coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमण बढेपछि स्याङजामा पाँचजना भन्दा बढी भेला हुन रोक

स्याङजामा पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेसँगै कडाई गरिएको छ । ठूलो संख्यामा प्रहरीमा संक्रमण पुष्टि भएपछि त्रास छाएको स्वास्थ्यकर्मीले बताएका छन् । संक्रमण थप फैलन नदिन स्थानीय प्रशासनले पाँचजना भन्दा बढी व्यक्तिलाई भेला हुन रोक लगाएको छ ।

स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख याम शर्माका अनुसार समुदायमा खटिने प्रहरीमा संक्रमण पुष्टि भएपछि अलि बढी सचेत हुनुपरेको बताए । उनका अनुसार अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । प्रहरीका उच्च अधिकारीमा समेत संक्रमण देखिएको छ । ‘समुदायमा खटिने प्रहरीमा संक्रमण बढेपछि बढी त्रसित हुनुपरेको हो । तैपनि हामी संक्रमित प्रहरीको सम्पर्कमा आएका व्यक्ति पहिचान गरेर परीक्षण गर्न थालेका छौ,’ शर्माले भने, ‘संक्रमित प्रहरी कहाँ र कहिले खटिएको तथा उनीहरुको सम्पर्कमा भएका व्यक्ति पहिचान गरिरहेका छौ । कन्ट्याक्ट टे«सिङ गर्दै सम्पर्कमा रहेका व्यक्तिको पनि परीक्षण गर्ने हो ।’

अहिले संक्रमित देखिएका प्रहरी ड्यूटीका क्रममा विभिन्न भागमा खटिएको, बाढी पहिरोमा उद्धारका लागि खटिएकोले पनि बढि त्रास हुनुपरेको उनले बताए । ‘समुदायमा प्रहरी खटिने भएकोले प्रहरीमार्फत कतिजनामा संक्रमण फैलियो भन्ने हो,’ उनले भने, ‘प्रहरीमा संक्रमण देखिनुअघि एक–दुईजना सर्वसाधारणमा देखिएको थियो । एकाध व्यक्तिमा देखिँदा खासै समस्या थिएन । तर, एकाएक धेरै संख्यामा प्रहरीमा संक्रमण देखिँदा डराउनुपरेको हो ।’ जिल्ला प्रहरी कार्यालयमा कार्यरत सबै १ सय २ जना प्रहरीको नमूना संकलन गरेर परीक्षण गरिएको उनले बताए । प्रहरीभन्दा बाहिर संक्रमण फैलियो भने डराउनुपर्ने अवस्था आउने उनले बताए । केही नमूनाको रिपोर्ट आउन बाँकी रहेको पनि शर्माले जानकारी दिए ।

स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले प्रहरी समुदायमा जाने र समुदाय पनि प्रहरीमा जाने भएकोले पनि संक्रमण फैलिनसक्ने डर भएको बताए । ‘पछिल्ला केहीदिन प्रहरी कार्यालयमा आएका सर्वसाधारण र प्रहरी पुगेको ठाउँमा सम्पर्कमा आएका व्यक्ति पहिचान गर्ने काम भईरहेको छ,’ प्रजिअ क्षेत्रीले भने, ‘पछिल्ला दिन संक्रमण केही घटेजस्तो देखिएको थियो । तर प्रहरीमा एकाएक संक्रमण देखियो । प्रहरीमा संक्रमण देखिनासाथ अलि डरलाग्दो अवस्था देखिएको हो ।’ उनका अनुसार सुरुमा तीनजना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनीहरुको सम्पर्कमा आएका अरु प्रहरीको परीक्षण गर्दा संक्रमित पनि थपिए ।’

अहिले संक्रमण देखिएका व्यक्तिको कन्ट्याक्ट टे«सिङ गरिएको र उनीहरुको परीक्षणपछि बल्ल वास्तबिक अवस्था थाहा हुने प्रजिअ क्षेत्रीले बताए । सुरुमा संक्रमण देखिएका तीनजना प्रहरीमा सामान्य रुघाखोकी र ज्वरो देखिएपनि अहिले उनीहरुलाई निको भईसकेको छ भने अरु संक्रमितलाई कुनै समस्या नरहेको उनले बताए । संक्रमित सबैलाई अस्पतालको आइसोलेसनमा राखिएको उनले जानकारी दिए ।

संक्रमण बढेपछि स्याङजा प्रशासनले १० दिनका लागि जिल्ला नै सिल गरेको छ । यो अवधिमा पाँचजना भन्दा बढी व्यक्ति भेला हुन नपाउने गरि कडाई गरिएको प्रजिअ क्षेत्रीले जानकारी दिए । ‘पाँचजना भन्दा बढी व्यक्ति एकैठाउँ भेला हुन नपाउनेगरि कडाई गरेका छौ । अहिलेका लागि १० दिनसम्म जिल्लामा आउजाउ बन्द छ,’ उनले भने, ‘पहिलो चरणको १० दिनको अवस्था हेरेर दोश्रो समय थप हुनसक्छ ।’

लखरलखर हिँडेकै कारण संक्रमण फैलिएको हुनसक्ने उनको अनुमान छ । सुरुसुरुमा भारतबाट आएका व्यक्तिमा मात्र संक्रमण देखिएको भएपनि अहिले भने अरु सर्वसाधारणमा पनि संक्रमण देखिएकोले समुदायमा फैलिएको हुनसक्ने भन्दै सचेत हुनुपरेको प्रजिअ क्षेत्रीले बताए । स्याङजामा अहिलेसम्म २४४ जनामा संक्रमण पुष्टि भएको र ती मध्ये १८८ जना निको भईसकेका छन् । दुईजनाको मृत्यु भएको छ ।

प्रकाशित: १४ श्रावण २०७७ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App