१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

बाह्रबिसेमा पिसिआर उपकरण ल्याइने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कोभिड–१९ को संक्रमण रोकथाम गर्न पार्टी एवं व्यक्तिगत रूपमा  स्थानीय जनतालाई सहयोग गर्ने क्रम जारी राखेका छन्।  

उनले शनिबार सिन्धुपाल्चोक क्षेत्र नं १ स्थित बाह्रबिसेको अस्पतालमा पिसिआर प्रविधिको व्यवस्था मिलाइदिने प्रतिबद्धता जनाए।  कोरोना रोकथाम र उपचारमा सरकारीस्तरबाट जनअपेक्षाअनुसार काम हुनु नसकेको भन्दै उनले नेपालमा कोरोना संक्रमण  देखिएको महिनौँ बितिसक्दा पनि एकतिहाइ जिल्लामा पनि पिसिआर प्रविधिबाट स्वाब परीक्षण गर्ने व्यवस्था हुन नसकेकाले जनस्तरबाट समेत सक्रिय भूमिका खेल्नुपर्ने देखिएको बताए।  

उनले हालसम्म विदेशबाट भित्रिनेलाई उचित क्वारेन्टिनको व्यवस्था हुन नसकेको, संक्रमणको आशङ्का भएकाहरुको स्वाब परीक्षण समयमा हुन नसकेको, कन्ट्याक्ट ट्रेसिङमा उचित ध्यान नगएको, समयमा आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता नभएको, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउने काम नभएको, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता देखिएको लगायतका कारण कोरोनाको जोखिम बढेको आरोप समेत लगाए।  

पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका उनले यसअघि पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थासँग मिलेर जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आम नागरिकलाई स्वास्थ्य सामग्री वितरण गर्दै आएको र सो कार्य अझै जारी रहेको बताए। साथै उनको आफ्नै पहलमा जिल्लाभरि ६१३ जना स्वास्थ्यकर्मीको कोरोना बीमा गरेका थिए।  

साथै नेपालकै पहिलो कोरोनाबाट मृत्यु हुनुभएकी नौदिने सुत्केरी सावित्री तिमिल्सिना चालिसेका नवजात शिशुलाई पौष्टिक आहारका लागि १ लाख रुपैयाँ र १२ कक्षासम्मको अध्ययनमा सहयोग गर्ने  एवं त्यसपछि रोजगारीको व्यवस्था मिलाइदिने घोषणासमेत गरेका थिए। अब एम्बुलेन्स चालक र नेपाल प्रहरीको कोरोना बीमा गरिदिने क्रममा रहेको उनले उल्लेख गरेका छन्।

प्रकाशित: १४ असार २०७७ १०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App