१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

महिलामा संक्रमण देखिएपछि कटारीको अस्पताल र बजार ‘सिल’

विराटनगरमा उपचार गर्ने क्रममा उदयपुरकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि कटारी बजारबासी त्रसित बन्न पुगेका छन् । संक्रमण पुष्टि भएसँगै नगरपालिका र इलाका प्रशासन कार्यालयको समन्वयमा महिलाको प्रारम्भिक उपचार गरिएको एक निजी अस्पताल र पुरै कटारी बजारलाई ‘सिल’ गरिएको छ ।

जिल्लाको ताप्ली गाउँपालिका २ चिसापानीकी ४० वर्षीया दमकी विरामी महिलाको कोसी कोरोना विशेष अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार विहान संक्रमण पुष्टि भएको थियो । उनमा संक्रमण देखिएपछि सुरुमा उपचार गर्ने कटारी मोडेल अस्पताल र बजार सिल गरिएको कटारी नगरपालिकाकी उपप्रमुख भिमकुमारी राउतले बताइन् ।

उपमेयर राउतका अनुसार केही महिनायता दमको विरामी रहेकी ती महिलालाई गएको शुक्रबार कटारी ल्याएर प्रारम्भिक उपचार गरिएको थियो । तर, त्यहाँ उपचार संभव नभएको भन्दै विराटनगर रिफर गरिएकी उनको पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि अन्यमा संक्रमण हुन नदिन बजार र अस्पताल सिल गर्नुपरेको राउतले बताइन् । थप नगरबासीमा संक्रमण हुन नदिन नगर कार्यपालिकाको बैठक राखेर बजार र अस्पताल सिल गर्नु परेको उनले बताइन् । सिल भएपछि मंगलबार दिउँसोयता कटारी बजारका कार्यालय, पसल र यातायातका गतिबिधि सबै रोकिएको छ ।

उपमेयर राउतले संक्रमित महिलाको उपचार भईरहेको र अवस्था सुधारोन्मुख रहेको खवर आएको बताइन् । नगर स्वास्थ्य शाखाले ती महिलाको ‘कन्ट्याक्ट ट्रेसिङ’ र ‘ट्राभल हिस्ट्री’ बारे बुभ्mने काम गरिरहेको जनाएको छ । आउँदो शुक्रबारसम्ममा ट्राभल हिस्ट्री बुझेर कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पिसिआर चेकजाँच गर्ने कार्यक्रम रहेको छ । त्यसको रिपोर्ट आएपछि मात्र बजार र अस्पताल खोलिने नगरपालिकाले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले लकडाउन खोलेयता कोरोना संक्रमण झन् बढ्ने खतरा देखिएको भन्दै सतर्क रहन जिल्लाबासीलाई सुझाएको छ । जनस्वास्थ्य प्रमुख मोहन सुबेदीले सदरमुकामसँगै बेलका र कटारीमा संक्रमणको खतरा बढेको हुनाले पिसिआर परीक्षण क्रम चलिरहेको बताए । हाल उदयपुरका बिभिन्न क्वारेन्टिनमा ७५ जना राखिएको र उनीहरु सबैको पिसिआर गर्ने क्रम चलिरहेको सुबेदीले बताए ।

उदयपुरमा हालसम्म २१ महिला र ६४ पुरुष गरी ८५ जनामा कोरोना संक्रमण भएकामध्ये ७५ जना निको भईसकेका छन् । जनस्वास्थ्य कार्यालयका फोकल पर्सन लौकाजी राईले जिल्लाभरी जम्मा १ हजार २ सय ९९ महिला र ३ हजार ७ सय ८८ जनाको स्वाब परीक्षण गरिसकिएको बताए । उनका अनुसार जसमध्ये १ हजार २ सय ११ महिला र ३ हजार ३ सय ८५ पुरुषको नतिजा नेगेटिभ आएको छ ।

प्रकाशित: १४ श्रावण २०७७ १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App