२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

अस्पतालमा आइसियु छ, सेवा छैन

गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियु सेवा सञ्चालन गर्ने योजना बनायो । त्यसका लागि १० बेडको आइसियु सेवाका लागि तयार पारिए भने तीनवटा भेन्टिलेटर पनि व्यवस्थापन गरियो । गत वैशाख ३१ मा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले तामझामसहित आइसियु सेवाको उद्घाटन गरे । त्यससँगै प्रतिष्ठानको अस्पतालमा आउने गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि धेरै सहज हुने अपेक्षा गरियो । तर सेवा सञ्चालन भने अहिलेसम्म हुन सकेको छैन । आइसियु सेवा सञ्चालनका लागि चाहिने आवश्यक दक्ष जनशक्ति अभाव हुँदा यस्तो समस्या आएको हो । ‘आइसियु सेवाको उद्घाटन त भयो तर सेवा सञ्चालन गर्न सकिएन,’ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले भने, ‘आइसियु कक्ष उद्घाटन गरेर मात्रै भएन, आवश्यक दक्ष जनशक्ति नहुँदा सेवा सुरु गर्न सकिने कुरै भएन ।’

दाङकै बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित तीनजना गम्भीर बिरामी परे । उनीहरूलाई आइसियु चाहिने भयो । यो अस्पतालमा पाँच बेडसहितको आइसियु उपलब्ध छ । तर ती बिरामीलाई अस्पतालले सेवा उपलब्ध गराउन नसकी बुटवल रेफर गरिदियो । यो अस्पतालमा पनि आइसियु छ तर सेवा सञ्चालन गर्ने जनशक्ति छैन । ‘यहाँबाट अलि बढी गम्भीर बिरामीलाई आइसियु सेवाका लागि बुटवल रेफर ग-यौं,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले भने, ‘हामीसँग आइसियु त छ तर सेवा सञ्चालनका लागि जनशक्ति छैन, यसर्थ रेफर हाम्रा लागि एक मात्रै विकल्प हो ।’ उनका अनुसार बुटवल रेफर गरिएका तीनजना कोरोना संक्रमितमध्ये दुईजना निको भएर घर फर्किसकेका छन् भने अर्का एकजनाको भने अहिले पनि आइसियुमै उपचार भइरहेको छ ।

आइसियु सेवा सञ्चालनका लागि धेरै ठूलो जनशक्ति आवश्यक पर्छ । यसका लागि हामीले प्रदेश सरकारसँग माग गरिरहेका छौं ।
–डा. सर्वेश शर्मा,निमित्त मेडिकल सुपरिटेन्डेन्टकोरोना विशेष अस्पताल, बेलझुन्डी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोरोना विशेष अस्पताल मात्रै जिल्लाका आइसियुसहितका अस्पताल हुन् । तर दुवै अस्पतालमा रहेको आइसियु सेवा भने सञ्चालनमा छैन । फलतः गम्भीर प्रकृतिका बिरामीलाई बाहिर रेफर गर्नुबाहेक अर्को विकल्प जिल्लामा छैन ।

१० बेडसहितको आइसियु कक्ष रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एनेस्थेसिया एमडी गरेका चिकित्सक तीनजना चाहिन्छन् । तर यो प्रतिष्ठानमा हाल एकजना मात्रै छन् । ‘हामीले भएको एकजना एनेस्थेसियाका डाक्टरलाई पनि त्यहाँ खटायौं, भने अस्पतालको अन्य उपचार सेवा प्रभावित हुन्छ,’ प्याकुरेलले भने, ‘प्रतिष्ठानलाई जनशक्ति उपलब्ध गराउने सवालमा कोही पनि गम्भीर देखिएन ।’ यसैगरी, नर्स तथा एनेस्थेसियाका दक्ष प्राविधिकसहितको जनशक्ति यो सेवाका लागि चाहिन्छ । तर प्रतिष्ठानमा यो जनशक्ति शून्य अवस्थामा छ ।

प्रतिष्ठानसँग अहिले उपलब्ध जनशक्ति पनि कोरोना परीक्षणमा बढी परिचालित हुनुपरेकाले प्रतिष्ठानले आँफूसँग उपलब्ध जनशक्ति परिचालन गर्न निकै समस्या रहेको रजिस्ट्रार प्याकुरेलले जानकारी दिए । ‘अहिले प्रतिष्ठानमा भएको जनशक्ति कोरोना परीक्षणमा लगाइएको छ, यसर्थ हामीसँग उपलब्ध जनशक्ति अन्य थप सेवाका लागि परिचालन गर्नसक्ने अवस्था छैन,’ उनले भने । तर, प्रतिष्ठानमा रहेको आइसियु सञ्चालनको जनशक्ति व्यवस्थापनका लागि कुनै पनि तहको सरकारले सहयोग गरेका छैनन् । प्याकुरेलले संघीय सरकार तथा प्रदेश सरकारले यसको व्यवस्थापनका लागि दायित्व बोध गर्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताए ।

यसैगरी, स्थानीय सरकारहरूले समेत जनशक्ति व्यवस्थापनका लागि उपल्ला सरकारसमक्ष पहलकदमी लिन इच्छुक देखिन्नन् । ‘प्रतिष्ठानमा आइसियु सेवा सञ्चालनका लागि न त संघीय सरकारले जनशक्ति व्यवस्थापनमा गम्भीर देखाएको छ न त प्रदेश सरकारले नै देखाउन सकेको छ,’ प्याकुरेलले भने, ‘न त स्थानीय सरकारले नै यसका लागि पहलकदमी लिन सकेका छन् ।’ प्रतिष्ठानले आइसियु सेवा सञ्चालनका लागि चाहिने आवश्यक दक्ष जनशक्तिको सूचीसहित सरकारसमक्ष माग गरिरहेको छ । तर प्रदेश तथा संघीय सरकार प्रतिष्ठानको यो मागप्रति गम्भीर देखिएका छैनन् । तथापि प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले आइसियु सञ्चालनका लागि दौडधुप थालेको प्रतिष्ठानले जनाएको छ । ‘भिसीसापले यसका लागि दौडधुप गरिरहनुभएको छ,’ प्याकुरेलले भने, ‘चाँडै आइसियु सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन होला आशा गरौं ।’ यसैगरी, आइसियु सेवा सञ्चालनका लागि आवश्यक बजेटको समेत अभाव रहने उनले बताए ।

उता बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा रहेको आइसियु सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति प्रदेश सरकारसँग माग गरिएको अस्पतालले जनाएको छ । ‘आइसियु सेवा सञ्चालनका लागि धेरै ठूलो जनशक्ति आवश्यक पर्छ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले भने, ‘यसका लागि हामीले प्रदेश सरकारसँग माग गरिरहेका छौं ।’

प्रकाशित: १३ भाद्र २०७७ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App