४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आयुर्वेद शास्त्रमा बेसार बहुगुणी : आयुर्वेद चिकित्सक

गत विहीबार संसदको माथिल्लो सदन राष्ट्रिय सभामा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बोसार (हल्दी) बारे बोलेका कुरा पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । पछिल्लो पटक फेसबुकका भित्ताभरि सबैले ‘बेसारे फोटो’ पहेँलैपुर भएको फोटो बनाएर ‘फ्रोफाइल पिक्चर’ परिवर्तन गर्न थालेका छन् । कोरोनाविरुद्ध प्रतिरोधी क्षमता बढाउन प्रधानमन्त्रीले बेसार पानी खान भनिरहँदा कति सत्य छ÷छैन, त्यो त स्वास्थ्य विज्ञानले बताउला । तर, आयुर्वेद शास्त्रमा हल्दी (बेसार) को भने छुट्टै महत्व रहेको छ ।  

तीन हजार वर्ष अघिदेखि हल्दी प्रयोगमा आएको बताउँदै सेती आयुर्वेद औषधालय धनगढीका आयुर्वेद चिकित्सक डाक्टर खगेन्द्र बमले भने,‘हाम्रो शरिरमा भएको एन्टी ब्याक्टेरिया र एन्टी भाइसर कम गर्न हल्दीले मद्दत गर्छ ।’ मानव शरिरमा हल्दीको महत्व अत्याधिक रहेको उनले बताए । ‘छाला सम्बन्धी रोगको उपचारका लागि पनि हल्दी महत्वपूर्ण छ,’ उनले भने,‘यसका साथै श्वास प्रश्वासका विरामीका लागि भने हल्दी निकै उपयोगी मानिन्छ ।’ आयुर्वेद शास्त्रमा हल्दीको हरेक जसो औषधिमा प्रयोग भएको बताउँदै उनले भने,‘नेपाली संस्कृतिमा हल्दी परापूर्वकालदेखि प्रयोग हुँदै आएको छ, यसले रगतलाई शुद्धीकरण गर्न पनि मद्दत गर्छ ।’  आयुर्वेद शास्त्रमा हल्दीले घाँटी दुख्ने, घाँटी सुन्निने समस्यालाई पनि राम्रो गर्ने उनले बताए ।  

आयुर्वेदीय शास्त्रमा मात्रै नभई हिन्दू संस्कृतिमा पनि हल्दीलाई औषधीय गुणका रुपमा लिइने गरिएको संकृतिविद् डा. बद्री शर्मा बिनाडी बताउँछन् । ‘हिन्दू संस्कृतिमा न्वारन, चुडाकर्म, ब्रतबन्ध र विवाहका समयमा काँचो हल्दी र दुबोले शरिर नुहाउने प्रचलन छ,’ उनले भने,‘यसरी नहाउँदा शरीरमा रहेको छाला सम्बन्धी (चर्म) रोग निको हुने मान्यता छ ।’ नवजात शिशुको न्वारनका दिनमा उसको घाँटीमा काँचो हल्दी, दुबो, ज्वानो, कालोजिरो र मेथीको मिश्रण बनाई कपडामा बाँधेर घाँटीमा माला बनाइ लगाउने प्रचलन रहेको बताउँदै उनले भने,‘नवजात शिशुको घाँटीमा हल्दी लगायतका जडीबुटी बाँधिएमा त्यसले निमोनिया हुनबाट बचाउने घरेलु उपचार पद्धती ग्रामीण क्षेत्रमा अपनाउने गरिन्छ ।’ 

हल्दी बहुगुणयुक्त ‘सर्वोषधी’ भएको बताउँदै ज्योतिषी मनिराज जोशी भन्छन्,‘हिन्दू धर्मग्रन्थमा हल्दी हरेक पूजाआजामा प्रयोगमा आउँछ ।’ कलश बनाउँदा हल्दी अनिवार्य रहेको बताउँदै उनले भने,‘अभिषेक गर्दा हल्दी अनिवार्य हुने गरेको उनले बताए । ‘हल्दी मानव शरीरका लागि अत्यावश्यक बहुगुणी जडीबुटी हो,’ उनले भने,‘तरकारी, दाल, मासुमा मसलाका रुपमा पनि हल्दीको प्रयोग हुन्छ, जसले खाना हुनसक्ने विषाक्त गुणलाई कम गर्न मद्दत गर्छ ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार खानुस् मात्रै भनेको बताउँदै उनले भने,‘प्रधानमन्त्रीले हल्दीको व्याख्या गर्न जान्नु भएन, खाली खानुस् मात्रै भनेका कारण त्यो अहिले भाइरल भएको हो, यसको गुणसहित व्याख्या गर्न सक्नुपथ्र्यो ।’ रगत सफा गर्न मात्रै नभई हल्दीले पित्त सफा गर्नुका साथै उच्च रक्तचापका बिरामीलाई पनि बहुउपयोगी भएको उनले बताए । श्वास प्रश्वासका बिरामीका लागि बहुउपयोगी घरेलु र आयुर्वेदिक औषधि भएका कारण प्रधानमन्त्रीले यसलाई संसदको माथिल्लो सदन राष्ट्रिय सभामा बोलेको हुनसक्ने उनले टिप्पणी गरे ।

प्रकाशित: १० असार २०७७ ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App