७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

रिजाल दम्पतिको कोरोना उपचार यात्रा

अठार दिनअघि डा. भोला रिजालकी पत्नी सरलालाई हल्का ज्वरो आयो। डा. रिजाललाई शंका लाग्यो कि कतै कोराना हुनसक्छ। त्यसपछि दुवैजनाले ह्याम्स अस्पताल पुगेर परीक्षण गरे। दुवैजनाको रिपोर्ट पोजिटिभ आयो। रिपोर्ट सुनेपछि डा. रिजाल दम्पतिको मनमा चिसो पस्यो। कारण थियो डा. रिजाल उमेरले ७२ र सरला ६९ वर्ष। त्यसमा पनि सरलाले लिम्फोमा क्यान्सरको किमोथेरापी औषधि लिइसकेकी थिइन्। कोरोनाका लागि जोखिम मानिने अर्को रोग मधुमेह पनि उनमा थियो। यी तीनै जोखिममा कोरोना थपिनु भनेको सामान्य कुरा थिएनन्। रिपोर्ट पोजिटिभ आएको दिन सरलाको मनमा एकपटक पहिरो गयो। ‘रिपोर्ट सुन्दा मन झसंग भयो,’ त्यो दिन सम्झिँदै सरलाले भनिन्।

तर डा. रिजाल भने आत्तिएनन् बरु उच्च मनोबलका साथ सरलालाई लिएर अस्पताल भर्ना भए। अस्पताल भर्ना भए पनि डा. रिजालमा अलि–अलि ज्वरो आउनेबाहेक खास समस्या देखिएनन्। तर सरलामा ज्वरो आउने, खाना नरुच्ने, श्वास फेर्न गाह्रो हुने र शरीरका मांशपेशी कटकटी दुख्ने जस्ता समस्या थपिँदै गए। तर ७० को उमेरका डा. रिजाल दम्पतिको मनोबल उच्च नै रह्यो।

अस्पतालका चिकित्सक डा. अनुप सुवेदी, डा. राजु पंगेनी, डा. रक्षा, डा. दिनेशलगायतले दैनिक उपचार तथा हेरचाह गरे। चिकित्सकले पत्नी सरलालाई रेमडिसिभिर औषधि दिए। यसबीचमा रिजाल दम्पतिले औषधिका साथै खानपानमा बढ्तै ध्यान दिए। ज्वानो–पानी, बेसार–पानी, मरिच–पानी, गुर्जो–पानी, तुलसी–पानी, टिमुर र नुन हालेको पानी, लेमन–टी एक घण्टाको बीचमा पिइरहन्थे। अन्य सामान्य खाना मिलाएर खान्थे। यी दैनिक खानपानबाहेक दैनिक शुभचिन्तकले फोनबाट गर्ने स्वास्थ्य लाभ अर्को औषधि बनेर उभिन्थे। यी कुरा मिसाएर नियमित तातो–पानी पिउँदा कोरोना भाइरस फोक्सोको नलीमा जान नपाई पेटतिर गई फोक्सोमा कम संक्रमण हुने डा. रिजालको विश्वास छ। उनले भने, ‘तातो पानीले खानेनलीमा भएको भाइरस बगाएर फोक्सोमा जान दिँदैन,’ उनले भने।

बुढाबुढीलाई कोरोनाले मारिहाल्छ भन्ने र युवालाई केही गर्दैन भन्ने दुवै होइन। यसलेले जुनसुकै उमेरकालाई छोड्दैन। त्यसैले सकेसम्म कोरोना लाग्नबाट सरकारले भनेको सुरक्षा मापदण्ड राम्रोसित पालना गर्नुपर्छ।

शुभचिन्तकका कामनाले आफूमा थप आत्मबल बढेर रोगसँग लड्न क्षमता बढेको अनुभव गरहेको डा. रिजाल बताउँछन्। यो अवधिमा यो दम्पतिलाई हालका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पूर्वराष्ट्रपति रामबरण यादव, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलगायत दैनिक दर्जनांै शुभचिन्तकले फोन गरे। यी फोन आउँदा थप ऊर्जा प्राप्त भएको अनुभव उनीहरूको अनुभव छ।

तीनजना छोराको अविभावक भए पनि तीनै छोरा विदेशमा भएकाले यो दम्पति नेपालमा एक्लै छन्। अस्पताल बसाइँ अवधिमा विदेशबाट छोरा, बुहारी र नाति–नातिनीको मायाले भरिएको फोन आउँदा थप शक्ति मिल्यो। सबैले दिने शुभेच्छा एउटा शक्ति र त्योभन्दा बलियो आफूभित्रको शक्तिले कोरोना जित्न सकिन्छ भन्ने मान्यता भने यो दम्पत्तिले बोकिरहे। शुक्रबार अस्पताल बसाइँ १८ दिन बितिसकेको छ। यतिखेर रिजाल दम्पति दुवै निको भई आइतबार डिस्चार्ज हुँदैछन्।

उपचारमा संलग्न अस्पतालका पल्मोनरी एण्ड क्रिटिकल केयर विशेषज्ञ डा. राजु पंगेनीका अनुसार सरलालाई कोरोनाका केही लक्षण हुँदै रेमडिसिभिर दिइएको थियो। सरलामा केही बढी समस्या थिए। औषधिले जटिलता बढ्न नदिएको डा. पंगेनी बताउँछन्। तर डाक्टर रिजालमा भने सामान्य लक्षणबाहेक केही नभएकाले खास औषधि दिनुपरेन। डा. पंगेनीका अनुसार कोरोना भाइरसको जटिलता कति भाइरस लोड र शरीरको प्रतिरोधात्मक क्षमतामा भर पर्छ। ‘ डा. रिजाल दम्पतिमा भाइरस कम लोड भएको कारणले हुनसक्छ, उमेरअनुसारको जटिल समस्या भएन,’ उनले भने। रिजाल दम्पतिको आइतबारसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।

निको भइसकेका रिजाल दम्पतिले समयमै राम्रो उपचार भएर निको भएको बताए। ‘सबैभन्दा बढी त नर्सहरुले गरेको हेरचाह उत्तिकै छ। डिस्चार्जको तयारीमा रहेका डा. रिजाल कोरोना भन्नेबित्तिकै डराउनु र कोरोना केही हैन भनेर लापरबाही गर्नुभन्दा पनि दुवै कुराप्रति सजक हुन सुझाए।

उनी भन्छन्, ‘बुढाबुढीलाई कोरोनाले मारिहाल्छ भन्ने र युवालाई केही गर्दैन भन्ने दुवै होइन, यसले जुनसुकै उमेरकालाई छोड्दैन,’ डा. रिजालले भने। त्यसैले सकेसम्म कोरोना लाग्नबाट सरकारले भनेको सुरक्षा मापदण्ड राम्रोसित पालना गर्न उनले सुझाए। ‘सरकारले मात्र कोरोना नियन्त्रण गर्न सक्दैन, सबै मिलेर जनचेतना बढाउनु पर्छ,’ उनले भने।

कुनै कारणबस लागिहालेमा पनि समयमै उपचार जाने र उच्च मनोबलका खानपान र उपचारमा पुगेमा निको हुने उत्तिकै सम्भावना रहेको उनले बताए। सोही क्रममा उनले आफू नेपाल मेडिकल कलेज आउने÷जाने क्रममा लागेको हुनसक्ने अनुमान गरे तर कोरोना कतिखेर लाग्छ थाहै नहुने भएकाले हर समय सजक हुनुपर्ने उनको सुझाव छ। ‘घरमा काम गर्ने सबै कर्मचारीको दुईपटक पिसिआर परीक्षण गरेको छ, उनीहरू सबैको नेगेटिभ छ, मलाई बैठकमा जाने क्रममा सरेको हुन सक्छ,’ उनले भने। नेपालको सन्दर्भमा प्रहरी, सेना र फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीमा बढी संक्रमण देखिएकाले यो समूह थप सजग भएर काम गर्नु पर्ने रिजालले सुझाए। ‘दुई मिटर दुरीमा भेटघाट, अनिवार्य मास्क र हात धुने कुरा नभुलौं,’ उनले भने।

प्रकाशित: ३ आश्विन २०७७ ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App