७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

एपोलो अस्पतालले सुरु गर्‍यो सेवा

इलाम एपोलो हस्पिटल एन्ड ट्रमा सेन्टर । तस्बिर:भीम/नागरिक

सदरमुकामको सिङफ्रिङमा खुलेको इलाम एपोलो हस्पिटल एन्ड ट्रमा सेन्टरले सेवा सुरु गरेको छ। चार विशेषज्ञ सेवासहितको हस्पिटल जिल्लामै निजी क्षेत्रको एक मात्र हस्पिटल हो।  

अस्पतालले फिजिसियन, अर्थाेपेडिक, स्त्रीरोग र रेडियोलोजीको सेवा दिने सञ्चालकमध्येका प्रकाश चापागाईंले बताए।  

‘बिरामीलाई सेवा दिन हस्पिटलमा ४ विशेषज्ञसहित ३० स्वास्थ्यकर्मी राखिएको छ,’ उनले भने, ‘जिल्लामा कतैपनि निजी अस्पताल नरहेको अवस्थामा हामीले इलामसहित पाँचथर र ताप्लेजुङबासी समेतलाई लक्षित गरी अस्पताल सञ्चालन गरेका हौं।’ अस्पताल सुरु गर्न ४ करोड रुपैयाँ लगानी भएको चापागाईंले बताए।  

अस्पताल रहेको भवनमा यसअघि हिमालयन हेल्थकेयर सेन्टरले डा.मेघबहादुर सामुदायिक अस्पताल सञ्चालन गरेको थियो। तर, सञ्चालनमा आएको केही वर्षमै अस्पताल बन्द भएपछि यहाँको पूर्वाधार प्रयोगविहीन थियो। देशमा अस्पताल सामुदायिक रूपमा चलाउने कुनै कानुन नभएकाले त्यतिबेलाको अस्पताल बन्द भएको अस्पताल खोल्न अग्रणी भूमिका निर्वाह गरेका धर्म गौतमले बताए। सामुदायिक अस्पतालको पूर्वाधार नै अहिले हस्पिटल सञ्चालनका लागि भाडामा दिइएको हो ।  

भाडावापत् अस्पतालले तिरेको मासिक १ लाख रकममध्ये सेन्टरले आधा भने इलामकै असहाय र गरिबको उपचारका लागि अक्षयकोष स्थापना गरिदिने भएको गौतमले बताए। ‘इलाममा सामुदायले नै सञ्चालन गर्नेगरी अस्पताल चलाउन प्रयास भएपनि कानुन नभएकाले सम्भव भएन,’ उनले भने, ‘तैपनि, सेन्टरले त्यही पूर्वाधार भाडामा लगाएर पुनः इलामेकै सेवा गर्ने भएको छ।’  

सदरमुकाममा इलाम अस्पतालसहित फिक्कल, पशुपतिनगर, प्याङ र मंगलबारेमा प्राथमिक स्वास्थ्य केन्द्र छन्। निजी रूपमा अस्पताल नभएको र इलाम अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव भइरहने हुनाले यहाँका बिरामी उपचारका लागि महँगो रकम तिरेर तराई र भारतका अस्पताल जान बाध्य छन्।

प्रकाशित: ९ भाद्र २०७७ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App