२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

‘लकडाउन विकल्प होइन’

स्वास्थ्य सावधानी अपनाउन विज्ञको सुझाव

काठमाडौं उपत्यका तथा तराईका जिल्लामा कोरोना भाइरस संक्रमण दर वृद्धि भएपछि विज्ञहरूले जनजीवन सामान्य अवस्थामा ल्याउन स्थानीयस्तरमा लकडाउन तथा सावधानीका अन्य उपाय अपनाउन सुझाव दिएका छन् । प्रधानमन्त्री निवासमा बालुवाटारमा मंगलबार नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. लोचन कार्की, स्वास्थ्य मन्त्रालयका विज्ञ चिकित्सक डा.खेम कार्की, डा. सुरेश तिवारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलगायतका विज्ञले प्रधानमन्त्रीसँगको छलफलमा सो सुझाव दिएका हुन् ।  

मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले छलफलमा विज्ञका मिश्रित सुझाव आएको बताए । सधंै लकडाउनको विधि अनपाउनुभन्दा आम नागरिकको व्यवहार परिवर्तन गर्नेतिर केन्द्रित हुनुपर्ने उनले बताए । कोरोना अवधि लामो समय जाने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाएर अघि बढ्न सकिने सुझाव दिएको उनको भनाइ छ । ‘लकडाउनभन्दा पनि जनस्वास्थ्यको मापदण्ड पालना गराउने कार्यक्रममा केन्द्रित हुनुपर्छ,’ उनले नागरिकसँग भने ।  

छलफलमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार डा. सुरेश तिवारीले प्रकोप व्यवस्थापनका लागि लकडाउन गर्ने अभ्यास रहेको र एक चरणको तयारी नेपालले पूरा गरिसकेकाले अब नयाँ तरिकाले जानुपर्ने बताए । ‘अहिले पनि परीक्षणका लागि रिएजेन्ट र अन्य सामग्री स्टकमा छन् , पूरै लकडाउन गर्नुपर्ने स्थिति छैन,’ उनले भने ।  

स्थानीयस्तरमा लकडाउन र जनस्वास्थ्यको मापदण्ड लागु गरेर नियन्त्रण गर्नतर्फ लाग्नुपर्ने उनको भनाइ छ । डा. तिवारीका अनुसार २ सयभन्दा बढी सक्रिय संक्रमित भएका ठाउँमा सीमित हुनेगरी लकडाउन गर्नुपर्छ । प्रभावित ठाउँमा मात्र लकडाउन गरेमा अन्य ठाउँमा उत्पादनशील गतिविधि गर्न सकिने भएकोले सम्पूर्ण रूपमा आर्थिक तथा अन्य असर नपर्ने उनको सुझाव छ । अबको अवधिमा हरेक नागरिकले जनस्वास्थ्यको मापदण्ड पालना गरेमा कोरोनासँगै सामान्यीकरण गर्न सकिने डा. तिवारी बताउँछन् । ‘देशलाई लकडाउन गरेर मात्र कोरोनासित विजय प्राप्त गर्न सकिँदैन,’ उनले भने ।  

बालुवाटार नपुगेका अन्य विज्ञ चिकित्सले पनि सधैं लकडाउन गरिरहनुभन्दा सरकारले राम्रो तयारी र जनताले कडाइपूर्वक सावधानीका नियम पालना गरेर नियन्त्रण गर्न सकिने सुझाएका छन् । ‘व्यवस्थित क्वारेन्टिन, कन्ट्याक्ट टे«सिङ, आइसोलेसन जस्ता पक्षको व्यवस्थापन गर्न छोटो अवधिका लागि लकडाउन गर्न सकिन्छ, तर मुख्य कुरा प्रभावित ठाउँबाट आएकालई १४ दिन अनिवार्य क्वारेन्टिन राख्न सकेमा धेरै हदसम्म नियन्ण हुन्छ,’ डा. अनुप बाँस्तोलाले भने ।  

नेपालमा पछिल्लोसमय वृद्धि भएको कोरोना संक्रमणको कारण नेतादेखि जनतासम्मले जनस्वास्थ्यसम्बन्धी नियम पालना नगरकै कारण रहेको शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेर बहादुर पुनको भनाइ छ । ‘सबै तहले सावधानीका नियम पालना गर्ने र गराउन सकेमा सधंै लकडाउन आवश्यक पर्दैन,’ उनले भने । उनले अमेरिकामा नेपालको तुलनामा लाखौं परीक्षण हुनु र आइसोलेसनको व्यवस्थापन हुँदा–हुँदै पनि सामान्य भौतिक दूरी र माक्सको प्रयोग नगरेकै कारण महामारी भयावह रूपमा फैलिएको घटना भुल्न नहुने बताए । ‘लकडाउन गरे पनि भारतसँग आवात–जावात नरोकिनु, लकडाउन अवधिमै नेताको सोर्सफोर्समा पास बनाएर आवात–जावात बढाउने, स्वयं नेताहरूले भौतिक दूरी कायम नगर्नु जस्ता आनी–बानी मुख्य गल्ती हुन्,’ पुनले भने । अबको अवधिमा भौतिक दूरी, माक्स लगाउने, भीडमा नजाने बानीमा परिवर्तन गरेमा लकडाउनबिना पनि सहज अवस्था आउने डा. पुनले बताए ।  

उपत्यकामा एकैदिन ६२ जनामा कोरोना संक्रमण  
काठमाडौं उपत्यकामा मंगलवार एकैदिन थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । नयाँ संक्रमितसहित उपत्यकामा कुल संक्रमित संख्या ८ सय ९४ छ । एक सातादेखि यता उपत्यकामा संक्रमण दर दैनिक वृद्धि भइरहेको तथ्यांकले औंल्याएको छ । मंगलबार देशभरिमा २ सय ५९ जना नयाँ संक्रमित पुष्टि भएका छन् । नयाँ संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।  

यसमध्येमा १५ हजार २६ जना निको भइसकेका छन् । गत चौबिस घण्टामा ६५ जना निको भएका थिए । सोमबार साँझ विराटनगर – ५ का ७७ वर्षीय वृद्धको निधन भएको छ । उनको कोसी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीसँगै नेपालमा मृतक संख्या ५८ पुगेको छ । गत चौबिस घण्टामा सर्लाहीमा २६, मोरङमा २०, महोत्तरीमा १५ जना संक्रमित फेला परेका छन् । हाल देशभरिमा १० हजार ४ सय ५२ जना क्वारेन्टिनमा छन् भने ५ हजार ९ सय २५ जना सक्रिय संक्रमित छन् ।  

उपत्यकामा १४ स्थानमा परीक्षण बुथ  
सरकारले शंकास्पद व्यक्तिको कोरोना परीक्षणको लागि राजधानीका १४ स्थानमा परीक्षण बुथ राख्दैछ । उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो । राजधानीको पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर, केएमसी अस्पताल, वीर अस्पताल, शसस्त्र प्रहरी बल अस्पताल, नेपाल कोरियामैत्री अस्पताल, ह्याम्स र प्रसुति गृह छन् । यी बुथबाट परीक्षण गर्न ती केन्द्रमा बिहान ९ देखि दिउँसो १ बजेभित्रमा गएर स्वाब परीक्षण गर्न सकिनेछ । स्वाब परीक्षण गर्न दिने व्यक्ति शंकास्पद बिरामीको सम्पर्कमा आएका र जोखिमयुक्त स्थानबाट आएको हुनुपर्नेछ । 

प्रकाशित: २१ श्रावण २०७७ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App