विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सतर्कता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा. जोस भ्यान्डेलरले नेपाल सरकारले बन्दाबन्दी (लडकडाउन) खुकुलो बनाए पनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अपिल गरेका छन् । लकडाउन खुकुलो बनाएसँगै सर्वसाधारणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको तथा एक आपसमा भेटघाटलगायत बढेको भन्दै उनले त्यस क्रममा सबैले आआफ्ना तर्फबाट थप सतर्क हुनु जरुरी रहेको बताए ।
उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्ना तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता आंैल्याए । उनले मानिसको भीडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेलाबेलामा साबुन पानीले हात धुन पनि आग्रह गरे ।
प्रकाशित: ८ असार २०७७ ०९:१३ सोमबार