८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

'कोरोना भाइरस हावाबाट पनि सर्न सक्छ'

अपूर्व मान्डाभिली/न्युयोर्क टाइम्स

लकडाउन खुकुलो पारेपछि कोरोना भाइरसले पछिल्ला दिनमा संसारका बार, रेस्टुरेन्ट, कार्यालय, बजार तथा क्यासिनोमा नयाँ सिकार फेला पारेको छ। यसले घर तथा कार्यालयभित्र हावामा भाइरस तैरेर बस्न सक्छ भन्ने वैज्ञानिकको महिनौंदेखिको तर्कलाई पुष्टि गरेको छ। हावाबाट भाइरस सर्ने भएपछि यसले संक्रमणको जोखिम अत्यधिक बढाउँछ। त्यति बेला सामाजिक दूरी कायम गर्दागर्दै पनि घर तथा कार्यालयभित्र रहँदा पनि मास्क लगाउनुपर्ने हुन्छ। कोरोना भाइरसका बिरामीको उपचारमा संलग्न स्वास्थकर्मीले ससाना कणलाई पनि रोक्नसक्ने एन–९५ मास्क लगाइरहनुपर्ने हुन्छ। विद्यालय, नर्सिङ होम, निजी घर तथा व्यापारिक भवनमा जडान गरेको भेन्टिलेसन प्रणालीलाई हावाको सर्कुलेसन कम हुने पार्न शक्तिशाली फिल्टर जडान गर्नुपर्ने हुन्छ।  

विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले भाइरस संक्रमणका मुख्य कारणमा खोक्दा अथवा हाच्छ्युँ गर्दा निस्कने ठूला कणहरु जिम्मेवार रहेका र तिनीहरु छिटै भुइँमा खस्ने बताउँदै आएको छ। तर विश्वका ३२ देशका २ सय ३९ वैज्ञानिकले डब्लुएचओको यो धारणा सच्याउन  अनुरोध गरेका छन्। उनीहरुले संंगठनलाई लेखेको पत्र यही साता एक साइन्टिफिक जर्नलमा प्रकाशन हुने बताइएको छ। उनीहरुले ससाना कणले मानिसलाई संक्रमण गर्नसक्ने बताएका छन्। 

विज्ञले डब्लुएचओसँग मास्कसम्बन्धी नयाँ निर्देशिका ल्याउन माग गरेका छन्।  

विश्व स्वास्थ्य संगठनले जुन २९ को कोरोनाभाइरस अपडेटमा मेडिकल उपचारका क्रममा निस्कने ५ माइक्रोनभन्दा साना एरोसोल मात्र हावामा तैरिन सक्ने बताएको छ। संगठनले यस्तो बेलामा मात्र उपयुक्त भेन्टिलेसन र एन–९५ मास्क आवश्यक पर्ने जनाएको छ। सतहदेखि सतहसम्मको संक्रमणका बारेमा सीमित प्रमाण रहे पनि भाइरस  नियन्त्रणसम्बन्धी संगठनका निर्देशिकामा हात धुनुलाई अत्यधिक प्राथमिकता दिइएको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले हालै सतहमार्फत भाइरस अन्यन्त कम सर्ने बताएको छ।

डब्लुएचओका संक्रमण नियन्त्रण प्रमुख डा. वेनेडेटा एलेग्रान्जी हावाबाट भाइरस सर्ने प्रमाण विश्वासयोग्य नभएको तर्क गर्छन्। ‘पछिल्ला महिनामा हावाबाट सर्न सक्ने सम्भावनाका बारेमा चर्चा गरेका छौं तर यो ठोस प्रमाणमा आधारित छैन,’ उनले भने।  

डब्लुएचओको परामर्शदातासमेत रहेका २० जना वैज्ञानिक र डब्लुएचओको संक्रमणसम्बन्धी निर्देशिका तयार गर्दा सहभागी सदस्य तथा डब्लूएचओभित्रकै आन्तरिक इमेलले यो संस्था कति हदसम्म विज्ञानसम्मत छैन भन्ने कुराको पुष्टि हुन्छ। यी विज्ञहरुले हाच्छ्युँ गर्दा निस्कने ठूला कणहरु हुन् अथवा सास फेर्दा निस्कने र कोठाका लम्बाइसम्म तैरिन सक्ने ससाना कण हुन्, दुवैथरी हावामा तैरिने बताएका छन् र कोरोना भाइरस हावामार्फत सर्ने दाबी गर्छन्। उनीहरुले डब्लुएचओअन्तर्गतको संक्रमण रोकथाम कमिटी  आफ्ना धारणमा बढी कठोर, सुस्त र निर्देशिका परिमार्जन गर्न अनिच्छुक रहेको बताउँछन्। 
(न्युयोर्क टाइम्सको प्रिन्ट संस्करणमा मंगलबार प्रकाशित सामग्रीको भावानुवाद)

प्रकाशित: २४ असार २०७७ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App