११ कार्तिक २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

दुई जनामा संक्रमण देखिएपछि वीपी प्रतिष्ठानमा फेरि लकडाउन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएको एक विरामी र प्रतिष्ठानमा कार्यरत डाक्टरका श्रीमानलाई कोरोना संक्रमण पुष्टि भएको छ । विरामी र प्रतिष्ठानको आवासमा रहेका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठानले पुनः लकडाउन घोषणा गर्दै आवास तथा अस्पताल क्षेत्रमा आवातजावतमा कडाई गरेको छ ।  

प्रतिष्ठानमा कार्यरत एक डाक्टरका श्रीमान र सर्जरी युनिट १ बाट डिस्चार्ज भइसकेका विरामीको पिसिआर रिपोर्ट हिजो(मंगलबार) साँझ पोजिटिभ आएको थियो । थाइराइड बढेपछि अप्रेशन रद्द भएका विराटनगरका विरामी डिस्चार्ज भएर घर गइसकेका थिए । उनलाई विराटनगरमा नै आइसोलेसनमा लगिएको बताइएको छ भने डाक्टरका श्रीमानलाई प्रतिष्ठानकै आइसोलेसनमा मंगलबार राति नै राखिएको छ ।

पोजिटिभ विरामी र आवास क्षेत्रका व्यक्तिको कन्ट्याक ट्रेसिङ भइरहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । प्रतिष्ठानमा कन्ट्याक ट्रेसिङको नेतृत्व र्‍यापिड रेस्पोन्स टिममा पनि रहेका डा.विजय खनालले गर्छन् । अहिले धमाधम ट्रेसिङको कार्य भइरहेको डा.खनालले जानकारी दिए । ‘डिस्चार्ज भएर गइसकेपछि रिपोर्ट पोजिटिभ आयो । उहाँको उपचारमा को को डाक्टर थिए, नजिकमा को को विरामी थिए भनेर पत्ता लगाउदैछौं,’डा.खनालले भने ।

दुई जना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानले आवास क्षेत्रमा लकडाउन गरेको जनाएको छ भने अस्पताल क्षेत्रमा पनि आवतजावतमा कडाई गरिने जनाएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले एक जना कर्मचारीका श्रीमान र डिस्चार्ज भइसकेको विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण फैलन नदिन लकडाउन गर्नुपरेको बताए । ‘२ जनामा पोजिटिभ देखियो, अस्पताल क्षेत्रमा पनि गतिविधि धेरै भइरहेको महसुस भएकोले लकडाउन गर्नुपर्‍यो । संक्रमण फैलन नदिनलाई पनि यो कदम चालिएको हो,’ रजिष्ट्रार डा. रेग्मीले भने ।

रजिष्ट्रार डा.रेग्मीका अनुसार अस्पतालमा उपचारका लागि आउने विरामी, तिनका कुरुवा र आफन्तहरुलाई कडाई गरिनेछ । विरामी पुर्‍याउन वा लिन आउने टेम्पो वा सफारीलगायत सवारीहरुलाई मेन गेटबाट टाइम कार्ड दिइनेछ र ति सवारीहरु १० मिनेट भित्र बाहिर निस्किसक्नुपर्ने व्यवस्था मिलाइने डा.रेग्मीले बताए । ‘अस्पताल क्षेत्रमा पनि धेरै गतिविधि बढेकोले बिशेष कडाई गर्नेछौं, लकडाउन आवास क्षेत्रको लागि हो,’रजिष्ट्रार रेग्मीले भने ।

रजिष्ट्रार रेग्मीले एक सूचना जारी गर्दै आवास र छात्रवास प्रयोग गर्ने शिक्षक, कर्मचारी तथा तिनका परिवारलगायत विद्यार्थीहरुलाई अत्यावश्यक काममा बाहेक आफ्नो आवासबाहिर नजान निर्देशन दिएका छन् । प्रतिष्ठानको हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिँडडुल गरेको पाइएमा सुरक्षाकर्मीद्धारा कारवाही हुने पनि सूचनामा उल्लेख छ । 

यसैगरि, प्रतिष्ठान बाहिर वा अन्यत्र स्थान वा जिल्ला जानु परेमा पूर्वस्वीकृति लिएर मात्र जान भनिएको छ भने पूर्वस्वीकृति नलिएको पाइए कानुन वमोजिम कारवाही हुने चेतावनी दिइएको छ ।

प्रकाशित: १४ श्रावण २०७७ ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App