७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कर्मचारी विवादले जनकपुरमा कोरोना परीक्षण स्थगित

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा कोरोना परीक्षण स्थगित भएको छ । प्रयोगशालाका निमित्त प्रमुख राम विनय साह र ल्याबमा कार्यरत अन्य कर्मचारीबीचको आन्तरिक विवादका कारण मंगलवारदेखि प्रयोगशालामा परीक्षण स्थगित भएको हो । प्रयोशालाका निमित्त निर्देशक साहले कर्मचारीहरूको असहयोगका कारण काोरोना परीक्षण बन्द गर्नुपरेको बताए । प्रयोगशालाका लेखापाल अमरदीप महतो र ल्याब एसिस्टेन्ट युगल किशोर यादव लगायतका कर्मचारीले असहयोग गरेपछि परीक्षण बन्द गर्नुपरेको उनको भनाइ छ ।  

‘स्वाब परीक्षण गर्न रिएजेन्टबाहेक अन्य सामग्रीहरू आवश्यक हुन्छ, रिएजेन्ट संघीय सरकारले पठाइदिएको छ,’ साहले भने, ‘तर अन्य सामान खरिद गर्न लेखापालले सहयोग गरेका छैनन् । सामान नै नभएपछि परीक्षण बन्द गर्नुपरेको छ ।’  

प्रयोगशालामा खरिद नै नभएको सामानको समेत बिल पेश गरेर प्रमाणित गराउन खोजेको तर बिल पास गर्न नमानेपछि लेखापालले परीक्षणको लागि खरिद भएका सामग्रीको भुक्तानी रोकेको प्रयोगशालाका निमित्त प्रमुख साहले बताए । प्रयोगशाला स्थापना भएदेखि नै निमित्त प्रमुख साह र अन्य कर्मचारीबीच विवाद देखिएको छ ।  

आफु निकटका र कानुन विपरित आवश्यक्ता नै नरहेको कर्मचारी भर्ना गर्दा विरोध गर्ने कार्यालयका कर्मचारीलाई उनले बारम्बार अन्यत्र सरुवा गर्न खोजेको कार्यालयका अधिकृत (ल्याब टेक्निशियन) युगल किशोर यादवले बताए । आफु लगायतका कर्मचारीले कार्यालयका निमित्त प्रमुखको यस्ता हर्कतको विरोध गर्दा महामारीकाबीच परीक्षण रोकेको उनको भनाइ छ ।  

उनका अनुसार प्रयोगशालाका निमित्त साहले अधिकृत सातौँ तहका ३ जना, पाँचौ तहका १ जना, स्वीपर दुई जना र सवारी चालक एकजना नियुक्त गरेका छन् । जबकी प्रयोगशालामा अहिलेसम्म कुनै गाडी पनि छैन् । गाडी नै नरहेको कार्यालयमा चालक के कालागि नियुक्त गरियो विषयमा अनुसन्धान हुनुपर्ने भन्दै अधिकृत यादवले राज्यको कोष दोहन गर्ने कर्मचारीलाई कार्वाही गर्नुपर्ने बताए ।  

यसअघि राष्ट्रिय प्रयोगशला टेकुले दुईपटक जडान गरेको पोर्टेबल पिसिआर मेसिनले सही नतिजा नदिएको भन्दै  कोरोना परीक्षण बन्द भएपछि प्रदेश सरकारले रियल टाइम पिसिआर मेसिन खरिद गरेको थियो । प्रादेशिक प्रयोगशालामा रियल टाइम पिसिआर मेसिन जडान गर्न प्रदेश सरकारले झण्डै ६० लाखभन्दा बढी रुपैयाँ खर्चेको छ ।

प्रकाशित: २३ असार २०७७ १४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App