७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नागरिक विज्ञान

करिब चार वर्षअगाडि बोटबिरुवामा रुचि राख्ने काठमाडौंका एक नागरिक सरोज कुमार कसाजुले आफूलाई नौलो लागेको बिरुवाको फोटो सहितको विवरण ‘रोयल बोटानिक गार्डेन एडिनबर्घ’ बेलायतमा पठाएपछि त्यसको विस्तृत अध्ययन अनुसन्धान सुरु गरियो। त्यसपछि निरन्तर उक्त वनस्पतिका बारेमा खोजीनिती गर्दा नगरकोट क्षेत्रमा पाइने उक्त वनस्पति संसारकै लागि नौलो भएको बेलायतबाट प्रकाशित हुने ‘क्यु बुलेटिन’ नामक जर्नलमा गत मेमा प्रकाशित एक लेखमा उल्लेख छ। उक्त वनस्पतिको वैज्ञानिक नाम तिनै नागरिक वैज्ञानिकको सम्मानमा ‘थुनबर्जिया कसजुआना’ राखिएको छ। यसरी पछिल्लोपटक नेपालबाट विश्वकै लागि नयाँ वनस्पतिको आविष्कार नागरिक विज्ञानको एक नवीनतम उदाहरण हो।

आमनागरिकको संलग्नतामा गरिने वैज्ञानिक खोज तथा अनुसन्धान कार्यलाई ‘नागरिक विज्ञान’ (सिटिजन साइन्स) भनिन्छ भने यस्तो काममा संलग्न नागरिकलाई ‘नागरिक वैज्ञानिक’ (सिटिजन साइन्टिस्ट) भनिन्छ। आमनागरिकले आफ्नो बौद्धिक प्रयास, क्षमता, आफ्नो वरिपरिको वातावरणको सूक्ष्म अवलोकन र त्यसको अनुभव तथा आफूसँग भएका सीमित स्रोत–साधनको प्रयोगले वैज्ञानिक खोज तथा अनुसन्धानमा अतुलनीय योगदान गर्न सक्छन्। यसरी सामान्य नागरिकले तथ्यांक संकलन, अनुसन्धानलाई सहजीकरण र ज्ञानको सह–उत्पादनमा योगदान गरी वैज्ञानिक खोज–संस्कृतिलाई नै सकारात्मक प्रभाव पार्छन्। विश्वमा ठूलाठूला वैज्ञानिक खोज तथा अनुसन्धान कार्यमा नागरिक विज्ञानको ठूलो योगदान छ।  

विगत दश वर्षयता पेसागत अनुसन्धानकर्ता माझ नागरिक विज्ञानको नाता कसिँदो छ। ‘नेचर जर्नल’मा सन् २०१३ मा प्रकाशित लेखअनुसार, वैज्ञानिक खोज तथा अनुसन्धानमा नागरिक विज्ञानको संलग्नताले अत्यन्त विश्वासिला र प्रकाशन गर्न योग्य अनुसन्धान गर्न सकिन्छ। यसरी गरिने अनुसन्धानले समय र श्रमको बचत गरी असम्भवजस्ता देखिने अत्यधिक श्रमको माग गर्ने वा महँगा अनुसन्धान कार्यलाई सहज तुल्याइदिन्छन्। अनुसन्धानकर्ताले थप स्रोत खर्च नगरी व्यापक रूपमा रहेका तथ्यांक आवश्यक अनुसार संकलन गर्न नागरिक विज्ञान कार्यक्रम नै सिर्जना गर्न सक्छन्।  

आमनागरिकको संलग्नतामा गरिने वैज्ञानिक खोज तथा अनुसन्धान कार्यलाई ‘नागरिक विज्ञान’ (सिटिजन साइन्स) भनिन्छ भने यस्तो काममा संलग्न नागरिकलाई ‘नागरिक वैज्ञानिक’ (सिटिजन साइन्टिस्ट) भनिन्छ।

नागरिक वैज्ञानिकलाई कसरी यस्ता खोज तथा अनुसन्धानमा परिचालन गर्ने भन्ने कुराको निश्चय भने अनुसन्धानकर्ताले नै गर्नुपर्ने हुन्छ। सयौँको संख्यामा परिचालन गर्नुपर्ने यस्ता नागरिक वैज्ञानिकको छनोट, उपयुक्त प्राविधिक उपकरणको प्रयोग र सहकार्य गरिने संस्थाको सही छनोटले यस्ता खोज तथा अनुसन्धानको प्रभावकारिता निर्धारण हुन्छ। अनुसन्धानात्मक परियोजना सोहीअनुसार बनाई अनुसन्धानकर्ताले अनुगमनको पाटोलाई भने मजबुत पार्नुपर्ने हुन्छ।  

सन् १९९५ मा कर्नेल विश्वविद्यालयका अमेरिकी पक्षीविद् रिक बोन्नीले पहिलोपटक परिभाषित गरेको यस विधालाई नब्बेकै दशकमा ब्रिटिस समाजशास्त्री आलान इरविनले समृद्ध पारे भने यसले अक्सफोर्ड अंग्रेजी शब्दकोषमा सन् २०१४ मा मात्रै प्रवेश पायो। त्यसो त सबैभन्दा पहिले ‘नागरिक विज्ञान’ शब्दको प्रयोग सन् १९७९ मै ‘न्यु साइन्टिस’ नामक जर्नलमा भएको थियो। हालसम्म विश्वभर सयौंको संख्यामा नागरिक वैज्ञानिक संलग्न परियोजना सम्पन्न भएका छन् भने त्यति नै संख्यामा जारी पनि छन्।  

यस्ता परियोजनामा सामान्य नागरिकको संलग्नता भने आपसी सम्मानको जगमा अडेको हुनुपर्छ। नागरिकको योगदानको कदर सह–प्रकाशन, सह–लेखन, वा अन्य तरिकाले गर्न सकिन्छ भने जटिल अनुसन्धान विधि वा अत्याधुनिक उपकरणको प्रयोग र उपयुक्त तालिमको अभावमा नागरिक विज्ञान प्रभावकारी नहुन सक्छ।  

नागरिक वैज्ञानिकहरूको सहकार्यमा गरिएका कैयन् अनुसन्धानले प्राकृतिक स्रोत व्यवस्थापन, जलवायु परिवर्तनको असर अध्ययन र अनुगमन, बोटबिरुवा र जीवजन्तुको जीवनचक्र, चराचुरुंगी र जीवजन्तुको पहिचान, आनीबानी र वासस्थानको अध्ययन, वातावरण संरक्षण, प्रदूषण नियन्त्रण, विभिन्न कार्यक्रमको अनुगमन लगायत क्षेत्रमा नीतिगत तहमै योगदान गरेका छन्। उदाहरणका लागि लन्डनको डिप्टफोर्डमा नागरिकाई एक कवाडीखाना नजिकै ध्वनि स्तरको तथ्यांक संकलन गर्न लगाइयो। नागरिक वैज्ञानिकहरूले संकलन गरेको तथ्यांक विश्लेषण गर्दा उक्त कवाडी खानाले ध्वनि सीमाहरूको उल्लंघन गरेको देखायो र बेलायतको वातावरण नियमनकारी संस्थाले कवाडीखानाको इजाजतपत्र नै रद्द ग¥यो।

नागरिक विज्ञानले योगदान नगरेको वैज्ञानिक विधा सायदै नहोला। आमनागरिकले रातमा हुने खगोलिय गतिविधिहरूको अध्ययन र अवलोकनले खगोल विज्ञानलाई समेत योगदान गरेको छ। त्यति मात्रै नभएर नागरिक विज्ञानलाई कोभिड–१९ को उपचार र नियन्त्रणमा समेत प्रयोग गर्न सकिने देखिएको छ। क्यालिफोर्निया विश्वविद्यालयका अध्येयताले ‘कोभिड–१९ नागरिक विज्ञान परियोजना’ नै सुरुवात गरेका छन्, जसले आमनागरिकको संलग्नतामा यो रोगबारे थप अध्ययन अनुसन्धान गर्ने जनाइएको छ।  

यस प्रकारको सहकार्यले नागरिकको सहभागिता बढाई उनीहरूको ज्ञान समेत अभिवृद्धि गर्न र वैज्ञानिक खोज अनुसन्धानमा उनीहरूको अपनत्व र योगदानलाई कदर गर्र्छ।  

हालैका वर्षमा विकसित देशका अनुसन्धान नियामक र दातृ निकायले अनुसन्धान प्रस्तावमा नागरिक विज्ञानलाई स्थान दिइएको छ कि छैन भनी मूल्यांकन गर्ने समेत गरेका छन्। उदाहरणका लागि ‘नेचुरल साइन्स एन्ड इन्जिनियरिङ रिसर्च काउन्सिल क्यानडा’ र ‘नेसनल साइन्स फाउन्डेसन’ अमेरिकाले अनुसन्धानले के कसरी आमनागरिकलाई प्रभाव पार्छ र उनीहरूलाई कसरी संलग्न गराउँछ भन्ने समेत मूल्यांकन गर्छन्। पछिल्लो समय आयोजना गरिने हरेकजसो विधाका अन्तर्र्राष्ट्रिय सम्मेलनमा नागरिक विज्ञानलाई प्राथमिकतामा राख्न थालिएको छ। योसँग सम्बन्धित अध्ययन अनुसन्धान प्रकाशन गर्ने उद्देश्यले ‘सिटिजन साइन्स’नामक जर्नल स्थापित छ भने युरोपियन आयोगले नागरिक विज्ञानलाई उच्च महत्व दिँदै श्वेतपत्र नै जारी गरेको छ। विभिन्न देशमा यो क्षेत्रसँग सम्बन्धित आमनागरिक र पेसागत अनुसन्धानकर्ताको सञ्जाल स्थापित छन्। तिनीहरूले आफ्ना अनुभव विभिन्न माध्यमद्वारा बाँड्छन्।

नेपालमा पनि नागरिक विज्ञान र वैज्ञानिकको संलग्नता, योगदानमा अनुसन्धान कार्य हुँदै आएका छन्, यद्यपि यी शब्दावलीको प्रत्यक्ष रूपमा प्रयोग नभएको हुन सक्छ।  

हालैका दिनमा देशव्यापी रूपमा चलिरहेको भ्यागुताको खोज तथा पहिचानको अनुसन्धानात्मक कार्यमा नागरिक विज्ञानको प्रभावकारी प्रयोग भएको पाइन्छ। यो अध्ययनमा नागरिकले आफूले देखेका भ्यागुताको फोटो खिची अनुसन्धान गर्ने निकायलाई पठाउँछन् र अनुसन्धानकर्ताले त्यसको थप अध्ययन गर्छन्। त्यस्तै, विश्व वन्यजन्तु कोष र राष्ट्रिय प्रकृति संरक्षण कोषजस्ता संरक्षणको क्षेत्रका काम गर्ने संस्थाले हिउँ चितुवाको वासस्थान, आहार र विचरणको बारेमा नागरिक वैज्ञानिकको संलग्नता अध्ययन अनुसन्धान गरेका छन्। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले कास्की र दोलखामा नागरिक वैज्ञानिकको संलग्नतामा परम्परागत ज्ञान र जैविक विविधताको अभिलेखीकरण गरेको छ। उक्त संस्थाका अनुसार त्यसरी गरिएको कार्य अत्यन्त प्रभावकारी भएको छ, जसमा नागरिक वैज्ञानिकलाई परम्परागत ज्ञान र जैविक विविधताको संरक्षणका बारेमा तालिम समेत प्रदान गरिएको थियो।

कोभिड–१९ द्वारा सिर्जित आर्थिक महासंकटको वर्तमान अवस्थामा अनुसन्धानको क्षेत्रमा लगानी थप संकुचित हुने निश्चित भइसकेको छ। पहिल्यै प्रतिबद्धता जनाइएका अनुसन्धान सहयोग समेत कटौती भएका छन्। उपलब्ध सीमित साधन र स्रोतमा प्रभावकारी अनुसन्धानात्मक कार्य गर्नुपर्ने बाध्यता छ। यस्तो अवस्थामा नागरिक विज्ञानको महत्व झनै बढ्ने निश्चित छ। हाम्रोजस्तो सीमित स्रोत–साधन भएको मुलुकमा यसको थप महत्व छ। आमनागरिकको सम्मानजनक सहभागिता बढाइ सीमित स्रोत साधनमा दुरगामी प्रभाव पार्ने खालका परियोजनामा नागरिक विज्ञानको भूमिका निश्चित गरी त्यस्ता परियोजना छनोट गर्न अनुसन्धानकर्ता र सम्बन्धित निकाय पनि लाग्नुपर्ने वेला भइसकेको छ।

प्रकाशित: ६ भाद्र २०७७ ०५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App