१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

निषेधाज्ञा खुकुलो भयो भनेर लापर्बाही नगरौं, यी २१ नियम पालना गरौं : विज्ञ

डा. रवीन्द्र पाण्डे

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो कोरोना संक्रमण घटेकाले नभई जनजीवन सहज बनाउन बनाइएको बताउँदै सुरक्षित भएर काम गर्न जनस्वास्थ्यविद्ले सम्बन्धित सबैलाई सुझाव दिएका छन्।  

आज बिहीबारदेखि सार्वजनिक यातायातसहित केही क्षेत्र खुला हुने गरी उपत्यकामा निषेधाज्ञा केही खुकुलो पारिएको छ।  

यसलाई कोरोनाको जोखिम कम भएको नठान्न आग्रह गर्दै जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले सर्वसाधारण सबैलाई स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मात्र आफ्ना पेसा/व्यवसायमा संलग्न हुन सल्लाह दिएका हुन्।  

‘सरकारले काठमाडौं उपत्याकामा निषेधाज्ञा खुकुलो बनाएको छ। यो निर्णय आम जनताका पक्षमा छ,’ डा. पाण्डेले फेसबुकमा लेखेका छन्, ‘हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन। आम जनतालाई आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक भार परेका कारण निषेधाज्ञा खुकुलो भएको हो। सरकारले बल हाम्रो हातमा दिएको छ।’

फेसबुकमार्फत उनले दिएका २१ सुझाव यस्ता छन्-

–बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरू घरभित्र बस्ने। सकभर घरभित्र पनि छुट्टै कोठामा बस्ने। काम गर्न बाहिर जाने व्यक्तिसँग दूरी कायम गर्ने। कुरा गर्दा मास्क लगाउने।  

–मर्निङ वाक वा इभिनिङ वाक घरमै गर्ने।

–खुल्यो भनेर बिनाकाम घर बाहिर नजाने। घरबाहिर जति छोटो समय बितायो त्यति धेरै सुरक्षित हुने सम्भावना धेरै हुन्छ। 

–घरबाहिर निस्किँदा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, सम्भव भएसम्म २ मिटरको दूरी कायम गर्ने, भीडभाडमा नजाने, भीडभाड नगर्ने।  

–सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पञ्जा लगाउने, स्यानिटाइजरले हात सफा गरिरहने, विशेष सतर्क हुने,

–हरेक पसलले व्यक्तिगत दूरी कायम हुनेगरी काउन्टरको व्यवस्थापन गर्ने, मास्क नलगाएका ग्राहकलाई मास्क दिने, सबैका लागि ठूलो स्यानिटाइजर राख्ने, झ्यालढोका खोलेर भेन्टिलेसनको प्रत्याभूति गर्ने।

–सकभर हरेक पसलमा परल मूल्यमा सस्तो मास्क तथा स्यानिटाइजर बिक्री वितरण गर्न राख्ने।

–ग्राहक व्यवस्थापन कुशल ढंगले गर्ने, भीडभाड नगराउने।

–पसल र हरेक सामान संक्रमणरहित बनाउने, चियापसल, कफीसप तथा पसलमा साथीहरूसँगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्नेजस्ता काम नगर्ने।

–कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा हुँदैन, हरेक व्यक्तिसँग सुरक्षित व्यवहार गर्ने।  

–सामान किन्दा धेरै छान्ने काम नगर्ने , किनमेलको लिस्ट घरमै बनाएर जाने, पसलहरूमा एकदम छोटो समय बिताउने, जति लामो समय पसलभित्र वा बसभित्र बस्यौं, त्यति नै जोखिम हुन्छ।  

–सकभर तरकारी बजारबाट तरकारी नकिन्ने, घर नजिकको पसलबाट किन्ने, बसेर छान्ने, छाम्ने काम नगर्ने।

–डिपार्टमेन्टल स्टोर तथा सपिङ मलमा पर्याप्त भेन्टिलेसन हुँदैन, तसर्थ आफूले बनाएको लिस्टअनुसार फटाफट किनेर बाहिरिने, लामो समय नबिताउने।  

–भोको, मास्क किन्न नसकेको तथा समस्यामा परेका व्यक्तिलाई सक्दो सहयोग गरेर पुण्य कमाउने कुरा पैसासँग मात्र जोडिएको हुँदैन, पुण्यभन्दा ठूलो कमाइ अरू केही हुँदैन।  

–बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, विद्युत् आदि जनसम्पर्कका कार्यालयले हरेक बैंकका हरेक शाखाबाट भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाउने, क्यासलेस लेनदेनलाई प्रेरित गर्ने, टाइम कार्ड लागू गरेर भीड नियन्त्रण गर्ने, फाइललाई डिजिटल बनाउने।

–रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने, बिरामी हुँदा आफूले अरूलाई सार्ने मात्र होइन, अरूको संक्रमण आफूलाई छिटो सर्ने खतरा पनि हुन्छ।

–सकभर पानी, खाजा घरबाट लिएर जाने वा सफा र झ्यालहरू धेरै भएको रेस्टुरेन्टमा सुरक्षित रूपमा खाने।

–आफ्नो पसल जति धेरै सफा गरिन्छ, जति धेरै मापदण्ड पुर्याएर सञ्चालन गरिन्छ तथा जति धेरै आफ्ना कामदारलाई सफा बनाइन्छ, त्यति धेरै चल्छ, यो सूत्र सबैले अपनाउने।

–कामबाट घर आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसँग घुलमिल हुने।

– ग्राहकलाई सुरक्षित बनाउनु हरेक व्यवसायीको दायित्व हो।

–हामी सबैले जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्यौं भने संक्रमण घट्दै जान्छ। संक्रमण घटेपछि लकडाउन वा निषेधाज्ञा हुँदैन। हामी पनि सुरक्षित हुन्छौं।

प्रकाशित: २५ भाद्र २०७७ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App