६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

गण्डकीमै पहिलो संक्रामक तथा सरुवा रोग अस्पतालको स्थापना

लायन्स सामुदायिक अस्पताल बन्यो सरुवा रोग अस्पताल

१५ वर्षअघि लेखनाथको मोहरियामा सञ्चालनमा ल्याइएको लेखनाथ सामुदायिक लायन्स अस्पताल गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेश सरकारले अस्पतालाई संक्रामक तथा सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने लक्ष्यसहित सामुदायिक अस्पतालको स्वामित्व बिहीबार लिएको हो । अस्पताल समुदायले प्रदेश सरकारलाई हस्तान्तरण गरेका हुन् ।

२०६० सालमा महायज्ञ लगाई जुटाइएको आर्थिक सहयोगबाट अस्पताल भवन तयार गरिएको हो । २०६१ सालमा अस्पताल भवन तयार भएपछि लायन्स क्लब अफ इन्टरनेशनलको ७५ हजार डलर आर्थिक सहयोगमा आवश्यक उपकरण व्यवस्था गरिएको थियो । १५ शैयाबाट सुरु गरिएको अस्पतालको क्षमता ५० शैयाको छ । विश्वव्यापी कोरोना भाइरसको महामारीसँगै अस्पताललाई प्रदेश सरकारले कोरोना डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेको थियो ।

पूर्वाधार र उपकरण अभावले त्यो सम्भव भएको थिएन । पश्चिमाञ्चल क्षेत्रिय अस्पताल र बागलुङको धवलागिरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाइएपछि लेखनाथको त्यो सामुदायिक अस्पताललाई प्रदेश सरकारले स्वामित्व ग्रहण गरेपछि संक्रामक तथा सरुवा रोग विशेष अस्पताल बनाउने रणनीतिसहित अघि बढेको छ । समुदायबाट सञ्चालन हुँदै आएको अस्पताललाई आर्थिक अभाव हुँदै गएको थियो । आर्थिक अभाव न्यूनीकरण अस्पताल व्यवस्थापन समितिले बैशाख १५ गतेदेखि महायज्ञ लगाउने निर्णय समेत गरिसकेको थियो ।  

‘उपचारको लागि अस्पतालमा पछिल्लो समय आधुनिक उपकरणको व्यवस्था छ । अपरेसन थिएटर जडान गरिएको छ । माईनर अपरेशन हुन्छ ,’ अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष रमनाथ पौडेलले भने, ‘आजका दिनदेखि पूरै स्वामित्व प्रदेश सरकारलाई दिएका छौं ।’ प्रदेश सरकारको मातहतमा गएपछि सर्वसाधारणले अझै व्यवस्थित र सेवा सुविधा पाउने विश्वास उनले व्यक्त गरे । अस्पतालमा हाल चिकित्सक र कर्मचारीसहित ४२ जना कार्यरत छन् ।

अस्पतालमा बहिरंग र अन्तरंग दुवै सेवा दिँदै आएको छ । ७० जना सम्मले सेवा लिँदै आएको तथ्यांक छ । अस्पतालमा हाल १० लाख मासिक खर्च हुने पौडेलले सुनाए । १ सय रोपनी क्षेत्रफलमा फैलिएको अस्पताललाई थप जग्गा आवश्यक परे वन क्षेत्रबाट लिन सकिने गरी पहिले नै सहमति भैसकेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यो अस्पताललाई सुविधा सम्पन्न बनाउने घोषणा गरे ।

मुख्यमन्त्री गुरुङले भईरहेका कर्मचारीलाई लोकसेवा मार्फत पदपूर्ति गरिने स्पष्ट पारे । ‘जनताले गरेको लगानी खेर जाँदैन’ मुख्यमन्त्री गुरुङले भने, ‘स्वास्थ्य र शिक्षामा गरेको लगानी खेर जान्न । सरकारको दायित्व हो । प्रदेश सरकारले अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गर्न अस्पताल विकास समिति गठन गर्ने जनाएको छ । पोखरा महानगरपालिकासँग समन्वय नभएको भन्दै सोधेर निर्णय गरेको भए राम्रो हुने भन्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अस्पतालको सफलताको शुभाकमना व्यक्त गरे ।  

संघ सरकारले ७ वटै प्रदेशमा संक्रामक रोग अस्पताल बनाउने घोषणा गर्नुअघि नै गण्डकी सरकारले यो निर्णय गरिसकेको थियो । कोरोना भाइरसको जोखिम बढिरहेका बेला सरकारले संक्रामक रोग उपचारका लागि विशेष अस्पताल बनाउने घोषणा गरेको हो । संघ सरकारले यसैलाई टेवा पुग्ने गरी ७ वटै प्रदेशमा कम्तिमा ५० बेडको संक्रामक रोग अस्पताल बनाउने घोषणा गर्‍यो । गण्डकी सरकारले असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ५ करोड विनियोजन गर्‍यो । आर्थिक वर्षको सुरुमै अस्पताल सञ्चालनको प्रक्रिया सुरु भएको छ ।

प्रकाशित: १ श्रावण २०७७ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App