२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

विवादित बन्यो ‘कोरोना भाइरस रिमुभिङ कार्ड’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार तथा प्रतिनिधि सभामा सहभागी नेकपाका शीर्ष नेता र सांसद कोरोना भाइरसबाट सुरक्षित हुन भन्दै निलो डोरीसहितको ‘कोरोना भाइरस रिमुभिङ कार्ड’ भिरेर विभिन्न बैठकमा उपस्थित देखिन्छन्। तर यसले जनतामा भ्रम सिर्जना गरिरहेको भन्दै चिकित्सकहरूले भने कार्डमा प्रयोग गरिएका रासायनिक पदार्थले स्वास्थ्यमा झनै गम्भीर असर गर्ने भन्दै त्यसको आलोचना गरेका छन्।  

गत साता नेकपाले ‘कोरोना भाइरस रिमुभिङ कार्ड’ बियोन्ड द वाल ट्रेडिङ कम्पनीबाट खरिद गरेको थियो। प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको सभापति कल्याणी खड्काको छोरा विप्लव केसीको सो कम्पनीले चीनबाट ल्याएको सो कार्ड बिक्री गरिरहेको थियो। कम्पनीले २५ प्रतिशत छुट दिएर सो कार्ड बिक्री गरेपछि नेकपाका सांसदले खरिद गरेर थिए। एउटाको भ्याटसहित ६ सय २५ रुपैयाँमा ६० वटा खरिद गरेर नेकपाले स्थायी कमिटी सदस्यलाई वितरण गरेको थियो।  

‘हामीले अर्को कम्पनीबाट मान्यता प्राप्त सर्टिफिकेट उपलब्ध गराएपछि कार्ड खरिद गरेर वितरण गरेका थियौं,’ बियोन्ड कम्पनीका प्रमुख केसीले भने, ‘अतिरिक्त सुरक्षा दिन्छ भन्ने विश्वासका आधारमा ६ सयभन्दा बढी कार्ड बिक्री भएसकेका छन्। स्वास्थ्य मन्त्रालयले हानीकारक छ भनेलगत्तै हामीलाई औपचारिक पत्र नआए पनि यसको बिक्री–वितरण रोकेका छौं।’उनले अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) जस्ता संस्थाबाट मान्यता प्राप्त सो कार्ड चीन र अफ्रिकी देशमा प्रयोग भइरहेको हुँदा नेपालीमा समेत ल्याएको बताए।  

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना भाइरस रिमुभिङ कार्ड’ मा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सोमा गम्भीर असर गर्ने बताएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कार्ड प्रयोग नगर्न र यस्ता कार्डको बिक्री तथा वितरण गरिरहेकालाई कारबाहीको गरिने बताएका छन्। ‘संसारभर कोरोना भाइरसविरुद्ध तयार भइरहेका औषधिबारे हामीलाई जानकारी आउँछ,’ उनले भने, ‘मान्यता नपाएको कोरोना भाइरसविरुद्धको कार्डले नेपालमा बिक्री भइरहेको जानकारी हामीलाई आएको छ। कोरोनासम्बन्धी यस्ता प्रविधि र औषधि प्रयोगका लागि भनेर मन्त्रालयमा निवेदन आएको छैन।’

सो कार्ड प्रयोग गरेपछि मास्कपनि लगाउनु पर्दैन भनिएको आधारमा गत सातादेखि प्रयोग गरेको दाबी केही सांसदले गरेका थिए। ‘गत साता हाम्रो समितिमा सो कार्ड निःशुल्क वितरण भएको थियो,’ सांसद गणेश पहाडीले भने, ‘एकपटक प्रयोग गर्दा एक महिनासम्म हुने भनिएपछि मैले मास्क लगाएर सो कार्ड प्रयोग गरेको थिएँ। स्वास्थ्य मन्त्रालयले सो कार्ड स्वास्थ्यका लागि हानीकारक रहेको बताएलगत्तै प्रयोग गरेको छैन।’

सो कार्डमा क्लोरिन डाइअक्साइड र जियोलाइट जस्ता पदार्थ राखिएको हुँदा एफडिएजस्ता संस्थाले त्यस्ता सामग्रीको प्रयोग नगर्न सुझाव दिएको छ। एफडिएले ‘क्लोरिनडाइअक्साइड’ युक्तसामग्रीले कोरोना भाइरसबाट जोगाउनसक्ने तथ्य पुष्टि नभएकाले त्यस्ता सामग्री बिक्री र वितरण गरे कानुनअनुसार कारबाही गरिने जनाएको थियो।  

‘कोरोना भाइरसविरुद्धको औषधि र प्रविधिहरूबारे संसारभर अनुसन्धान भइरहेको छ। कार्ड लगाएर कोरोना भाइरस सर्दैन भन्नेबारे आधिकारिक संस्थाले प्रमाणित गरेको छैन,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, ‘कार्ड लगाएर भाइरस नसर्ने भए संसारभर यस्तो स्थितिको सिर्जना हुँदैनथ्यो। सांसद र नेताहरूले यस्ता कार्ड लगाउँदा सर्वसाधारणमा समेत भ्रम सिर्जना हुन्छ। सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि यत्रो रकम खर्च गरिरहेको अवस्थामा सर्वसाधारणले कार्ड लगाएर मास्क र सामाजिक दुरी कायम गर्न छाडे भने स्थिति भयानक हुन्छ।’ उनले यस्ता कार्डलाई  चीन र जापानले मान्यता नदिएको बताए।  

‘यस्ता कार्ड प्रयोग गर्ने सांसद र नेताहरूलाई कोरोना भाइरस संक्रमित राखिएका आइसोलेसनमा लगेर राखौं,’ उनले भने, ‘हामी आधार र प्रमाण खोज्ने हुँदा त्यसपछि कोरोना सर्छ वा सर्दैन भन्ने कुरा थाहा हुन्छ। सांसद र नेताहरूले सर्वसाधारणलाई गलत सन्देश दिइरहेका छन्।’

चीन र जापानमा तयार भएका त्यस्ता सामग्री एसियाली देशमा प्रतिबन्ध लगाएका छन् भने हङकङ र नेपाललगायत देशमा बिक्री भइरहेको छ। रोग प्रतिरोधात्मक क्षमताविशेषज्ञ डा. एरियन डेभिसनले हङकङ फ्रि प्रेससँग कुराकानी गर्दै क्लोरिन डाइअक्साइड भनिएका यस्ता सामग्री घाँटीमा झुन्ड्याएर भाइरसबाट सुरक्षित नहुने हुँदा ठगीको धन्दा भइरहेको तर्क गरेकी थिइन्। ‘सो कार्ड कोरोना भाइरस संंक्रमणे मुख्य भाग नाक र मुख नजिकको घाँटीमा लगाइन्छ,’ उनले भनिन्, ‘कोरिनडाइअक्साइडयुक्त यस्ता सामग्रीले श्वासप्रश्वास, आँखा र छाला पोल्ने जस्ता समस्या हुन्छ।’

प्रकाशित: १५ असार २०७७ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App