१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अढाइ करोड डोज खोप दिन रुस सहमत

रुसले नेपाललाई २ करोड ५० लाख मात्रा (डोज) कोरोना खोप उपलब्ध गराउने भएको छ । रुसको सरकारी स्वामित्वको ‘द रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड’ र नेपाली फर्मास्युटिकल्स वितरक कम्पनी ट्रिनिटीबीच भएको सम्झौताअनुसार रुसले हाल उत्पादन भइरहेको ‘स्पुतनिक भी’ नामक खोप नेपाललाई उपलब्ध गराउने भएको हो । सन् २०११ मा रुसी राष्ट्रपति र प्रधानमन्त्रीको नेतृत्वमा स्थापित फन्ड रुसमा विदेशी लगानी प्रवद्र्धन गर्न कार्यरत छ ।  

सम्झौताअनुसार नेपालका ९० प्रतिशत जनसंख्याले यो खोप पाउने भएको अमेरिकी न्युज एजेन्सी पिआर न्युज वायरले मंगलबार जनाएको छ । तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षणमा रुसी खोपको नकारात्मक प्रभाव नदेखिएको र यसले शतप्रतिशत सहभागीमा प्रतिरक्षात्मक प्रतिक्रिया दिएको जनाइएको छ । रुसको गामालेया नेसनल रिसर्च इन्स्टिच्युट अफ इमिडेमोलोजी एन्ड माइक्रोबायोलोजीले निर्माण गरिरहेको सो खोप रुसी स्वास्थ्य मन्त्रालयले दर्ता गरिसकेको छ । विधिवत् दर्ता भएको यो खोप विश्वमै कोरोनाविरुद्धको पहिलो हो ।

सेप्टेम्बर ४ मा मेडिकल जर्नल ल्यानसेटले यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण नतिजा प्रकाशन गरेको थियो । जर्नलले परीक्षणमा सहभागीमा कुनै किसिमको गम्भीर नकारात्मक प्रभाव नदेखिएको र शतप्रतिशत सहभागीमा स्थिर प्रतिरक्षा प्रणाली विकास भएको जनाएको थियो । हाल ४० हजार स्वयंसेवकमा यो खोपको परीक्षण भइरहेको छ भने अरु ६० हजारले परीक्षणमा सहभागी हुन नाम दर्ता गरेको जनाइएको छ । यो परीक्षणको नतिजा आगामी अक्टुबर–नोभेम्बरमा प्रकाशित हुने तयारी छ । एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका र युरोपका ५० देशले यो खोप माग गरेका छन् । फन्डले यसअघि नै मेक्सिकोलाई ३ करोड २० लाख, ब्राजिललाई ५ करोड, भारतलाई १० करोड र उज्वेकिस्तानलाई ३ करोड ५० लाख मात्रा दिने घोषणा गरिसकेको छ ।

रुसको गामालेया नेसनल रिसर्च इन्स्टिच्युट अफ इमिडेमोलोजी एन्ड माइक्रोबायोलोजीले निर्माण गरिरहेको खोप रुसी स्वास्थ्य मन्त्रालयमा दर्ता भइसकेको छ । विधिवत् दर्ता भएको यो खोप विश्वमै कोरोनाविरुद्धको पहिलो हो ।

‘मानवमा परीक्षण गरिएको यो खोपमा दीर्घकालीन नकारात्मक प्रभाव छैनन् र हामी एसियाका अन्य साझेदारसँग काम गर्न इच्छुक छौं,’ फन्डका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले बताए । उनले कोरोना भाइरस सबैको शत्रु रहेको र सबैको सहकार्यले यसलाई परास्त गर्न सकिने औंल्याए ।  

ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले रुसी फन्डसँगको सहकार्य घोषणा गर्न पाउँदा उत्साहित भएको बताउँदै थपे, ‘तेस्रो चरणको परीक्षण सफल भएपछि र नेपाल सरकारले यो खोपलाई अनुमोदन गर्नासाथ हामी नेपालमा उपलब्ध गराउनेछौं ।’ ट्रिनिटी स्वास्थ्य उपचारसम्बन्धी उत्पादन नेपाली बजारमा उपलब्ध गराउँदै आएको कम्पनी हो । अधिकारीले रुसी कम्पनीसँग तीन महिनाअघिदेखि नै छलफल भएको तथा नेपालस्थित रुसी राजदूत अलेक्साई ए. नोभिकोभको सहयोग महत्वपूर्ण रहेको बताए । प्रतिडोज खोपको कति पैसा पर्छ भन्ने अहिले नै निक्र्योल भइनसकेको उनले स्पष्ट पारे ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले केही साताअघि रुसी राजदूत नोभिकोभलाई भेटेर नेपालमा खोपको तेस्रो चरणको परीक्षण गर्ने विषयमा छलफल गरेका थिए ।

प्रकाशित: १४ आश्विन २०७७ ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App