१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

नौ सूत्रीय माग राख्दै वीपी प्रतिष्ठानका जुनियर डाक्टर आन्दोलित

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्ट(जेआर) डाक्टरहरु विभिन्न ९ सुत्रीय माग राखेर सांकेतिक आन्दोलन शुरु गरेका छन् ।

शुक्रबार प्रतिष्ठानका पदाधिकारी र प्रशासनमा माग पत्र बुझाएका जेआरहरुले आज (आइतबार)देखि हातमा कालोपट्टी बाँधेर काम शुरु गरेका हुन् । जेआरहरुले कोभिड अस्पतालमा डिउटीमा खटिने र त्यसपछि क्वारेन्टिनमा बसेको बेला पनि गुणस्तरहिन खाना दिइएको र खानै नसकेर भोकै बस्नु पर्ने वा कोठाबाट मगाएर खानुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । कोभिड उपचारमा अग्रपंक्तिमा खटिएका जेआरहरुले न्युनतम सेवा सुविधा पनि नपाएको गुनासो गर्दै आन्दोलन गर्नुपरेको बताएका छन् । ‘कोभिड १९ को व्यवस्थापनमा अग्रपंक्तिमा जेआरहरु खटिनुपरेको छ, तर हामीलाई जे जस्तो सेवा, सुविधा हुनुपर्ने हो, त्यो नभएपछि आन्दोलन गर्न बाध्य भएका हौं,’डाक्टर देवराज घिमिरेले भने ।

कालोपट्टी बाँधेको २४ घण्टाभित्र माग पुरा नभए भदौ ९ गतेदेखि सम्पुर्ण जेआरहरुले इमर्जेन्सीबाहेक अन्य कुनै पनि डिउटीमा भाग नलिने घोषणा जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले गरेको छ । सोसाइटीले बुझाएको ध्यानाकर्षण पत्र प्रतिष्ठानका उपकुलपतिसँगै सबै पदाधिकारी र विभागीय प्रमुखहरुलाई पनि बोधार्थ दिइएको छ ।

सोसाइटीका अनुसार स्वास्थ्य मन्त्रालयले जेआरहरुलाई डिउटीमा खटाउदा लगातार १४ दिन र दैनिक १० घण्टाभन्दा बढी खटाउन नमिल्ने निर्देशिका जारी गरेको छ । तर, प्रतिष्ठानमा भने एउटै विभागको १ महिनासम्म डिउटी राखिएको छ । जेआरहरुले मन्त्रालयको निर्देशिका अनुसार मात्र डिउटी राख्न माग गरेका छन् । ‘हामी काममा जान तयार छौं, गरिरहेकै छौं, तर निर्देशिका वमोजिम हुनुपर्छ भन्ने हो,’उपाध्यक्ष डा.अरुण सापकोटाले भने ।  

सोसाइटीले लेभल ३ कोभिड अस्पतालमा चौबिसै घण्टा एक जना कन्सल्टेण्ट कोभिड डिउटीमा फ्लोरमा नै खटिनुपर्ने पनि माग गरेको छ । हाल भने कोभिड अस्पतालमा बिहान र बेलुकी राउण्डमा मात्र कन्सल्टेण्ट आउने गरेका छन् भने केही समस्या पर्दा फोन गर्नुपर्ने अवस्था रहेको छ । ‘अहिले त ओपिडी पनि बन्द छ, त्यसैले यो बेला कोभिड फ्लोरमा समय मिलाएर ८, ८ घण्टा हुन्छ कि, १२ घण्टाको हुन्छ, सिफ्ट मिलाएर कन्सल्टेन्टहरु नै डिउटीमा राखिनुपर्छ । त्यसो हुँदा उपचारको क्रममा जेआरहरुलाई अफ्ठेरो पर्दा तत्काल साथ मिल्छ,’ नाम नखुलाउन आग्रह गर्दै अर्का एक जेआरले भने ।

सोसाइटीले कामको समय र त्यसपश्चात क्वारेन्टिनमा बसेका जेआरहरुलाई खाने र बस्ने सुविधामा पुनार्वालोकन गर्न पनि जोडदार माग गरेको छ । हाल उपलब्ध भएको खाना गुणस्तरहिन भएको र खानै नसकिने भएकोले १२ घण्टा डिउटीमा खटेका जेआरहरु नखाई सुत्नुपर्ने वा कोठाबाट खाना मगाएर खानुपर्ने अवस्था रहेको सोसाइटीको भनाई छ । ‘यो अवस्थाको अन्त्य गर्न आवश्यक कदम चालियोस्,’ध्यानाकर्षण पत्रमा भनिएको छ । यस्तै, कोभिड डिउटीमा खटिने चिकित्सकहरुको जोखिम भत्ताको बजेट मन्त्रालयबाट आइसके पनि उपलब्ध नभएको भन्दै सोसाइटीले चाडो प्रदान गर्न पनि माग गरेको छ । साथै, कोभिड अस्पतालमा शव व्यवस्थापनमा पनि जेआरहरुलाई खटाइने गरिएको भन्दै सोसाइटीले उक्त काम तत्काल अन्त्य गर्न पनि माग गरिएको छ ।  

कोभिड अस्पताल सञ्चालनमा आइसकेकोले इमर्जेन्सीमा बनाइएको आइसोलेसन तत्काल बन्द गरि शंकास्पद विरामीहरुलाई कोभिड अस्पतालमा नै सिधै भर्ना गर्न माग जेआरहरुको माग छ । प्रतिष्ठानले मुख्य इमर्जेन्सीमा इ एरियालाई आइसोलेसन एरिया बनाएर शंकास्पद व्यक्तिहरुलाई पिसिआर रिपोर्ट नआएसम्म त्यहाँ घण्टौं राख्ने गरेको छ । अलग्गै राखेपनि ती व्यक्तिहरु प्रवेश गर्ने ढोका एउटै भएकोले अन्य विरामीहरुसँगै स्वास्थ्यकर्मीहरु संक्रमण हुने जोखिम उच्च छ ।  

‘इमर्जेन्सीको आइसोलेसन तुरुन्त बन्द गरी सम्पुर्ण सस्पेक्टेड केसहरु कोभिड अस्पतालमै भर्ना हुनुपर्ने र कोभिड अस्पतालको इमर्जेन्सीको बेड संख्या बढाउनु पर्ने माग गछैं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ,‘क्वारेन्टिनमा बसेकार जेआरहरु जो इर्मजेन्सीमा एक्सपोज भएका छन्, तिनीहरुलाई क्वारेन्टिनमा बसेको अवधिमा पुनः डिउटी खटाउन नपाइने ।’

प्रकाशित: ७ भाद्र २०७७ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App