१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

आइसोलेसनको लागि होटेल उपलब्ध गराउने ब्यवसायी संघको प्रस्ताव

वीरगन्जमा कोभिड अस्पतालमा ठाउँ भरिएर बिरामीहरु जोखिमपुर्ण किसिमले घरमै बस्न बाध्य भएपछि पर्साका होटेल ब्यवसायीहरु अगाडि सरेर आइसोलेसनको लागि होटेल र लज दिन तयार रहेको बताएका छन् । वीरगन्जमा कोरोनाका संक्रमितको संख्या बढ्दै गएको र यहाँको एक मात्र नारायणी अस्थायी कोभिड अस्पतालमा ठाउँ भरिएर थप संख्यामा संक्रमित थप्ने अब ठाउँ छैन ।

अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. मदन उपाध्यायका अनुसार कोभिड अस्पतालमा बेडको अभाव हुँदा नयाँ २० बढी संक्रमितलाई आइसोलेसनमा राख्न सकिएको छैन । आइसोलेसनको लागि अस्पतालमा सैया अभाव भएपछि केही जना संक्रमितलाई क्वारेन्टिनमा राखिएको र बाँकी संक्रमित घरमा बसेको अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए ।

कोभिड अस्पतालमा संक्रमित राख्ने सैया अभाव भएको खबर सार्वजनिक भएपछि होटल व्यवसायीले वीरगन्जमा रहेका होटल र लज आइसोलेसनका रुपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन् । होटल तथा पर्यटन व्यवसायी संघ, वीरगन्ज पर्साले मङगलबार प्रेस विज्ञप्ति जारी गरेर आइसोलेसनका लागि होटल र लज उपलब्ध गराउन तयार रहेको जनाउ दिएको हो ।

‘हाल  वीरगन्जमा घरघर पोजेटिभ केस निस्किरहेको र बेड अभावले आइसोलेसनमा राख्न नसक्दा घरमैं यथास्थितिमा छोडिएको अवस्था छ । प्रायको घरमा अलग्गै कोठा र शौचालय नहुँदा घरका अन्य सदस्य पनि सजिलै संक्रमित भई स्थिति झन विकराल बन्ने देखिएको छ,’ संघका अध्यक्ष हरी पन्तले मंगलबार जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘अवस्थालाई मध्यनजर गर्दै हामीले जोखिम मोलेरै भएपनि अहिले देखिएको समस्याको तत्काल समाधान गर्नको निमित्त न्यूनतम मूल्यमा सयदेखि दुई सय वटासम्म एट्याच ट्वाइलेट बाथरूम भएको होटलहरु उपलब्ध गराउन तयार रहेको जानकारी गराउन चाहन्छौं ।’

हालै काठमाडौंस्थित एक होटलमा नेपाल एयलाइन्सको कोभिड संक्रमित कर्मचारीहरुलाई राखिएको उदहारणसमेत बिज्ञप्तिमा देखाइएको छ । गण्डकस्थित अस्थायि नारायणी कोभिड अस्पतालको आइसोलेसन बेडको क्षमता ५० मात्रै छ । त्यहाँ अहिले ६२ जा संक्रमित राखिएको छ । लक्षण देखिएका संक्रमितलाई गण्डकस्थित कोभिड अस्पतालमा र लक्षण नभएका संक्रमितलाई स्वस्थकर्मीको प्रत्यक्ष निगरानीमा होटलमा राख्दा अहिले देखिएको समस्या तत्कालका लागि ब्यवस्थापन हुने संघको तर्क छ । संघमा वीरगन्जका ३१ वटा होटल र लज आबद्ध छन् । 

अध्यक्ष पन्तका अनुसार ति सबै गरी जम्मा एट्याच बाथरुमसहितका करिब हजार कोठा छन् । कोभिड अस्पतालका संयोजक डाक्टर सिंहले होटल व्यवसायीको प्रस्तावलाई सकारात्मक बताएका छन् ।

प्रकाशित: १३ श्रावण २०७७ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App