

प्रतिवेदनअनुसार ८० प्रतिशत इथानोल भएको सेनिटाइजर प्रयोग गर्दा हात वा छालामा रहेकाे भाइरस १५ सेकेन्डमै निष्क्रिय भएको पनि पाइएको छ।

तर छालामा कति मात्रामा रहेको कोरोनाले मानिसलाई संक्रमण गर्न सक्छ भन्ने विषयमा भने थप अध्ययन गर्नुपर्ने अनुसन्धानकर्ताले बताएका छन्।

प्रकाशित: २२ आश्विन २०७७ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App